बुवाछोराको एउटैसंग प्रतिस्पर्धा : बुवाको हारलाई छोराले जिताए
प्यूठान : प्यूठानको एक वडामा ०७४ सालको स्थानीय तह निर्वाचनमा बुवाले चुनाव हारेका सोही उमेदवारसँग अहिले छोराले चुनाव जितेका छन्।
झिमरुक गाउँपालिका-६ का राष्ट्रिय जनमोर्चाका निमानसिंह जिसीले एमालेका उम्मेदवार केशबहादुर पुनलाई ०७४ को निर्वाचनमा हराएका थिए। तर यसपटक जिसीसँगै एमालेका उम्मेदवार केश बहादुरका छोरा धन बहादुर पुन चुनाव लडे र जिसीलाई हराए। बुवाको हारलाई अहिले छोराले विजयमा परिणत गर्दै विजयी र्यालीमा बुवाछोरासँगै हिडे।
आफूसँगै चुनाव लडेका बुवाछोरालाई आफ्नै घरमै बधाई दिएपछि जिसीलाई धेरैले राजनीतिक संस्कार भएको व्यक्तिको रुपमा चित्रण गरे। मच्छिदेखि आएको विजयी र्यालीलाई स्वागत गरी बधाई दिनका लागि जिसी आफ्नो निवास अर्गेलीमा थालीमा टिका र खादा लिएर पर्खिरहेका थिए।
नवनिर्वाचित ३१ वर्षिय पुनले १ हजार १ सय ३७ र जिसीले ९ सय ५ मत लिएका छन्। झिमरुका निर्वाचित वडाध्यक्षहरुमध्ये पुन यूवा अध्यक्ष हुन्। गाउँको विकासमा साझा धारणा बनाएर अघि बढ्ने पुनले प्रतिवद्धता जनाएका छन्।