वीरगन्ज महानगरको मेयर र उपमेयरमा गठबन्धनको जीत सुनिश्चित
वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मेयरमा सत्तागठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहको जीत सुनिश्चित भएको छ। महानगरको जारी मतगणनामा अब गन्न बाँकी रहेको मतभन्दा एमालेका उम्मेदवार विजय सरावगी र जसपाका उम्मेदवार राजेशमान बीचको मतान्तर बढी भएकोले राजेशमानको जीत सुनिश्चित भएको हो।
सोमबार बिहान साढे ७ बजेसम्म कुल खसेको ९३ हजार ७ सय ८२ मतमध्ये ७७ हजार ५ सय ७७ मत गणना भइसकेको छ। अब १६ हजार २ सय ५ मत मात्रै गन्न बाँकी छ।
यो अवस्थामा राजेशमानले १८ हजार ७ सय ५८ मतको अग्रता लिइसकेका छन्। यसले अब महानगरको मेयरमा राजेशमानको जीत सुनिश्चित देखिएको हो।
सोमबार बिहान साढे ७ बजेसम्म ७७ हजार ५ सय ७७ मत गणना हुँदा राजेशमानले ३८ हजार ४ सय ३७ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सरावगीले भने १९ हजार ६ सय ७९ मत मात्रै ल्याएका छन्। तेश्रो स्थानमा रहेका राप्रपाका मेयर उम्मेदवार गिरिश गिरीले भने २ हजार ८ सय ५७ मत पाएका छन्।
गन्न बाँकी रहेको मतभन्दा राजेशमानको मतान्तर बढी भएसँगै सामाजिक सन्जालमा राजेशमानका समर्थकहरुले जीतको बधाइ र शुभकामना दिन सुरु गरिसकेका छन्। यस्तै वीरगन्ज महानगरको उपमेयरमा पनि गठबन्धनका साझा उम्मेदवार इम्तियाज आलमको जीत पनि सुनिश्चित भएको छ।
अब १६ हजार २ सय ५ मत मात्रै गन्न बाँकी रहँदा गठबन्धनबाट कांग्रेसका उम्मेदवार आलमले १८ हजार ३ सय ४७ मतको अग्रता लिइसकेका कारण उनको पनि जीत सुनिश्चित भएको हो। बिहान साढे ७ बजेसम्म ७७ हजार ५ सय ७७ मत गणना हुँदा उपमेयरमा आलमले २४ हजार ९ सय १५ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी लोसपका उम्मेदवार पुरुषोत्तमलाल झाले भने ६ हजार ५ सय ६८ मत मात्रै पाएका छन्।