पर्साका १३ मध्ये १२ पालिका प्रमुखमा नयाँ अनुहार
वीरगन्ज : पर्सा जिल्लामा कुल १४ वटा पालिका छन्। तीमध्ये शुक्रबार अपरान्हसम्म १३ वटा पालिकाको मतगणना सकिसकेर अन्तिम नतिजा आइसेकेको छ। वीरगन्ज महानगरको भने आधा मात्रै मतगणना सकिएकाले महानगरको अन्तिम नतिजा आउन अझ केही दिन लाग्नेछ।
जिल्लाका १४ पालिकामध्ये १३ पालिकाको अन्तिम नतिजा आउँदा दलगत रुपमा नेकपा एमालेले ५, नेपाली कांग्रेसले ४, जसपाले ३ र लोसपाले १ पालिका प्रमुख जितेको छ।
अन्तिम नीतजा आएका १३ वटा पालिकाको प्रमुखमा छिपहरमाइ गाउँपालिकाबाहेक बाँकी १२ वटा सबैमा नयाँ अनुहार चुनिएका छन्। १४ वटै पालिकामा यसअघि निर्वाचित पालिका प्रमुखले यसपालिको निर्वाचनमा पनि निर्वाचन लडे पनि १ जना मात्रै दोहोरिएका छन्। बाँकी १२ जना पराजित भएका हुन् छन्।
पर्साको छिपहरमाइ गाउँपालिकाको अध्यक्षमा मात्रै यसअघि जितेका मनोज गुप्ता मात्रै पुन पालिका प्रमुखमा निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार इन्द्रासन कलवारलाई ३२० मत अन्तरले हराउँदै एमालेका गुप्ता पुन अध्यक्षमा निर्वाचित भएका हुन्। गुप्ताले ४१८८ मत पाउँदा कलवारले भने ३८६८ मत पाएका छन्।
अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार नवीन सिंह भने ३५२८ मत पाएर तेश्रो स्थानमा रहे। यसअघि २०७४ को निर्वाचनमा भने गुप्ता नेकपा माओवादी केन्द्रको उम्मेदवार बनेर २८५१ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचत भएका थिए। गुप्ता , एमालेका पर्सा जिल्ला सचिव पनि हुन्। छिपहरमाई गाउँपालिकाको उपाध्यक्ष भने नेपाली कांग्रेसकी उम्मेदवार लीलावती देवी कानु निर्वाचित भएकी छन्। लीलावती देवी ३८०१ मतका साथ निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मोदीना खातुनले भने ३५९० मत पाएकी छन्।
जिल्लाका ३ वटै नगरपालिकाको प्रमुखमा नयाँ अनुहार चुनिएका छन्। पोखरीया नगरपालिकाको मेयरमा एमालेका प्रधुम्न चौहान विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेदवार एंव निवर्तमान मेयर दिपनारायण रौनीयारलाई २४३३ मतको फराकिलो मत अन्तरले पराजित गर्दै चौहान मेयरमा निर्वाचित भएका हुन्। चौहानले ५५५४ मत पाउँदा कांग्रेसका उम्मेदवार रौनियारले भने ३१२१ मत पाएका छन्। पोखरीयाको उपमेयरमा पनि एमालेकै रुवीकुमारी ठाकुर ५१९५ मतका साथ विजयी भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९, लोसपाकी आशा कुमारी चौहानले २४६५ र नेपाल सुशासन पार्टीकी विणा देवीले २२४९ मत पाएकी छन्।
पर्सागढी नगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका गोकर्ण पाठक निर्वाचित भएका छन्। नेपाली कांग्रेसका निवर्तमान नगरप्रमुख लोकनारायण यादवलाई २ हजार ८ सय ९१ मतको फराकिलो मतान्तरले पराजित गर्दै पाठक निर्वाचित भएका हुन्। पाठकले ६ हजार ६ सय २४ मत पाएका छन् भने यादवलाई ३ हजार ७ सय ३३ मत परेको छ। उपमेयरमा पनि एमालेकै पूजा चौधरी निर्वाचित भएकी छन्। पूजाले ७ हजार ६ सय १६ मत पाउँदा निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी निवर्तमान उपप्रमुख अर्चना चौधरीले ३ हजार ४ सय ३० मत पाएकी छन्।
बहुदरमाई नगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का सिंगासन साह तेली विजयी भएका छन् ।मेयरमा तेली ६००४ मतका साथ निर्वाचित भएका हुन्। तेली, निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार शिव पटेललाई ३४६ मतले पराजित गर्दै मेयरमा विजयी भएका हुन्। पटेलले ५६५८ मत पाएका हुन्। निवर्तमान मेयर एंव कांग्रेसका उम्मेदवार नितेन्द्र साह भने तेश्रो स्थानमा रहे। उनले ५५१६ मत मात्रै पाए। मेयरमा नवनिर्वाचित तेली, २०७४ सालको निर्वाचनमा भने स्वतन्त्र लडेर २०६३ मतका साथ चौथो स्थानमा सिमित भएका थिए। उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुष्माकुमारी कुशवाहा विजयी भएकी छन्। कुशवाहा ६४४० मतका साथ उपमेयरमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सोनामति देवी यादवले ५५२५ मत पाएकी छन्।
पर्साको जगरनाथपुर गाउँपालिकामा जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नयाँ अनुहार चचुनिएका छन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार श्रीकान्त यादव र उपाध्यक्षमा पनि कांग्रेसकी बबिता सिंह निर्वाचित भएका हुन्। अध्यक्षमा निर्वाचित यादवले ५७४९ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान अध्यक्ष जालीम मियाका भाइ एंव एमाले उम्मेदवार महम्मद सलिम मन्सुर भने ३९२६ मत मात्रै पाए।
यादवले मन्सुरलाई १८२३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्। २०७४ को निर्वाचनमा भने जालीम ३०४१ मतका साथ गापा अध्यक्षमा निर्वाचित हुँदा कांग्रेसका यादव भने २९८६ मत प्राप्त गरी तेश्रो स्थानमा रहेका थिए। गाउँपालिका उपाध्यक्षमा पनि कांग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन्। एमालेकी उम्मेदवार मीरादेवी कुर्मीलाई २१८६ मतअन्तरले पराजित गर्दै बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन्। बबिताले ५५३१ मत पाउदा एमाले उम्मेदवार मीरादेवीले भने ३३४५ मत पाएकी हुन्। उपाध्यक्षमा मुख्यमन्त्री लालबाबु राउतकी पत्नि जसपा उम्मेदवार जलेखा खातुनले भने ३१२३ मत मात्रै पाएकी छन्।
पटेर्वासुगौली गाउँपालिकाको पनि अध्यक्षमा पनि यसअघिका जनप्रतिनिधि पराजित भएका छन्। कांग्रेसका दिनेशकुमार चौधरी, निवर्तमान अध्यक्ष एंव एमालेका उम्मेदवार हरिनारायण चौधरीलाई १२०० सय मत अन्तरले हराउँदै गाउँपालिका अध्यक्षमा विजयी भएका छन्। दिनेशले ५१४४ मत ल्याएका छन् भने एमालेका हरिनारायणले ३९४४ मत पाएका छन्। २०७४ को निनर्वाचनमा दिनेश, हरिनारायणसँगै ८२ मतको झिनो अन्तरले पराजित भएका थिए। उपाध्यक्षमा भने कांग्रेसकी ममता महत्तो थारु पुन दोहोरिएकी छन्। ४४४४ मतका साथ ममता, उपाध्यक्षमा निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी मन्तुरा देवीले ४०१३ मत मात्रै पाइन्।
पर्साको बिन्दबासिनी गाउँपालिका अध्यक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका प्रमोद तिवारी र उपाध्यक्षमा नेकपा एमालेकी ज्योति देवी चौरसिया विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा लोसपाका उम्मेदवार तिवारी ४ हजार १ सय ४१ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय बिन्दबासिनीले जनाएको छ। उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विवेक चौरसिया ३ हजार ४ सय ६८ मत प्राप्त गरेका छन्। तिवारी ६ सय ७३ मतको अन्तरले विजयी भएका हुन्। जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार एवम् निर्वतमान गाउँपालिका अध्यक्ष श्रीलाल साह कानु १ हजार २ सय ९२ मत पाएर चौथो स्थानमा रहे। गाउँपालिका उपाध्यक्षमा एमालेकी ज्योति देवी चौरसिया २ हजार ३ सय ६६ मत ल्याएर विजयी भएकी छन्। उनको निकटतम् प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी सुनिता चौरसिया २ हजार २ सय ८७ मत प्राप्त गरेका छन्। निवर्तमान उपाध्यक्ष एवम् कांग्रेस उम्मेदवार किरण देवी गुप्ता भने तेश्रो स्थानमा रहिन्।
पर्साको पकाहामैनपुर गाउँपालिकामा पनि अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नयाँ जनप्रतिनिधि चुनिएका छन्। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका सुरेशप्रसाद मेहता निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपाल (जसपा) का उम्मेदवार एंव निवर्तमान गापा अध्यक्ष विजयकुमार चौरसियालाई २ हजार १ सय ५६ मतको फराकिलो अन्तरले पराजित गर्दै मेहता गापा अध्यक्षमा निर्वाचित भएका हुन्। मेहताले ४६८५ मत पाएका हुन्। जसपाका चौरसियाले भने २५२९ मत मत्रौ पाएको निर्वाचन अधिकृत कृष्णाप्रसाद देवकोटाले जानकारी दिए। गाउँपालिका उपाध्यक्षमा कांग्रेसकै सरफुन नेशा ४१४१ मतका साथ निर्वाचित भएकी छन्। उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मलाकुमारी चौरसियाले भने १८७२ मत मात्रै प्राप्त गरिन्।
पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) का २१ वर्षीय वशीष्टकुमार गुप्ता निर्वाचित भएका छन्। निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अजयकुमार कुर्मीलाई ११७ मत अन्तरले पराजित गर्दै जसपाका गुप्ता, गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्। गुप्ताले ३७४३ मत पाएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका कुर्मीले ३६२६ मात्रै मत पाए। कालीकामाई गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसकी राजमति बरैनी ३९८२ मतका साथ निर्वाचित भएकी छन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३८५९ मत पाएकी छन्।
पर्साको जीराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यमा कांग्रेसका उम्मेदवार विजयी भएका छन्। जीराभवानी गाउँपालिकाको अध्यक्षमा ३२ वर्षीय अनोज चौधरी निर्वाचित भएका हुन्। यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै रेखा चौधरी निर्वाचित भएकी छन्। गाउँपालिका अध्यक्षमा निर्वाचित अनोजले निवर्तमान गाउँपालिका अध्यक्ष एंव नेकपा एमालेका उम्मेदवार रामपृत महत्तोलाई १२६१ मतको फराकिलो मतान्तरले पराजित गरेका हुन्। अनोजले ४५६० मत पाएका हुन् भने निवर्तमान अध्यक्ष महत्तोले ३२९९ मत मात्रै पाए। यस्तै उपाध्यक्षमा विजयी रेखाले पनि एमालेकी उम्मेदवार एंव निवर्तमान गाउँपालिका उपाध्यक्ष उषादेवी थरुनीलाई १७४५ मतको अन्तरले पराजित गरेकी हुन्।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी रेखा चौधरी विजयी भएकी छन्। नेकपा एमालेकी उम्मेदवार एंव निवर्तमान उपाध्यक्ष उषादेवी थरुनीलाई १ हजार ७ सय ४५ मतको फराकिलो अन्तरले पाखा लगाउँदै रेखा चौधरी उपाध्यक्षमा निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृत झविन्द्रप्रसाद पाण्डेका अनुसार उपाध्यक्षमा निर्वाचित कांग्रेसकी रेखाले ४७१० मत प्राप्त गरेकी हुन् भने उनकी निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार एंव निवर्तमान उपाध्यक्ष उषाले २९६५ मत पाएकी हुन्।
पर्साको धोविनी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा)का मदनप्रसाद चौहान विजयी भएका छन्। आफ्नो निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार वशिष्ठनारायण प्रसादकुर्मीलाई केवल २० मतको झिनो अन्तरले पराजित गर्दै चौहान अध्यक्षमा निर्वाचित भएका हुन्। चौहानले ३ हजार ९१ मत ल्याउँदा कुर्मीले ३ हजार ७१ मत ल्याएका छन्। धोविनीको उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु देवी निर्वाचित भएकी छन्। निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी प्रियंकादेवी यादवलाई ५ सय ६६ मतले पराजित गर्दै मञ्जु देवी उपाध्यक्षमा निर्वाचित भएकी हुन्। मञ्जुले ३ हजार १ सय ४३ मत पाउँदा प्रियंकाले २ हजार ५ सय ७७ मत पाएकी हुन्।
पर्साको ठोरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नयाँ अनुहार चुनिएका छन्। अध्यक्षमा नेकपा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा पनि एमालेकै गोकुली कुमारी रेग्मी निर्वाचित भएका हुन्। निकटम प्रतिद्वन्द्व नेकपा माओवादी केन्द्रका निवर्तमान अध्यक्ष पदमलाल (पिएल) श्रेष्ठलाई ७ सय २० मतान्तरले पराजित गर्दै लालबहादुर विजयी भएका हुन्। लालबहादुरले ४ हजार ४९ मत ल्याउँदा पिएल श्रेष्ठले ३ हजार ३ सय २९ मत ल्याएका छन्। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी निरु तामांगलाई १ हजार २ सय १६ मतले पराजित गर्दै एमालेकी गोकुली कुमारी रेग्मी निर्वाचित भएकी हुन्। रेग्मीले ४ हजार २ सय ५९ मत पाउँदा तामांगले ३ हजार ४३ मत पाएकी छन्। नेपाली कांग्रेसकी चीनमाया लामाले २ हजार ४ सय ३१ मत पाएकी छन्।