पर्साको पकाहामैनपुर गाउँपालिकामा कांग्रेसको शानदार जित
वीरगन्ज : पर्साको पकाहामैनपुर गाउँपालिकामा नेपाली कांग्रेसले शानदार जित हासिल गरेको छ। पकाहामैनपुर गाउँपालिकाको दुई खुल्ला सदस्य र एक दलित महिला सदस्यबाहेक पालिका अध्यक्ष , उपाध्यक्ष र पाँच वटै वडा अध्यक्षसहित पूरै पदमा कांग्रेस विजयी भएको हो।
बुधबार साँझ सम्पन्न गाउँपालिकाको मतगणनाको अन्तिम परिणाम अनुसार , गाउँपालिकाको अध्यक्षमा सुरेश प्रसाद मेहता निर्वाचित भएका छन्।
निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार एंव निवर्तमान गाउँपालिका अध्यक्ष विजयकुमार चौरसियालाई २ हजार १ सय ५६ मतको फराकिलो अन्तरले पराजित गर्दै मेहता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्।
मेहताले ४६८५ मत पाएका हुन्। जसपाका चौरसियाले भने २५२९ मत मत्रौ पाएको निर्वाचन अधिकृत कृष्णाप्रसाद देवकोटाले जानकारी दिए।
गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै सरफुन नेशा ४१४१ मतका साथ निर्वाचित भएकी छन्। उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले भने १८७२ मत मात्रै प्राप्त गरिन्।
पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेसका विनोद महेता ,, वडा नम्बर २ मा मुकुट प्रसाद चौहान , वडा नम्बर ३ मा सन्जयप्रसाद चौहान, वडा नम्बर ४ मा ढेडी प्रसाद यादव र वडा नम्बर ५ मा वलिराम प्रसाद वरै वडाध्यक्षमा निर्वाचित भएका छन्।