सत्ता गठबन्धनको योजनाबद्ध धाँधली : एमाले

सत्ता गठबन्धनको योजनाबद्ध धाँधली : एमाले

काठमाडौं : स्थानीय निर्वाचनमा सत्ता गठबन्धनले धाँधली गरेको र त्यसलाई निर्वाचन आयोगले पनि साथ दिएको एमालेको आरोप छ। एमालेले आइतबार एक विज्ञप्ति जारी गर्दै गठबन्धनका नेता आचारसंहिता उल्लंघन गर्ने र त्यसलाई ढाकछोप गर्नमा आयोग सक्रिय रहेको बताएको हो।  ‘गठबन्धनले यसपटक स्थानीय निर्वाचनमा लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको छ। हामीले निर्वाचन आयोगलाई आचारसंहितामा भएको त्रुटि सच्याउन अनुरोध गर्दा अनेक टिप्पणी भयो। मिलेमतोमा निरन्तर आचारसंहिताको उल्लंघन भयो,’ महासचिव शंकर पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ। 

निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र एमालेको विपक्षमा परिचालित भएको एमालेको दाबी छ। मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले योजनाबद्ध धाँधली गरेको तथ्यसमेत विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘सत्ता गठबन्धनबाट एमालेविरुद्ध गरिएका मोर्चाबन्दीको बाबजुद निर्वाचनमा उभिएको पार्टी एमाले हो,’ विज्ञप्तिमा भनिएको छ, ‘मोर्चाबन्दीले नपुुगेर धाँधलीमा समेत उत्रिएका छन्। 
योजनाबद्ध धाँधलीलाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गर्दछौं।’

पुनः मतदान र मतगणनाका लागि दिइएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न एमालेले माग पनि गरेको छ। पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरूले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएको निवेदन अनुसार निष्पक्ष तबरले पुनः मतदान गराउने र मतगणना गराउन एमालेले आग्रह गरेको छ। मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र एमाले पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको विज्ञप्तिमा उल्लेख छ। 

एमालेले पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको, लमजुुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गरिरहेको एमालेले जनाएको छ। ‘मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरि–३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी मतगणना जारी राखेको छ,’ विज्ञप्तिमा भनिएको छ। 

मत गणना कार्य छिटोछरितो हुनुपर्नेमा अनावश्यक ढिलाइ गर्ने कार्य भइरहेको पनि एमालेको आरोप छ। मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष एमालेको माग छ। निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा र प्रहरी तथा कर्मचारीहरू खटाएको पनि एमालेको आरोप छ। 

‘हाम्रा मतदातालाई हतोत्साहित गर्न अघिल्ला दिन गिरफ्तार गर्ने र मतदान पछि मात्र छाड्ने कार्य गरियो,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन अगाडि एमाले कार्यकर्तालाई अपहरण र पूर्वरुकुम तथा ताप्लेजुुङमा एमाले कार्यकर्ताको हत्या गर्ने कार्य भएको र ताप्लेजुङमा मृत्यु भएका एमाले कार्यकर्ताको पोष्टमार्टम गर्नसमेत नगरी त्यसै राखिएको छ।’ 

निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोसी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोसी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल विनायक, मंगलसेन, बझाङको छबिसपाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनियालगायत दर्जनौं स्थानमा बुथकब्जा गर्ने कार्य भएको पनि एमालेको आरोप छ। निर्वाचनको दिन मतदान सुरु हुनेक्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य गरिएको एमालेले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.