पर्साको १४ मध्ये १३ पालिकाको उपप्रमुखमा नयाँ अनुहार
वीरगन्ज : पर्सा जिल्लाका १४ पालिका मध्ये १३ पालिकाको उपप्रमुखमा पनि नयाँ अनुहार चुनिएका छन्। वीरगन्ज महानगरसहित १३ वटा पालिकाको उप्रमुखमा यसअघि जितेका मध्ये कोही पनि दोहरिएका छैनन्।
१४ पालिका मध्ये एकमात्र पटेर्वासुगौली गाँउपालिकाको उप्रमुखमा यसअघि निर्वाचित नेपाली कांग्रेसकी ममता महत्तो थारु मात्रै पुन: दोश्रो कार्यकालका लागि दोहोरिएकी छन्। बाँकी १३ पालिकाको उपप्रमुखमा, प्रमुखको जस्तै नयाँ अनुहार निर्वाचित भएका हुन्।
पर्साको १४ पालिकाका प्रमुखमा पनि छिपहरमाइ गाँउपालिकाबाहेक अन्य बाँकी १३ वटा पालिकाको प्रमुख नयाँ अनुहार विजयी भएका छन्। छिपहरमाइ गाँउपालिका प्रमुखमा यसअघिको निर्वाचनमा माओवादी केन्द्रबाट जितेका मनोज गुप्ता, यसपालि पनि एमालेको उम्मेदवार बनेर विजयी भए।
यस्तै उपप्रमुखमा पनि १४ मध्ये १३ पालिकाको उप्रमुखमा नयाँ अनुहार चुनिएका छन्। पर्साका निर्वाचत २४ पालिका उपप्रमुख मध्ये महिला १३ जना छन् भने पुरुष १ जना मात्रै छन्।
२०७४ को निनर्वाचनबाट उपप्रमुखमा निर्वाचित १४ मध्ये यसपटकको निर्वाचनमा पनि १ जनाले पालिका प्रमुखमा र ५ जनाले उपप्रमुखमा उम्मेदवारी दिएका थिए। तर ती मध्ये पटेर्वासुगौली गाँउपालिकामा मात्रै कांग्रेसकी ममता महत्तोले उपप्रमुखमा दोश्रो कार्यकालका लागि दोहोरिने अवसर पाएकी हुन्। अन्य ५ जना भने पराजित भएका छन्। यसअघि उपप्रमुखमा निर्वाचित ८ जनाले यसपाली भने उम्मेदवारी नै दिएका थिएनन्।
वीरगन्ज महानगरपालिकाको उपप्रमुखमा कांग्रेसका इम्तियाज आलम ३०७८ मतका साथ निर्वाचित भएका छन्। उनका निकटतम प्रतिस्पर्धी लोसपाका पुरुषोत्तमलाल झाले भने ९५६८ मत मात्रै पाए। २०७४को निर्वाचनमा उपप्रमुख निर्वाचित कांग्रेसकी शान्ति कार्कीले भने यसपाली चुनावी प्रतिस्पर्धामा भाग नै लिइनन्।
पोखरीया नगरपालिकाको उपप्रमुखमा एमालेकी रुवी कुमारी ठाकुर ५१९५ मतका साथ विजयी भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी रेहना खातुनले ३९२९ मत मात्रै पाइन्। त्यहाँ यसअघि उपप्रमुख पदमा निर्वाचित सल्मा खातुनले भने यसपाली चुनावी प्रतिस्पर्धाम भाग नै लिइनन्।
पर्सागढी नगरपालिकाको उपप्रमुखमा एमालेकी पूजा चौधरी ७६१६ मतका साथ निर्वाचित भएकी छिन्। उनकी निकटम प्रतिद्वन्द्वी निवर्तमान उपप्रमुख एंव कांग्रेसकी उम्मेदवार अर्चना चौधरीले ३ हजार ४ सय ३० मत मात्रै पाइन्।
बहुदरमाइ नगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुष्मा कुमारी कुशवाहा ६४४० मतका साथ निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सोनामति देवी यादवले ५५२५ मत मात्र पाइन् । त्यहाँ यसअघि निर्वाचित उपप्रमुख गायत्री देवीले पनि यसपाली चुनाव लडिनन्।
सखुवाप्रसौनी गाउँपालिकाको उपप्रमुखमा जसपाकी शर्मिला बिष्ट ४४६८ मतका साथ निर्वाचित भएकी छिन्। उनकी निकटतम प्रतिस्पर्धी निवर्तमान उपप्रमुख एंव एमाले उम्मेदवार फुलमति कुमारी थरुनीले भने ४२५६ मत मात्रै पाइन्।
जगरनाथपुर गाँउपालिकाको उपप्रमुखमा कांग्रेसकी बबीता सिंह ५५३१ मतका साथ निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार मीरादेवी कुर्मीले ३३४५ मत मात्रै पाइन्। त्यहाँ उपप्रमुखमा मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जसपा उम्मेदवार जलेखा खातुन भने ३१२३ मत पाएर तेश्रो स्थानमा सिमित भइन्। त्यहाँ यसअघि उपप्रमुखमा निर्वाचित बिस्मिल्लाह खातुनले भनने चुनाव नै लडिनन्।
छिपहरमाइ गाँउपालिकाको उपप्रमुखमा कांग्रेसकी लीलावती देवी कानु ३८०१ मतका साथ निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी उम्मेदवार एंव निवर्तमान उपाध्यक्ष मोदीना खातुनले भने ३५९० मत मात्रै पाइन्।
बिन्दवासिनी गाउँपालिकाको उपप्रमुखमा एमालेकी ज्योति देवी चौरसिया २३६६ मत ल्याएर निर्वाचित भएकी छन्। उनको निकटतम् प्रतिद्वन्दी माओवादी केन्द्रकी सुनिता चौरसियाले २२८७ मत मात्रै प्राप्त गरिन्। त्यहाँ निवर्तमान उपप्रमुख एवं कांग्रेस उम्मेदवार किरण देवी गुप्ता २२८१ मतका साथ तेश्रो स्थानमा रहिन्।
पकाहामैनपुर गाउँपालिकाको उप्रमुखमा कांग्रेसकी सरफुन नेशा ४१४१ मतका साथ निर्वाचित भएकी छन्। उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी निर्मला कुमारी चौरसियाले भने १८७२ मत मात्रै प्राप्त गरिन्। त्यहाँ यसअघि निर्वाचित उपप्रमुख कुशमी देवीले भने चुनाव नै लडिनन्।
कालिकामाई गाउँपालिकाको उपप्रमुखमा कांग्रेसकी राजमति बरैनी ३९८२ मतका साथ निर्वाचित भएकी छिन्। उनका निकटम प्रतिद्वन्द्वी जसपाकी सहानी खातुनले ३८५९ मत पाएकी छिन्। कालीकामाइ गाँउपालिकामा यसअघि उपप्रमुखमा निर्वाचित भएका राजेशकुमार चौरसीयाले यसपालि भने एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका थिए। तर उनी पनि १३१७ मत पाएर तेश्रो स्थानमा रहि पराजित भएका छन्।
जीराभवानी गाँउपालिकाको उपप्रमुखमा कांग्रेसकी रेखा चौधरी ४७१० मतका साथ निर्वाचित भएकी छिन्। उनकी निटकतम प्रतिद्धन्द्धी निवर्तमान उपप्रमुख एवं एमालेकी उम्मेदवार उषादेवी थरुनीले भने २९६५ मत मात्रै पाइन्।
धोविनी गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मञ्जु देवी ३१४३ मतका साथ निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी जसपाकी प्रियंकादेवी यादवले भने २५७७ मत मात्रै पाइन्। त्यहाँ यसअघिको निर्वाचनमा उपप्रमुखमा जितेका पारसनाथ कुर्मीले यसपाली भने चुनाव नै लडेनन्।
ठोरी गाउँपालिकाको उपाध्यक्षमा एमालेकी गोकुली कुमारी रेग्मी ४२५९ मतका साथ निर्वाचित भएकी हुन्। उनकी निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी निरु तामांगले भने ३०४३ मत मात्रै पाइन्। त्यहाँ यसअघि माओवादी केन्द्रबाट निर्वाचित शान्तिमाया थिंगले भने यसपटकको निर्वाचनमा भाग नै लिइनन्।