किन खस्छन् जहाज ?

किन खस्छन् जहाज ?

 काठमाडौं : पोखराबाट आइतबार बिहान जोमसोम उडेको तारा एयरको जहाज मुस्ताङमा दुर्घटना भयो। जहाजमा सवार २२ मध्ये २१ को ज्यान गयो। एकको अवस्था अझै अज्ञात छ। कोभिड महामारीपछि नेपाली आकाशमा विमान दुर्घटना भई मानवीय क्षति भएको यो पहिलो घटना हो। यसअघि २०७७ मा नेपाल एयरलाइन्सको जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना भएको थियो। तर, मानवीय क्षति भने भएको थिएन। 

नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी रिपोर्ट २०२१ लाई आधार मान्ने हो भने हालसम्म नेपालमा १ सय ७ वटा विमान दुर्घटना भए। यी दुर्घटनामा ८ सय ६७ भन्दा बढीले ज्यान गुमाए। ती दुर्घटनामा करिब ६ सय ९० जना भने बाँच्न सफल भएको उक्त रिपोर्टमा उल्लेख छ। हालसम्म आन्तरिक विमानमा मल्टिइन्जिन विमान ५२ र सिंगल इन्जिन जहाज ८ वटा दुर्घटनामा परे। बाह्य विमान ९, हेलिकप्टर ३६ र मनोरन्जनात्मक ३ वटा विमान दुर्घटना भएका छन्। उक्त तथ्यांकलाई नै आधार मान्ने हो भने हरेक वर्ष सरदर करिब १२ जनाले विमान दुर्घटनामा ज्यान गुमाउने गर्छन्।

सन् १९४९ मा नेपालका लागि भारतीय राजदूत सर्जित सिंह महाथिया चढेको बोनान्ज एयरक्राफ्ट नेपालमा अवतरण गरेको सबैभन्दा पहिलो विमान मानिन्छ। ४ सिटे क्षमताको उक्त विमान काठमाडौंको गौचरणमा अवतरण भएको थियो। त्यसको पछिल्लो वर्ष सन् १९५० मा हिमालयन एभिएसनले गौचरणदेखि भारतको कलकत्तासम्म चार्टर्ड उडान गरेको प्राधिकरणको तथ्यांक छ। सन् १९५५ मा राजा महेन्द्रले गौचरण विमानस्थल स्थापना गरे। पछि त्यसलाई नै त्रिभुवन विमानस्थल नामाकरण गरिएको हो।

सन् १९५५ (२०१२ साल) कांलिगा एयरको विमान नेपालको सिमरामा दुर्घटना भएको इतिहास प्राधिकरणसँग छ। त्यसलाई नै आधार मान्ने हो भने विमान दुर्घटनाको सिलसिला ६७ वर्षदेखि चलिरहेको देखिन्छ। विमान दुर्घटनाको यति लामो इतिहास बोकेको नेपाली आकाश कत्तिको सुरक्षित छ त भन्ने आममानिसमा प्रश्न आउने गर्छ। नेपालको भौगोलिक बनावट, मौसमी परिवर्तन, मानवीय त्रुटि जस्ता कारणले गर्दा नेपालमा विमान दुर्घटना हुने गरेको प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्र देउजा बताउँछन्। भन्छन्, ‘जहाज उड्ने बेलासम्म भिजीबीलिटी सही भइरहेको हुन्छ र बाटोमा गएपछि एक्कासि डाँडापाखामा मौसमी बदली हुँदा पनि दुर्घटनाको जोखिम बढ्न जान्छ।’ योदेखि बाहेक मेकानिकल साथै जहाजको अवस्था जस्ता पक्षले पनि दुर्घटनाको केही जोखिम बहन गर्ने उनको तर्क छ। 

नेपालको भौगोलिक अवस्थाका कारण धेरैजसो हवाई दुर्घटनाहरू हुने गरेका छन्। त्यसमा पनि पछिल्ला दिनहरूमा यसको कारण खराब मौसम, विमान चरासँग ठोक्किनु र प्राविधिक कारण लगायतबाट एकपछि अर्को दुर्घटनाहरू थपिने गरेको विभिन्न अनुसन्धानले देखाएको छ। नेपालमा हुने ९८ प्रतिशत हवाई दुर्घटना मानवीय त्रुटिका कारण हुने गरेको तथ्यांक छ। मानवीय त्रुटिमा विशेषगरी पाइलटले गर्ने गल्तीहरूलाई औंल्याइको छ। विमानमा हुने ब्लाक बक्समा आवाज पनि रेकर्डिङ हुने र त्यसमा आधाघन्टा अघिसम्म आवाज रेकडिङ हुने हुँदा त्यहाँबाट पाइलटको प्रतिक्रियाबाट नै दुर्घटनाको कारण पत्ता लगाउन सकिने विज्ञ बताउँछन्।

तारा एयरको जहाज दुर्घटनामा परी मृत्यु भएका १० जनाको शव बोकेर सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको नेपाली सेनाको हेलिकप्टरबाट शव झिकिँदै। तस्बिर : दिपेन श्रेष्ठ

मौसम प्रतिकूल हुँदाहुँदै उडाउन सक्छु भन्ने बढी आत्मविश्वासका कारण जहाज दुर्घटना हुने गरेको अघिल्ला घटनाक्रमले देखाउने नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्मा बताउँछन्। जहाज आकाशमा त्यसै उड्दैन। एयर ट्राफिक कन्ट्रोलले उडान क्षेत्रभित्र पर्ने हरेक एरियाको हावाको बेगदेखि सानोभन्दा सानो गतिविधिका बारेमा पाइलटलाई जानकारी गराइरहेको हुन्छ। त्यसमा पाइलटको लापरबाही र उडाउनै पर्छ भन्ने दबाबका कारण पनि विमान दुर्घटना हुने गरेको शर्माको तर्क छ। 

नेपालमा वर्षा सुरु हुनुअघि र वर्षा पछिको समयमा बढी विमान दुर्घटना हुने गरेको अघिल्ला घटनाक्रमले देखाउँछ। तारा एयरको जहाज दुर्घटना भएको समय पनि वर्षा सुरु अघिको समय हो। त्यसदिन पनि प्रतिकूल मौसमका बाबजुद विमान उडाइएको देखिएको प्रारम्भिक अध्ययनले देखाएको प्राधिकरण स्रोतको भनाइ छ। तारा एयरको विमान दुर्घटनास्थलनजिक पुगेपछि मौसमका कारण विमान मोडेर पोखरा नै फर्काउन खोज्दमा दुर्घटना भएको प्रारिम्भक बुझाइ भएको स्रोत बताउँछ।

यसमा पनि मानवीय त्रुटि नै दोहोरिएको देखिन्छ। अघिल्ला दुर्घटनामा भएका गल्तीहरूलाई नदोहोर्या‍उने र भौगोलिक विकट स्थानमा उडान भर्दा थप सतर्कता अपनाउन जरुरी भएको प्राधिकरण कै पूर्वमहानिर्देशक त्रिरत्न मानन्धर सुझाउँछन्। प्राधिकरणले पहिला नै त्रुटि नहोस् भनेर तयारी भने गरेको हुने उनको तर्क छ। 

नेपाली आकाश असुरक्षित भनिरहँदा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले गत महिना जारी गरेको पछिल्लो प्रतिवेदनमा हवाई सुरक्षा मापदण्ड परिपालनमा नेपालको अंक विश्वव्यापी मापदण्डभन्दा बढी देखाएको छ। हवाई सुरक्षामा अरू मुलुकहरू ६५ अंकदेखि ६८ को बीचमा रहँदा नेपालको भने ७० प्रतिशतभन्दा माथि रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता शर्मा बताउँछन्। दुई साता लगाएर आईकाओले नेपालको हवाई सुरक्षा स्तरसम्बन्धी विभिन्न विषयको जाँच गरेर उक्त प्रतिवेदन सार्वजनिक गरेको उल्लेख छ। आईकाओकोका अनुसार नेपालको मापदण्ड परिपालनको औसत दर ७०.१ प्रतिशत छ।

यसकारण नेपालका विमान कम्पनीहरूले सुरक्षा नअपनाएको भन्ने तर्क सही नभएको प्रवक्ता शर्मा बताउँछन्। ‘आईकाओको गाइडलाइन्स मानेर नै नेपाली उड्डयन क्षेत्र चलेको छ। आन्तरिक विमान कम्पनीहरूको पनि लापरबाही देखिँदैन। प्राधिकरणले चेकजाँच गर्छ। सेफ्टी अडिट हुन्छ,’ उनी भन्छन्। साथै विमान पुरानो नहुने र यसका सबै पार्ट अवधी सकिएपछि परिवर्तन गर्नै पर्ने भएकाले अन्य कारणले विमान दुर्घटना हुने गरेको शर्माको तर्क छ।  

कुन वर्ष कति विमान दुर्घटना, 

सन् २०१३ मा एकै वर्ष ४ विमान दुर्घटना भएको थियो। सबैभन्दा बढी यो वर्ष विमान दुर्घटना भएको बताइन्छ। सन् २०११ मा २ र सन् २०१२ मा ३ विमान दुर्घटना परे। त्यसपछि आईकाओको प्रतिवेदनको आधारमा युरोपियन युनियन (ईयू) ले सन् २०१३ मा नेपाली विमान कम्पनीहरूलाई कालोसूचीमा राखेको थियो। त्यसपछि ईयू आबद्ध करिब २७ मुलुकमा नेपालले विमान उडान पाउँदैन।

तस्बिर : सुनीता डंगोल

त्यसको ५ वर्षपछि हवाई सुरक्षाको स्तर सुधारिएको भन्दै आईकाओले कोलोसूचीबाट हटाए पनि हालसम्म ईयूले भने कालोसूचीबाट हटाएको छैन। आईकाओले सुरक्षासम्बन्धी निर्धारण गरेको अन्तर्राष्ट्रिय औसत मापदण्ड ६० प्रतिशत छ। सन् २०१७ मा नेपालको हवाई सुरक्षाको औसत ६६ प्रतिशत थियो। आईकाओको पछिल्लो प्रतिवेदनबाट ईयुको कालोसूचीबाट हट्ने अपेक्षामा रहेको नेपालको उड्डयन क्षेत्रमा पछिल्लो विमान दुर्घटनाले संशक्ति पारेको छ।   

जहाज उड्ने बेलासम्म भिजीबीलिटी सही भइरहेको हुन्छ। बाटोमा गएपछि एक्कासि डाँडापाखामा मौसमी बदली हुँदा पनि दुर्घटनाको जोखिम बढ्ने गरेको छ। मेकानिकल साथै जहाजको अवस्था जस्ता पक्षले पनि दुर्घटनाको जोखिम हुन्छ।

वीरेन्द्र देउजा, पूर्वमहानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

दुर्घटनामा मानवीय त्रुटि नै दोहोरिएको देखिन्छ। अघिल्ला दुर्घटनामा भएका गल्तीहरूलाई नदोहो¥याउने र भौगोलिक विकट स्थानमा उडान भर्दा थप सतर्कता अपनाउन जरुरी छ। 
त्रिरत्न मानन्धर, पूर्वमहानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरण

आईकाओको गाइडलाइन्स मानेर नै नेपाली उड्डयन क्षेत्र चलेको छ। आन्तरिक विमान कम्पनीहरूको पनि लापरबाही देखिँदैन। प्राधिकरणले चेकजाँच गर्छ। सेफ्टी अडिट हुन्छ। त्यसैले अन्य कारणले विमान दुर्घटना भएको देखिन्छ।
योगराज कँडेल शर्मा, प्रवक्ता, नेपाल वायुसेवा सञ्चालक संघ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.