लोमान्थाङमा तिजी पर्वको तयारी

लोमान्थाङमा तिजी पर्वको तयारी

जोमसोम : उत्तरी चिनसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजीको भव्य तयारी भइरहेको छ। लोछोदिन समूदायका महान धार्मिक तथा सांस्कृतिक पर्व तिजी शुक्रबारदेखि आइतबार ३ दिनसम्म मनाइने छ।

तिब्बती कलासंस्कृतिसँग उस्तै गरी मेल खाने तिजी पर्व लोछोदिन समुदायका मानिसले महान पर्वको रुपमा लिने गर्छन्। उपल्लो मुस्ताङमा मनाइने तिजी पर्व १५ औ शताब्दीदेखि सुरुआत भएको भन्ने भनाइ छ। तिजी पर्व इतिहास दोर्जी स्युनु अर्थात बज्रकिलाको जीवन कथामा आधारित छ। ऐतिहाासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको तिजी पर्व मुस्ताङी पूर्व राजाको दरबार परिसरमा मनाइने गरिन्छ। लोमान्थाङ स्थित छोदे गुम्बाका लामाहरुले आपसमा सहकार्य गर्दै तिजी पर्वमा विभिन्न सांस्कृतिक नृत्य प्रर्दशन गर्ने गर्छन्।

छोदे गुम्बा र स्थानीय समुदायको व्यवस्थापनमा आयोजना हुने परम्परागत तिजी पर्वमा लोघेकर दामोदरकुण्डको घिलिङदेखि कोरलानाकासम्मका गाउँमा बसोबास गर्ने बिष्ट, गुरुङ र लोहा समुदायका मानिसहरु तिजी पर्वमा उपस्थित हुन लोमान्थाङमा भेला हुने गर्छन्।  लोमान्थाङमा ३ दिनसम्म मनाइने तिजी पर्वमा लोछोदिन समुदायका मानिसले संयुक्त रुपमा पूजाआजा गर्ने चलन छ। तिजी पर्वमा छोदे गुम्बाका लामाहरुले विभिन्न देवीदेवता र राक्षसहरुको मुकुट लगाएर नृत्य प्रर्दशन गर्छन्। तिजी पर्वमा लामाहरुले प्रस्तुत गर्ने देवीदेवताको नृत्य अवलोकन गर्नाले धार्मिक मोक्ष प्राप्त हुने जनविश्वाश छ। तिजी पर्वमा विश्वशान्तिको कामना गरिने, प्राकृतिक प्रकोप र अनिष्ठ नहोस् भन्ने कामना गर्दै लामाहरुबाट धार्मिक पूजापाठ गरिने गरिन्छ।

शुक्रबारदेखि सुरु हुने तिजी पर्व अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक उपल्लो मुस्ताङतर्फ आउने क्रम बढेको लोमान्थाङ स्थित होटल हिमालयनका प्रोपाइटर गोम्पो गुरुङले जानकारी दिए। लोमान्थाङमा २ दिनदेखि विदेशी पर्यटकको चहलपहल बाक्लिएको उनले बताए। लोमान्थाङमा रहेका ३ दर्जन होटल अहिले विदेशी पर्यटकले भरिएको पर्यटन व्यवसायी गोम्पो गुरुङले जनाए। लोमान्थाङमा आयोजना हुने तिजी पर्व अवलोकन गर्न अमेरिका र भारतीय अधिकारीहरु त्यसतर्फ जाँदैछन्। उपल्लो मुस्ताङको मौलिक कलासंस्कृति , भेषभुषा र प्राकृतिक फरक भुगोल दृष्यावलोकन गर्न विदेशी पर्यटक अध्यागमन विभागलाई ५ सय डलर रोयल्टी तिरेर त्यसतर्फ जाने गर्छन्।

लोछोदिन समुदायको धार्मिक महान पर्व तिजीले उपल्लो मुस्ताङी समुदायलाई एकताको सुत्रमा बाध्न प्रेरित गरेको मुस्ताङी सांस्कृतिक राजा जिग्मे सिङ्मे पलवर बिष्टको भनाइ छ। विगत ३ वर्षदेखि स्वास्थ्यका कारण काठमाडौंमा बस्दै आएका मुस्ताङी सांस्कृतिक राजा बिष्ट आफू उपस्थित हुन नसके पनि उपल्लो मुस्ताङीलाई हर्षउल्लासमय वातावरणमा तिजी पर्व मनाउन शुभकामना व्यक्त गरेका छन्। यस्तै गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्ट र लोघेकर दामोदरकुण्ड गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले तिजी पर्वको शुभकामना दिएका छन्। उनीहरुले उपल्लो मुस्ताङ सांस्कृति धरोहर रहेको र त्यहाको मौलिकता, पहिचान, संस्कृति , सभ्यता, भौगोलिक विविधिता, जैविक विविधता र स्थानीय जिवनशैलीले पर्यटन प्रर्वद्धनमा योगदान पुर्‍याएको बताए।

लोमान्थाङमा तिजी पर्वको भव्य तयारी स्वरुप त्यहाको युवाक्लव, आमा समुह, स्थानीय तह, एक्याप र गाउँलेहरुले आपसमा मिलेर गाउँ टोल र दरबार आपसमा सरसफाइ गरी चिटिक्क पारेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.