अधुरै रह्यो मुक्तिनाथ दर्शन

अधुरै रह्यो मुक्तिनाथ दर्शन

जनकपुरधाम/ढल्केबर (धनुषा) : धनुषाको मिथिला नगरपालिका–११ लोटाकी शान्तिमाया र कान्तिमाया तामाङको आँसु नथामिएको सोमबार दुई दिन भयो। बुबा मकरबहादुर तामाङसहित ७ जना आफन्त गुमाएपछि उनीहरूलाई ढाडस दिने परिवारका सदस्य छैनन्।

छिमेकी पुगेर सम्झाउने प्रयास गर्छन् तर, उनीहरूसँग पनि के भनेर सम्झाउने शब्द छैन। आइतबार बिहानै तारा एयरको जहाज सम्पर्कविहीन भएपछि शान्तिमाया र कान्तिमायाको होस उडेको थियो। उक्त जहाजमा बुवा मकरबहादुरसहित फुपूका छोरा राजन तामाङ (गोले) र उनका परिवारका सदस्य पनि थिए। 

सोमबार बिहान जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र सबैको मृत्यु भएको खबर गाउँमा पुग्दासम्म पनि उनीहरूलाई ढाडस दिन र मन थमाउन छिमेकीको भीड थियो। शान्तिमायाको आँसु पुच्छदै एक महिलाले सम्झाउँदै थिइन्, ‘प्लेन भेट्यो तर, आगो लागेको छैन रे! सबैजना राम्रै गरी भेटिनुहुन्छ। घर फर्किनुहुन्छ।’ तर, उनको भनाइ झुटो भयो। सबैले ज्यान गुमाए। 

शान्तिमायालाई उनका भाइ (फुपूको छोरा) राजन गोलेले म्यासेन्जरमा पठाएको फोटोहरू हेर्दै सोमबार पनि रोइरहिन्। जहाज चढ्नुअघि राजनले बुबाआमा, काकाकाकी र मामामाइजूको सामूहिक फोटो खिचेर शान्तिमायाको म्यासेन्जरमा पठाएका थिए। चाँडै मुक्तिनाथको दर्शन गरेर फर्कने बताएका थिए। तर, दर्शन गरेर मामाघर पुग्ने सपना जहाजसँगै गुम्यो। राजनसहित धनुषाको मिथिला नगरपालिका–११ लोटा गाउँका ७ जनाले ज्यान गुमाए। सातैजना आफन्तभित्रका थिए। राजनकुमार गोले, उनका बुवा इन्द्रबहादुर, आमा राममाया, काका पुरुषोत्तम, काकी तुलसादेवी, मामा मकरबहादुर र माइजू सुकुमाया मुक्तिनाथको दर्शन गर्न गएका थिए। एउटै गाउँका त्यसमा पनि सबै आफन्तको मृत्यु भएपछि अहिले गाउँ नै सोकमा डुबेको छ। राजन नेकपा एकीकृत समाजवादी पार्टीका धनुषा जिल्ला सदस्यसमेत हुन्।

काठमाडौंको गोकर्णेश्वरमा बस्दै आएका राजनले केही दिनअघि परिवारका वृद्धवृद्धालाई मुक्तिनाथ दर्शन गराउन लैजाने योजना बनाएका थिए। सोही योजना अनुरूप गाउँबाट आमाबुबा, मामामाइजू सहितका आफन्तलाई लिएर शुक्रबार काठमाडौंं हुँदै विमानबाट शनिबार पोखरा पुगेका थिए। दिदी शान्तिमायाका अनुसार सबैजना राति पोखराको एक होटलमै बास बसे। आइतबार बिहानै मुक्तिनाथ दर्शन गरेर सोही दिन काठमाडौं फर्किने योजना राजनले शान्तिमायालाई सुनाएका थिए।

वृद्ध बुबाआमासँगै परिवार तथा आफन्तमा पर्ने अन्य ज्येष्ठ सदस्यहरूलाई मुक्तिनाथको दर्शन गराउन राजन निकै उत्सुक थिए। राजनमात्रै होइन मुक्तिनाथ दर्शनका लागि हिँडेका उनका परिवारका सदस्यहरू पनि असाध्यै खुसी थिए। तर, उनीहरू खुसी बनेको त्यो मुहार पुनः फर्किएर धनुषा पुगेन।  अहिले परिवार र गाउँले शवको पर्खाइमा छन्।

परिवार र आफन्तलाई तिर्थयात्रा गराउन निस्किएका राजन काठमाडौंमा बस्दै आएका थिए। उनी धेरैजसो  गाउँ पुग्थे। अधिकांश सामाजिक काममा सहभागि रहन्थे। उनले बुबाआमालाई पनि काठमाडौंंमै राखेर सेवासत्कार गर्दै आएका थिए। श्रीमती, अन्दाजी पन्ध्र वर्षीया छोरी र १० वर्षका छोरा छन्। उनीहरू पनि काठमाडौंमै बस्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.