बागीले चुनौती

बागीले चुनौती

काठमाडौं : चुनावका बेला टिकट वितरणमा असन्तुष्ट हुनेहरूले पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिन्छन्। चुनावी मैदानमा भिड्ने कम हुन्छन्। तर, यसपटक धेरै स्थानीय तहमा विद्रोही उम्मेदवार पछि हटेका छैनन्।

शीर्ष नेताहरूले कतिपय पालिकामा परिवारवादलाई प्रश्रय दिएपछि पार्टीमा चर्को असन्तुष्टि देखिएको छ। कतिपय ठाउँमा पार्टीले मूल्यांकन नगरेको भन्दै विद्रोही उठेका छन्। दलले कारबाही गर्ने चेतावनी दिए पनि उनीहरू आफ्नो उम्मेदवारीमा अडिग छन्। खासगरी सत्तारुढ दलमा बागी बग्रेल्ती देखिएका छन्। उनीहरूलाई त्यागी, इमानदार नेता, कार्यकर्ताले साथ दिइरहेका छन्।

राजनीतिक विश्लेषक तुलनारायण साह बागीले नजिते पनि हराउने कारक भने बन्न सक्ने बताउँछन्। ‘व्यक्तित्व प्रभाव राम्रो छ भने त कहीँकहीँ त जित्न पनि सक्छन्। तर, धेरै ठाउँमा भने हराउन गतिलो आधार बागी बन्न सक्छन्’, विश्लेषक साह भन्छन्, ‘बागी धेरै ठाउँ जित्ने होइनन्।’ 

भरतपुर महानगरपालिकामा कांग्रेसबाट स्वतन्त्र रूपमा मनोनयन दर्ता गरेका जगन्नाथ पौडेल अडिग छन्। उनलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ खटिएका थिए। त्यो पनि प्रधानमन्त्री शेरबहादुर देउवाकै निर्देशनमा। राज्यशक्ति लाग्दा पनि पौडेलले आफ्नो मनोनयन फिर्ता लिएनन्। कांग्रेस नेता रामचन्द्र पौडेलसमेत उनलाई फकाउन गएका थिए। 

भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसबाट विद्रोही उम्मेदवारी दिएका जगन्नाथ पौडेल। 

कांग्रेसले उनीसहित प्रस्तावक र समर्थकलाई निष्कासन नै ग¥यो। कांग्रेस महासमिति सदस्य मीना खरेल र पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटा  समर्थक र प्रस्तावक थिए। समर्थन र प्रस्तावकले पनि पौडेललाई नै  साथ दिए।  

पौडेलको उम्मेदवारीले सत्ता गठबन्धनलाई चुनौती थपिएको छ। जहाँ गठबन्धनबाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाल पुनः उम्मेदवार बनेकी छन्। पौडेलले आफू कांग्रेसको उम्मेदवार भएको बताउँदै आएका छन्। उनी कांग्रेसको झन्डा बोकेर चुनावी घरदैलो कार्यक्रम गरिरहेका छन्। कांग्रेस नेता, कार्यकर्ताले भरतपुरमा यसपटक मेयर कांग्रेसले पाउनुपर्ने माग गर्दै आएका थिए। 

भरतपुरमा एमालेबाट विजय सुवेदी प्रतिस्पर्धामा छन्। सुवेदीलाई राप्रपाको समर्थन छ। बागीका कारण नेताहरू अत्तालिएका छन्। माओवादी केन्द्र अध्यक्ष दाहालले भरतपुरका मतदातालाई धम्की नै दिए। तर, कैलालीमा भने बागीलाई सहयोग गर्ने घोषणा गरे।

विराटनगरमा सत्ता गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार छन्। गठबन्धनकै जसपा नेता उमेश यादव बागी छन्। यादव विराटनगरका राम्रा नेतामा गनिन्छन्। उनी जसपा र माओवादी गठबन्धनबाट अघिल्लो निर्वाचनमा उम्मेदवार भएका थिए। एमालेले सागर थापालाई उम्मेदवार बनाएको छ। गठबन्धनले जसपा अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवलाई उपमेयरमा उम्मेदवार बनाएको छ।

गठबन्धनबाटै माओवादीकी नमिता न्यौपानेले उपमेयरमा बागी उम्मेदवारी दिएकी छन्। २०७४ को उपनिर्वाचनमा माओवादीबाट उम्मेदवार भएर न्यौपाने उपविजेता भएकी थिइन्। मेयरमा उमेश र उपमेयर न्यौपानेले एउटै चुनाव चिह्न लालटिन पाएका छन्। उनीहरूले सहकार्य गरी चुनावी प्रचार गरिरहेका छन्। 

विराटनगर महानगरपालिकाको मेयरमा जसपाबाट बागी उठेका उमेश यादव ।

यादवले छोरा अमरेन्द्रलाई उपमेयर उम्मेदवार बनाएपछि पार्टीमा असन्तुष्टि बढेको छ। ‘मधेस आन्दोलनलाई सफल बनाउने सयौं नेता कार्यकर्तालाई पाखा लगाउँदै उपेन्द्रले आफ्ना छोरालाई अगाडि सारे।

आन्दोलनका क्रममा जेल 

नेल भोगेका र दुःख पाएकाको अबमूल्यन भयो,’ उमेश भन्छ्न, ‘नेताका छोरा–छोरीलाई अवसर दिन जनताले आफ्नो रगत र पसिना बगाएका हुन् ? यदि हैन भने सयौं नेता कार्यकर्ताको त्याग र बलिदानी आज कहाँ गयो ?’ 

विराटनगर महानगरमा अघिल्लो निर्वाचनमा १ लाख १३ हजार ७ सय ६१ मतदाता थिए। अहिले बढेर १ लाख ३३ हजार १ सय ४२ भएका छन्। २०७४ को निर्वाचन कांग्रेसले जितेको थियो। 
जनकपुर उपमहानगरपालिकामा यो पटक रोचक चुनावी भिडन्त छ। कांग्रेस नेता विमलेन्द्र निधिनिकट भनिएका मनोजकुमार साह गठबन्धनविरुद्ध बागी उम्मेदवार भएका छन्। महाधिवेशनपछि पार्टीमा निधिलाई ‘किनारा’ लगाइएको छ। उनी जनकपुरको निर्वाचनमा आफ्नो प्रभाव छाड्ने रणनीतिमा रहेको जानकार बताउँछन्।

गठबन्धनबाट मेयरमा जसपाका लालकिशोर साह र उपमेयरमा कांग्रेसका किशोरी साहको उम्मेदवारी छ। एमालेले मेयरमा शिवशंकर साह ‘हीरा’लाई उम्मेदवार बनाएको छ। लोसपाले मेयरमा मनोज चौधरी उठाएको छ। 

जनकपुरमा अघिल्लो निर्वाचनमा ७५ हजार ७ सय ६५ मतदाता थिए। यो निर्वाचन बढेर ८६ हजार ७ सय ६९ भएका छन्। संविधानसभा सदस्य आशाकुमारी सरदार मोरङको जहदा गाउँपालिका उपाध्यक्ष उम्मेदवार बनेकी छन्। कांग्रेसबाट टिकट नपाएपछि सरदारले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। उनी २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएकी थिइन्। विजयकुमार गच्छदारले नेतृत्व गरेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा आएकी थिइन्।

धुलिखेल नगरपालिकामा कांग्रेसका नगर सभापति विदुर बस्नेत बागी बनेका छन्। गठबन्धनविरुद्ध उनको उम्मेदवारी परेको हो। सत्ता गठबन्धनबाट मेयरमा एकीकृत समाजवादी र उपमेयरमा कांग्रेसले उम्मेदवारी दिएका छन्। मेयरमा दयासागर श्रेष्ठ र उपमेयरमा नीराजन जंगम उम्मेदवार छन्। 

धुलिखेल नगरपालिकाको मेयरमा कांग्रेसबाट बागी उठेका विदुर बस्नेत ।

प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा पूर्वजिल्ला अध्यक्ष कर्ण मल्लले चुनौती दिएका छन्। उनले एमालेसँग मिलेर नेपाली कांग्रेस बीपीबाट जिल्लाका सबै पालिकामा उम्मेदवार उठाएका छन्। कांग्रेसले मल्ललाई हालै मात्रै कारबाही गरेको थियो। 

कांग्रेस नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा कांग्रेसकै पुराना नेता गोविन्दराज जोशी पक्षले चुनौती दिइरहेको छ। जोशीले छोरा दीपकराज जोशीलाई व्यास नगरपालिकाको मेयरमा उठाएका छन्। उनलाई एमालेले समर्थन गरेको छ।  

महोत्तरीको बर्दिबास नगरपालिकामा गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ। गठबन्धनबाट कांग्रेसका चिरन्जीवी हमालले उम्मेदवारी पाएका छन्। तर, कांग्रेसकै प्रह्लादबहादुर क्षेत्री बागी उठेका छन्। 
नुवाकोटको विदुर नगरपालिका–८ को वडाध्यक्ष पदमा उत्तम केसी स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेले मूल्यांकन नगरेकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको केसीको भनाइ छ। उनले भौतिक, सामाजिक तथा सुशासनको उचित व्यवस्था गर्ने प्रतिबद्धता जनाएका छन्।  

बागी नाम  उठेका  सम्बन्धित दलको उम्मेदवारहरू पार्टीहरू कारबाही गरेको पनि बताएका छन्। एमाले र गठबन्धन दलहरू बागी उठेकालाई कारबाही गरेको जनाएको छ। 
राजनीतिक विश्लेक डा. राजेश अहिराज पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवार भएकाले पार्टीको अस्मिता र गरिमा स्थानीय तहमा जोगाएको बताउँछन्। बागीले सम्बन्धित पार्टी हराउन कारक हुने उनको विश्लेषण छ। 

‘गठबन्धनका दलका उम्मेदवार छन्। गठबन्धनलाई हराउँछन्। एमालेका छन् भने एमालेलाई हराउँछन्’, डा. अहिराज भन्छन्, ‘स्वतन्त्र उठेकाले स्थानीय तहमा त्यो पार्टीको अस्मिता र गरिमालाई जोगाएका छन्।’ अहिलेका गठबन्धनले जनताको स्वविवेक र आत्मसम्मानमा प्रहार गरेको उनी बताउँछन्। 

पोखरामा पछि हटे कार्की 

पोखरा महानगरपालिकामा कांग्रेसका बागी उम्मेदवार विमलबहादुर कार्की पछि हटेका छन्। गठबन्धनका उम्मेदवार धनराज आचार्यलाई समर्थन गर्दै कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय भएको बताएका छन्।  
उनले पार्टीको नीतिप्रति असहमति जनाउँदै आसन्न स्थानीय निर्वाचनमा पोखराको मेयर पदमा उम्मेदवारी दिएका थिए। कार्कीले आफ्नो उम्मेदवारी निष्क्रिय गरेको भन्दै सोमबार एक अपिल जारी गरेका हुन्। 

पार्टीले उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निष्क्रिय भएको उनले बताएका छन्। साथीभाइको सल्लाह र अग्रज नेताहरूको आग्रहलाई मान्दै कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको उनको भनाइ छ। F
 

बागीले नजिते पनि हराउने कारक भने बन्न सक्छन् । व्यक्तित्व प्रभाव राम्रो छ भने त कहींकहीं त जित्न पनि सक्छन् । तर, धेरै ठाउँमा भने हराउन गतिलो आधार बागी बन्न सक्छन् । 
तुलनारायण साह,
राजनीतिक विश्लेषक
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.