मिथिला-२ मा एकीकृत समाजवादीका उम्मेदवार विजयी
ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिका–२ मा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन्। एकिकृत समाजवादीबाट वडाध्यक्षका उम्मेदवार बिहारी महतो १३६ मतान्तरले निर्वाचित भएका हुन्।
उनले १ हजार १२९ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार सिंहले ९९३ मत ल्याएर पराजित भएका हुन्।
अघिल्लो पटकको चुनावमा पनि उक्त वडामा बिहारी महतो नेकपा एमालेबाट विजयी भएका थिए। एमाले विभाजनपछि एकीकृत समाजवादी रोजेका महतो दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका छन्।
एकिकृत समाजवादीका केन्द्रिय स्थायी समिति सदस्य तथा मधेश प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री शत्रुधन महतोको गृह वडा हो। मिथिला नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र महतोको आफ्नै वडामा कांग्रेसले हार व्यहोरेको छ।