तारा एयरको जहाज अझै अज्ञात, सैनिक प्रवक्ता भन्छन्- दुर्घटनाको अनुमान गरिए पनि पुष्टि भएको छैन
मुस्ताङ : पोखराबाट जोमसोमतर्फ उडेको तारा एअरलाइन्सको जहाज थासाङ गाउँपालिका-२ को पानीपाथी क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ। आइतबार बिहान ९:५५ बजे उडेको तारा एअरको जहाज मुस्ताङ क्षेत्रमा प्रवेश गरिसकेपछि बिहान १०:१० मिनेटमा पछिल्लो सम्पर्क जोमसोम नागरिक उड्यन कार्यालयसँग भएको नागरिक उड्यन कार्यालयले जनाएको छ।
१३ नेपाली र ४ भारतीयसहित ७ जना विदेशी पर्यटक बोकेर उडेको जहाज १०:१५ बजे अवतरण हुनुपर्नेमा सम्पर्कविहीन भएको थियो।
गृह मन्त्रालयको पहलमा नेपाल टेलिकम बाग्लुङसँग पाइलटको मोबाइलबाट टावर कनेक्सन गर्दा मुस्ताङको थासाङ गाउँपालिका-२ को धौलागिरि र मानापाथी हिमालको फेदमा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।
दुर्घटना आशंका गरिएको क्षेत्रमा बिहान १० बजेदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेकाले जहाज खोज्न रेस्क्यु गर्ने काममा बाधा पुगेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
मुस्ताङको आकाशमा सम्पर्कविहीन आशंका गरिएको स्थानमा जहाज खोज्न हवाई मार्गबाट सम्भव नभए पनि स्थालगतरुपमा स्थानीय र सुरक्षाकर्मीबाट पैदल मार्च गर्ने काम भइरहेको प्रजिअ शर्माले जानकारी दिए।
त्यस्तै फिस्टेल एअरको हेलिकोप्टर ३ पटकसम्म प्रयास गरे पनि मौसम प्रतिकुलता कारण जहाज खोज्ने काम सफल हुन सकेन। त्यस्तै नेपाली सेनाको हेलिकोप्टर रेस्क्यु गर्न मुस्ताङ आइपुगेको छ। कास्की प्रशासनको समन्वयमा कैलाश र इएर डाइनोष्टिकको हेलिकोप्टर पनि साँझ ५ बजे मुस्ताङको नाउरिकोट अवतरण गरेको प्रशासनले जनाएको छ। प्रजिअ शर्माले जहाज खोज्न ३ वटा माउन्टेन हेली तयारी अवस्थामा रहेको जानकारी दिए।
स्थानीय प्रशासनको समन्वयमा बेपत्ता जहाज खोज्न ३ वटै सुरक्षा निकाय परिचालन गरिए पनि मौसम प्रतिकुलताका कारण सबै प्रयास असफल भएको प्रहरी नायव उपरिक्षक रामकुमार दानीले जानकारी दिए। सुरक्षा र स्थानीयको संयुक्त टोली परिचालन भएको बताइएको छ।
नेपाल टेलिकमले मोबाइल ट्र्याकिङअनुसार समुन्द्री सतहदेखि ५ हजारदेखि ५५ सय मिटरको उचाईको क्षेत्रमा तारा एअरको जहाज दुर्घटनाग्रस्त भएको अनुमान गरिएको छ। स्थानीय प्रशासनका अनुसार सोमबार बिहान ५ बजेदेखि नै जहाज खोजतलाश गर्ने कामलाई तिब्रता दिने बताइएको छ।
धौलागिरी र मानापाथी हिमालको बीचमा जहाजको आवाज आफूले प्रत्यक्ष सुनेको र जहाजको आवाज सुन्दा जहाजले गलत दिशातर्फ मोडिएको जनआर्दश अमरसिंह माविका शिक्षक गरिसिंह शेरचनले जानकारी दिए।
उनले यार्सा टिप्ने र चौरी गोठालासँग फोन सम्पर्क गर्दा जहाज धौलागिरी र मानापाथी हिमालको फेदमा पर्ने लाङ्की खोलाको शिरमा दुर्घटना भएको हुनसक्ने अनुमान गरे।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि थासाङको मानापाथी हिमालको तल लाङ्की खोला आसपासको क्षेत्रमा स्थानीयले आगो बलेको देखेको र त्यहा दुर्घटनाको अनुमान गरिएको बताए। तर जहाज दुर्घटना कहाँ भएको भन्ने अझै पुष्टि हुन नसकेको उनले बताए।