सप्तरीको तिरहुत गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी
राजविराज : पराजयको बदला लिँदै सप्तरीको तिरहुत गाउँपालिकामा नेपाली कांग्रेसका विजयकुमार यादव अध्यक्षमा निर्वाचित भएका छन्।
पाँच वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा निवर्तमान अध्यक्ष हेमन्तकुमार बहडखेरलाई ५७१ मतअन्तरले पराजित गर्दै यादव अध्यक्षमा निर्वाचित भएका हुन्। गत स्थानीय तहको निर्वाचनमा बहडखेरले यादवलाई पराजित गरी अध्यक्ष निर्वाचित भएका थिए। उतिबेला बहडखेरले २ हजार ९४२ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी यादवले २ हजार १०४ मत ल्याएका थिए। गत स्थानीय तहको निर्वाचनमा यादव राजपाबाट उम्मेदवार बनेका थिए भने यसपटक कांग्रेसका उम्मेदवार बनेका थिए।
अहिलेसम्म निर्वाचित सप्तरीको ३ वटै पालिकामा निवर्तमान प्रमुख पराजित भएका छन् भने २०७४ को निर्वाचनमा प्रतिद्वन्द्वी रहेका उम्मेदवार निर्वाचित भएका छन्। सप्तकोशी नगरपालिकामा निवर्तमान प्रमुख एमालेका उत्तमकुमार शर्मालाई कांग्रेसका कृष्णप्रसाद ढकालले पराजित गरे भने अग्नीसाइर कृष्णसवरन गाउँपालिकाका निवर्तमान अध्यक्ष कांग्रेसका परशुराम चौधरीलाई एमालेका दिनानाथ चौधरीले पराजित गरे। ढकाल र चौधरी गत निर्वाचनमा तेस्रो स्थानमा थिए।
मतगणनाको सुरुवातदेखि नै तिरहुत गाउँपालिकाको प्रतिस्पर्धा त्रिकोणात्मक देखिएकोमा मतगणना सकिँदा निवर्तमान अध्यक्ष बहडखेरले २ हजार ९८६ मत मात्र ल्याए भने नेकपा (एमाले) का दिनेशकुमार यादवले २ हजार ७६१ मत ल्याए।
यसैगरी उपाध्यक्षमा ३१ मतको अन्तरले कांग्रेसकी विणादेबी यादवनी निर्वाचित भएकी छन्। विणादेबीले ३ हजार ५१ ल्याएर निर्वाचित हुँदा जसपाकी रामवतीदेबी मण्डलले ३ हजार २० र एमालेकी शोभाकुमारी मेहताले २ हजार ५९३ मत ल्याइन्।
वडा अध्यक्षमा कांग्रेसले २, जसपाले २ र एमाले १ स्थान सुरक्षित गरेको छ। वडा नम्बर १ मा जसपाका शिवनारायण महतो, वडा २ मा एमालेका संजिवकुमार यादव, वडा ३ मा जसपाका शिवचन्द्र यादव, वडा ४ मा कांग्रेसका बलराम यादव र वडा ५ मा कांग्रेसकै रमानन्द चौधरी वडा अध्यक्षमा निर्वाचित भएका छन्।
मतगणना जारी रहेको १५ पालिकामध्ये जसपाले ४, कांग्रेस र लोसपाले ३/३, एमालेले २, माओवादी, एकीकृत समाजवादी र जनमत पार्टीले १/१ पालिकामा अग्रता कायम राखेका छन्।
निर्वाचित गाउँपालिका अध्यक्ष बिजय यादव र उपाध्यक्ष विणादेबी यादवनी । तस्बिर : अन्नपूर्ण