चुनाव उत्साहप्रद, आज मतदान
काठमाडौं : स्थानीय तह निर्वाचन शुक्रबार देशभर एकैसाथ हुँदै छ। संघीयता कार्यान्वयनमा आएपछि दोस्रो पटक हुन लागेको निर्वाचनमा सहभागी हुन नागरिक यसपटक अझै बढी उत्साहित छन्। उम्मेदवारको उत्साह पनि कम छैन। स्थानीय तहमा दिइएको अधिकार र स्रोतसाधनका कारण पनि मतदाता र उम्मेदवारमा यसको महत्त्व बढेको छ।
यसअघिका निर्वाचनभन्दा सुरक्षा चुनौती पनि कम भएकाले निर्वाचन ‘उत्सव’कै रूपमा देखिएको बताउँछन् राष्ट्रियसभा सदस्य एवं संघीयताविज्ञ डा.खिमलाल देवकोटा। ‘मतदानका लागि चुनावको अघिल्लो दिनसम्म सहरबाट गाउँगाउँ पुग्नेको भीड नै रह्यो। गाउँसहर सबैतिर चुनावी माहोल बनेको छ। पाँच वर्षमा स्थानीय तहको महत्त्व नागरिकले बुझेकाले यसपटक उत्साह बढी देखिन्छ,’ डा. देवकोटा भन्छन्। कार्यथलो बनाएका नागरिक मतदान गर्न घर फर्किएपछि संघीय राजधानीलगायत प्रदेशका राजधानी र मुख्य सहरहरू सुनसान छन्।
२०५२ सालयताकै यो निर्वाचनमा सुरक्षा थ्रेट न्यून रहेको सुरक्षा निकायको दाबी छ। २०५२ सालमा माओवादीको हिंसात्मक द्वन्द्व सुरुवातपछि निर्वाचन सुरक्षा थ्रेटकाबीच चुनावहरू भएका थिए। २०५४ सालको स्थानीय होस् वा २०५६ सालको आम निर्वाचन त्यस समय सुरक्षा चुनौती उच्च थियो। २०६४ सालको पहिलो संविधानसभाको निर्वाचन र २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि चुनाव बहिष्कार गर्ने शक्ति थिए। २०७४ को स्थानीय, प्रदेश तथा संघको निर्वाचनमा शान्ति सुरक्षाको अवस्था सहज थिएन। नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसी यो निर्वाचन विगतभन्दा शान्त रहेको बताउँछन्।
फर्किए मतदाता
यसपटक चुनाव नजिकिँदै गर्दा १५ लाख हाराहारीको संख्यामा नागरिकले काठमाडौं उपत्यका छाडेका छन्। दुई साता दिनहुँजसो करिब एक लाखको हाराहारीमा मानिसले काठमाडौं छोडेको ट्राफिक प्रहरीको दाबी छ। अधिकांश मतदाताको लागि राजनीतिक दलले नै सवारीसाधनको व्यवस्था पनि गरेर लगेका छन्। कतिपय भने भोट हाल्नकै लागि आफैं पनि हवाई र स्थल यातायातमा भोट हाल्न मतदाता नामावली भएको स्थान पुगेका छन्।
भोजपुरको अरुण गाउँपालिका– याकु पुगेका कृष्ण ओझा भोट हाल्नैका लागि आफू गाउँ पुगेको बताउँछन्। काठमाडौंबाट पाँच जना परिवार लिएर याकु पुगेको उनले बताए। डा. देवकोटा पनि गठबन्धन र एमालेको प्रतिष्ठाको लडाइँले निर्वाचनलाई थप रोचक बनाएको बताउँछन्।
युवामा आशाको सञ्चार
यस पटकको निर्वाचनमा युवा पुस्ता अझै बढी उत्साहित देखिएका छन्। उम्मेदवारी दिनेदेखि उम्मेदवार छनोट गर्नमा पनि युवाको उत्साह बढी छ। काठमाडौं महानगरको मेयरमा स्वतन्त्रबाट बालेन साह, एमालेबाट उपमेयरमा सुनिता डंगोललगायत धेरै युवाहरू चुनाव उत्रिएका छन्। उम्मेदवारीसँगै उनीहरू सक्रिय भएपछि युवामा आशा बढी देखिन्छ।
मतदान गर्न लाइनमा बसेका मतदाता
विगतका निर्वाचनमा नेता र निर्वाचनप्रति युवाका वितृष्णाका कुरा सामाजिक सञ्जाल धेरै देखिन्थे। तर, यो पटक उनीहरू सामाजिक सञ्जालमा निर्वाचनको ‘क्याम्पेनिङ’ गर्न लागिपरेका छन्। युवाहरूले पनि आफूलाई मन परेको उम्मेदवारलाई भोट मागिरहेका छन्। जसले निर्वाचनको वातावरण बनेको छ।
युवा नेता रश्मी आचार्य नयाँ युवा अनुहार उम्मेदवार भएका ठाउँमा युवाहरू उत्साहित भएको र नभएको ठाउँमा भने उत्साहित नभएको बताउँछन्। राजनीतिक दलले युवालाई अगाडि बढाउन सकेमा अझ थप उत्साह आउने उनको तर्क छ। यस पटक थप ३६ लाख ५९ हजार २ सय ९९ नयाँ मतदाताले भोट हाल्दैछन्। निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएका छन्।
कोभिड पछि बनेको माहोल
दुई वर्ष कोरोना महामारीका कारण नागरिक घरमा नै बस्नु पर्यो। यस समय स्थानीय तहमा आएका जनप्रतिनिधिको सक्रियतामा उपचार, आइसोलेसन र क्वारेन्टाइन बने। कोभिडले नागरिकमा स्थानीय तहको महत्त्व अझै बढी देखायो। अहिले दुई वर्षदेखिको कोभिडबाट नागरिकले उन्मुक्ति पाएका छन्।
पछिल्लो समयमा कोभिडको प्रभाव छैन। चुनावको निहुँमा भए पनि घरमा लामो समय कोठामा नै थुनिएकाहरू गाउँ पुगेका छन्। राहतको सास फेर्ने मौका पाएका छन्। आफ्नो मताधिकार पनि प्रयोग गर्न पाउने भएका छन्।
शान्तिपूर्ण वातावरण
तुलनात्मक रूपमा यो निर्वाचनको माहोल शान्तिपूर्ण रूपमा भइरहेको सुरक्षा निकायको विश्लेषण छ। अघिल्लो स्थानीय तहको निर्वाचनमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र सीके राउतको पार्टीबाट चुनौती थियो। यस पटक विप्लव र सीके राउत प्रत्यक्ष/अप्रत्यक्ष रूपमा निर्वाचनमा भाग लिएका छन्। सीके राउतको जनमत पार्टी निर्वाचनमा उम्मेदवार नै प्रत्यक्ष खडा गरेर आएको छ।
विप्लव स्वतन्त्र उम्मेदवार खडा गरेर निर्वाचनमा होमिएका छन्। निर्वाचन बिथोल्ने वा बहिष्कार गर्ने कुनै पार्टी वा समूह सतहमा पनि देखिएका छैनन्। विप्लवबाट फुटेको धमेन्द्र बाँस्तोलाको नेकपा (बहुमत)ले पनि निर्वाचन बहिष्कार पनि नगर्ने र भाग पनि नलिने रणनीति लिएको छ। निर्वाचनमा प्रतिस्पर्धी दलबीच सामान्य झगडा, विवाद भए पनि खासै ठूला घटना नभएको प्रहरीको दाबी छ।
एकै चरणको प्रभाव
विगतमा स्थानीय निर्वाचन चरण–चरणमा भएको थियो। २०७४ सालको स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो।
शुक्रबार बिहान मतदानस्थलमा
पहिलो चरण वैशाख ३१, दोस्रो असार १४ र तेस्रो चरणको असोज २ गते निर्वाचन भएको थियो। तर यस पटक भने देशभर नै एकै चरण निर्वाचन हुँदैछ। एक चरणमा निर्वाचन भइरहेकाले माहोल उत्साहित छ।
जागरण वृद्धि
संघीयता कार्यान्वयनमा आएसँगै स्थानीय तहको महत्त्व नागरिकले बुझेका छन्। मतदातामा जागरण वृद्धि भएको छ। स्थानीय शासनविज्ञ डा. श्यामकृष्ण भुर्तेल पछिल्लो समय नागरिकमा सचेतना बढेको बताउँछन्। उम्मेदवारी नै आमचाहना विपरीतको भएमा विद्रोह हुनेसम्मको अवस्था हुनु सकारात्मक भएको उनको तर्क छ। ‘जनता सचेत भएका छन्। उम्मेदवार चयन पनि आम भावनाविपरीत भएमा विद्रोह हुने, जनताविरुद्ध बोलेमा प्रतिवाद हुने अवस्था पनि स्थानीय नागरिकमा आएको छ,’ उनले भने। उनका अनुसार पछिल्लो समय पारदर्शिता र जवाफदेहिताका विषयमा जनताले औंला ठड्याउने गरेका छन्।
भोट हाल्नु अधिकार हो भन्ने विषयमा जनता सचेत भएको भुर्तेलको बुझाइ छ। ‘एउटा भोटको महत्त्व कति हुन्छ ?, एक भोट देश बनाउने र बिगार्ने कुराको निर्णायक हुन्छ। वडा तहको हकमा मान्छे हेर्ने जागरुकता पनि जनतामा आएको छ,’ उनले भने।
स्थानीय तहको प्रभावकारिता
निर्वाचनमा उत्साह बढ्नुमा स्थानीय तहको प्रभावकारिता प्रमुख कारण बनेको छ। तीन तहमध्ये यो पाँच वर्षमा सबैभन्दा प्रभावकारी सरकारको रूपमा स्थानीय तह देखिएको छ। केही विकृति, विसंगति भए पनि समग्रमा स्थानीय तहप्रति जनताको आकर्षण संघीयताले बढाएको छ। हाई प्रोफाइलको उच्च प्राथमिकतामा स्थानीय तह परेको छ।
मतदानस्थलमा म्यादी प्रहरी।
स्थानीय तहको प्रभावकारिताकै कारण केन्द्रीय नेतासमेत तहको उम्मेदवार बनेका छन्। संघीयताविज्ञ डा.देवकोटा सबै चासो स्थानीय तहमा रहेको बताउँछन्। स्रोत साधन, सेवासुविधा स्थानीय तहमा प्रशस्त भएका कारणले निर्वाचनमय भएको छ। पूर्व निर्वाचन आयुक्त प्रा.डा. वीरेन्द्रप्रसाद मिश्र अधिकार र साधनस्रोत पुगेका कारणले स्थानीय तह निर्वाचन उत्साहजनक देखिएको बताए।
उनले माओवादी जनयुद्धको बेला काठमाडौं केन्द्रित भएका पनि साधनस्रोत र अधिकारका कारण गाउँ फर्किएको बताउँछन्। स्थानीय शासनविज्ञ डा. भुर्तेल समग्रमा स्थानीय तहको महत्त्व यो पाँच वर्षमा धेरैै बढेको अनुभव सुनाउँछन्। पछिल्लो समयमा वडा तहको महत्त्वसमेत बुझेकाले वडाध्यक्षमा पनि उम्मेदवारको आकांक्षा बढी देखिएको छ। तलबाट माग्ने र माथिबाट दिन हिच्किचाउने जस्ता चुनौती अब स्थानीय तहमा आउने उनको विश्लेषण छ।
विद्यार्थीको फुर्सदिलो समय
शैक्षिक संस्था बिदा भएको कारण पनि विद्यार्थी गाउँ गएका छन्। बिदाको पनि सदुपयोग हुने र भोट पनि हाल्ने, ‘दुई काम एक पन्थ’ भएको छ। उच्च शिक्षा अध्ययनरत र मतदाता नामावलीमा नाम भएका विद्यार्थीले भोट नै हाल्ने अवसर पाएका छन्।
उम्मेदवारसँग कहीँ न कहीँ जोडिने
यो पटक स्थानीय तहमा धेरै उम्मेदवार छन्। यसपटक विभिन्न पदमा १ लाख ४५ हजार १० उम्मेदवार छन्। मतदाता कुनै राजनीतिक दलसँग मात्रै नभई उम्मेदवारसँग पनि कहीँ न कहीँ जोडिएका हुन्छन्। उनीहरूका नातागोता, दाजुभाइ नै उम्मेदवार भएका छन्। पूर्व निर्वाचन आयुक्त डा. मिश्र स्थानीय तहको चुनाव उत्साह हुनुमा नातागोता र परिवारका सदस्य नै उम्मेदवार हुनु पनि रहेको बताउँछन्।
‘नातागोता, आफन्त, दाजुभाइ र साथीसंगी नै उम्मेदवार छन्। जसले गर्दा पनि भोट हाल्न जानै पर्ने अवस्था हुन्छ,’ उनले भने, ‘म पनि पञ्चायतकालमा समेत भाइ नै उठेकोले भोट हाल्न गएको थिएँ। अहिले त अझ धेरै उम्मेदवार छन्। कोही न कोही उम्मेदवार कसै न कसैको त नातेदार, आफन्त नभएका पाइनै गाह्रो छ। एक भोटकै ठूलो महत्त्व हुन्छ। त्यस कारण पनि जानै पर्ने अवस्था छ।’
फर्किनेको संख्या उल्लेख्य
विदेशबाट फर्किनेको संख्या पनि उल्लेख छ। धेरै भारतमा रोजगारीका लागि गएकाहरू भोट हाल्नकै लागि फर्किएका छन्। भारतसँग सिमाना जोडिएका नाकाहरूमा एक हप्ता यता घर फर्किनेको भीड नै छ। गौरीफन्डा, रूपेडिया, सुनौलीलगायतका नाकाबाट धेरै मानिस भोट हाल्न नै घर आएका छन्। ठूलो संख्या नेपालीहरू कामका लागि भारत ‘कालापहाड’ जाने गर्छन्।
मतदानका लागि चुनावको अघिल्लो दिनसम्म सहरबाट गाउँगाउँ पुग्नेको भीड नै रह्यो। गाउँसहर सबैतिर चुनावी माहोल बनेको छ। पाँच वर्षमा स्थानीय तहको महत्व नागरिकले बुझेकाले यसपटक उत्साह बढी देखिन्छ।
डा. खिमलाल देवकोटा, राष्ट्रियसभा सदस्य तथा संघीयताविज्ञ
जनता सचेत भएका छन्। उम्मेदवार चयन आम भावनाविपरीत भएमा विद्रोह हुने, जनताविरुद्ध बोलेमा प्रतिवाद गर्ने अवस्था पनि नागरिकमा आएको छ। यो सकरात्मक पक्ष हो। पछिल्लो समय चुनावप्रति उत्साह देखिन्छ।
डा. श्यामकृष्ण भुर्तेल, स्थानीय शासनविज्ञ
तस्बिर : सरोज बैजु