मिथिलाका सबै महिलालाई साक्षर बनाइने
ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाकी नवनिर्वाचित उपमेयर सुनिता सिंह बुढाथोकीले नगर भित्रका सबै महिला साक्षर हुनुपर्नेमा जोड दिएकी छिन्। औपचारिक शिक्षा प्राप्त नगरेका महिलाहरुलाई साक्षर बनाउन अभियान चलाइने बताएकी हुन्।
अन्नपूर्णसँग कुराकानी गर्दै उपमेयर बुढाथोकीले भनिन्, ‘नगर भित्रका शतप्रतिशत महिला साक्षर हुनुपर्छ। कोही पनि निरक्षर नहुने वातावरणको निर्माण गर्छु। त्यसको लागि छिट्टै नि:शुल्क अभियान चलाउँछौं।’ उनले औपचारिक शिक्षा प्राप्त नगरेका महिलाहरुका लागि नि:शुल्क साक्षर कार्यक्रम सञ्चालन गर्न आफूले निर्णयसमेत गरिसकेको बताईन्।
पदभार ग्रहण गर्दै आफूले तीनवटा निर्णय गर्दै नगरपालिकाको टिप्पणी आदेशमा हस्ताक्षर गरेको उपमेयर बुढाथोकीले जानकारी दिइन्। उनले हरेक वडाका एकजना गरिब, जेहेन्दार विद्यार्थीलाई वडा कार्यालयको सिफारिसमा आफ्नो व्यक्तिगत तर्फबाट छात्रवृति दिने निर्णय गरेको सुनाइन्।
लैंगिक समानतालाई जोड दिँदै महिला सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने भनेर पनि निर्णय गरिएको उपमेयर बुढाथोकीको भनाइ छ।