चुनावी दौडाहामा ओली अगाडि (फोटो फिचर)
काठमाडौं : स्थानीय निर्वाचनमा सबैभन्दा बढी चलायमान नेताका रूपमा देखिएका छन्, एमाले अध्यक्ष केपी शर्मा ओली। तुलनात्मक रूपमा शिर्ष नेता मध्ये बढी व्यस्त भेटिन्छन् उनी। दुई पटक मिर्गौला फेरे पनि निर्वाचनमा सक्रियता घटेको छैन।
पाँच दलीय सत्तारुढ गठबन्धन तालमेल गर्न छलफलमा लाग्दा नै उनी जिल्ला–जिल्ला पुगेर पार्टी प्रवेश कार्यक्रममा सहभागी भइरहे। मधेस प्रदेशबाट मात्रै दुई दर्जन बढी स्थानीय तहका प्रमुख र उपप्रमुख एमालेमा प्रवेश गराए।
यता सत्तारुढ गठबन्धन लामो समय तालमेलकै सकसमा रुमलियो। तर, ओलीले जिल्ला–जिल्लामा निर्वाचनको माहोल तताउने काम गरे। हुम्लादेखि रौतहटसम्म, सोलुखुम्बुदेखि जुम्लासम्ममा ओली आमसभामा सहभागी भए। निर्वाचनमा माहोल बनाउने काम नै ओलीले गरेको विश्लेषकहरू बताउँछन्। उनले एकैदिन चारवटा आमसभा समेत भ्याए।
सोमबार मात्रै ओलीले तीनवटा आमसभा भ्याएका छन्। पोखरा महानगर पुगेर आमसभामा भाषण गरे। त्यहाँ कांग्रेसलाई धम्की सुन्ने पार्टी भएको आरोप लगाए। त्यसपछि ललितपुर र कीर्तिपुरको आमसभालाई सम्बोधन गरे। ललितपुरको जाउलाखेलमा भएको सभामा आइतबार केन्द्रीय मुख्यालयबाट आम मतदाताका अपिल सार्वजनिक गरे। केही समयमा नै भरतपुर पुगेर सत्तारुढ गठबन्धनको आलोचना गरे र बुटवलको आमसभामा सम्बोधन गरे। शनिबार प्रदेश १ को एक मात्र महानगर विराटनगरमा सम्बोधन गरे। सुनसरीका दुई उपमहानगरपालिका इटहरी र धरान पुगेर भाषण गर्न भ्याए। उनी भाषण पनि कम्तिमा १ घण्टा गर्छन्। शुक्रबार माधवकुमार नेपालको गृहजिल्ला पुगे। नेपालकै कारण रौटहटको विकास हुन नसकेको आरोप पनि लगाए। बिहीबार ओली धनगढी लगायत कैलालीका दुई ठाउँ पुगे। कञ्चनपुरको बैलोरीमा गएर भाषण गरे। दिनहुँजसो जिल्ला–जिल्ला पुगेर आम सहभागी हुँदै आएका छन्।
सर्लाही पुगेर पार्टी प्रवेश कार्यक्रममा सहभागी भए। सोलुखुम्बु, हुम्ला, बाँके, बर्दिया, जुम्ला, कालिकोट, पोखरा, वीरगन्ज र झापाका विभिन्न सभामा उनले सक्रिय सहभागिता मात्रै जनाएनन्, घन्टौं भाषण पनि गरे। त्यतिमात्रै होइन जनवर्गीय संगठनका कार्यक्रममा पनि ओली आफैं पुग्ने गरेका छन्।
उनको व्यस्तता खटाइ देखेर स्वयम् एमालेका युवा नेता पनि छक्क पर्छन्। निर्वाचनको परिणाम के आउँला, त्यो भविष्यले निर्धारण गर्ला। तर, ओलीले पाँच दलीय गठबन्धनलाई हायलकायल र आँच्छुआँच्छु नै पारेका छन्। ओलीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार उनी देश दौडाहाबाट आएर राति २ बजेसम्म छलफल, बैठकमा खटिने गरेका छन्।
हेर्नुहोस् तस्बिर
रौतहट चुनावी सभा
विराटनगर चुनावी सभा
बुटवल चुनावी सभा
ललितपुर चुनावी सभा
पोखरा चुनावी सभा
किर्तिपुर चुनावी सभा
इटहरी चुनावी सभा
धरान चुनावी सभा
भरतपुर चुनावी सभा