पर्साको छिपरमाइ गाउँपालिकामा मतगणना स्थगित, पुन: मतदान गराउन कांग्रेसको माग
वीरगन्ज : पर्साको छिपहरमाइ गाउँपालिका वडा नम्बर २ को चेरगाहा मतदान केन्द्रमा पुन: मतदान गराउन माग गर्दै नेपाली कांग्रेसले मतगणना कार्य स्थगित गराएको छ ।
मतदान र मतगणना दुवैमा धाधली गरिएको भन्दै कांग्रेसले विरोध गरेपछि छिपहरमाइ गाउँपालिकाको मतगणना कार्य आइतबार दिउँसो २ बजेदेखि रोकिएको हो ।
वीरगन्जमा सोमबार पत्रकार सम्मेलन गरेर कांग्रेसका गाउँपालिका अध्यक्ष उम्मेदवार नवीन सिंहले वडा नम्बर २ को चेरगाहा मतदान केन्द्रमा शुक्रबार भएको मतदान रद्ध गरेर पुन: मतदान गर्न माग गरे। उनले पुन: मतदात नगरे पुरै गाउँपालिकाको मतगणना रोक्ने चेतावनी दिए।
मतदान र मतगणना दुवैमा निवर्तमान गाउँपालिका अध्यक्ष एवं नेकपा एमालेका अध्यक्ष मनोज गुप्ताले धाँधली गरेको आरोप सिंहको छ । सिंहले भने,' यदि चेरगाहा मतदान केन्द्रको मतदान रद्ध गरी पुन: मतदानको मिति घोषणा गरिएन भने अवस्था भयवाह हुनसक्छ, हामी जेल जान पनि तयार छौं । '
सिंहले शुक्रबार भएको मतदानका क्रममा चेरगाहा मतदान केन्द्रमा एमाले अध्यक्ष उम्मेदवार गुप्ताले गाउँपालिका कार्यालयमा आफूले करारमा नियुक्त गरेका कर्मचारीहरुमार्फत धाँधली गराइ मतदाताभन्दा बढी संख्यामा मत खसाउन लगाएको आरोप लगाए ।
गुप्ताको निर्देशनमा गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत समेत रहेका सहायक मतदान अधिकृत शम्भु साहले १५९० मत खसेको भएपनि इन्ट्री भने १६२० मतको गराएर मुचुल्का उठाएको आरोप सिंहको छ ।
यसका साथै एमाले उम्मेदवार गुप्ताले मृत्यु भइसकेका मतदाताको नाममा पनि मत खसाउन लगाएको र त्यसको प्रमाण पनि आफूसँग सुरक्षित रहेको सिंहले दावी गरे।
त्यहि बेला आफूहरुले विरोध गर्दा पनि कुनै सुनुवाइ नभएको भन्दै सिंहले अहिले मतगणनाका क्रममा पनि गुप्ताले करारमा नियुक्त गरेका कर्मचारीहरुले धाँधली गरेपछि आफूहरुले आइतबारदेखि मतगणना रोक्न लगाएको बताए ।
उनले मतदान र मतगणनामा धाँधली गर्ने कर्मचारी र एमाले अध्यक्ष उम्मेदवार गुप्तालाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग पनि गरे ।
आफूले निर्वाचन कार्यालयसँग तीन दिनदेखि माग गर्दै आइरहे पनि कुनै सुननुवाइ नभएपछि सोमबार पत्रकार सम्मेलन गर्न बाध्य भएको सिंहले बताए ।
सोमबारको पत्रकार सम्मेलनमा कांग्रेसका जिल्ला प्रवक्ता रमेशनाथ पाण्डे , पूर्वजिल्ला सचिव किशोरी साह कानुलगायतका नेताको पनि उपस्थिति रहेको थियो ।