दुर्घटनाग्रस्त तारा एयरको ब्ल्याक बक्स भेटियो
जोमसोम : आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरे पहाडमा दुर्घटनाग्रस्त तारा एअरको ९ एनईटी जहाजको ब्ल्याक बक्स भेटिएको छ। तारा एअरको जहाज दुर्घटनास्थलमा पुगेर उद्दार कार्यमा खटिएको नेपाल नेशनल माउन्टेन पथप्रर्दशक एशोसियसनको टोलीले मंगलबार बिहान तारा एअर जहाजको ब्ल्याक बक्स भेट्टाएको हो।
सोमबारदेखि दुर्घटना क्षेत्रको पहिचान, उद्दार र शव संकलन गर्न माउन्टेन उपकरणसहित सानोसरे पुगेको एशोसियनको १० जना टोलीले जहाजको ब्ल्याक बक्स फेला पारेको नेपाल नागरिक उड्यन प्राधिकरणका एरोनटिकल ईन्जिनीयर हेमकुमार दाहालले जानकारी दिए। सानोसरे पहाडमा जहाज दुर्घटना भएका ठाउँमै ब्ल्याक बक्स फेला पारेको उनले बताए।
अहिले प्राधिकरणका एरोनटिकल ईन्जिनीयर दाहालसहितको टोलीले दुर्घटनास्थलबाट थासाङको कोवाङतर्फ स्थलमार्गबाट ब्ल्याक बक्स ल्याउँदै गरेको जनाए।‘ब्ल्याक बक्स ल्याउँदै छौं, कोवाङबाट हेलीबाट काठमाडौं लैजान्छौं।’एरोनटिकल ईन्जिनीयर दाहालले भने, ‘त्यसपछि फेला परेको जहाजको ब्ल्याक बक्स छानवीन समितिलाई बुझाउँछौ।’
जहाजमा जडान गरिएको ब्ल्याक बक्सले पाईलट गरेका सबै कुराकानीको अभिलेख रेकर्ड राख्ने भएकाले जहाज दुर्घटनाको कारण पत्ता लगाउन ब्ल्याक बक्सले सहयोग पुर्याउने नेपाल नागरिक उड्यन प्राधिकरणका एरोनटिकल ईन्जिनीयर दाहालले जानकारी दिए। जहाजले उडान भर्दा जहाज अवतरण गर्ने टावर र अन्य जहाजका पाईलटसँग गरिने सबै संवाद ब्ल्याक बक्सले रेकर्ड भण्डारण गर्ने भएकाले यो डाटा उपयोगी हुने अर्का एरोनटिकल ईन्जिनीयर प्रभाकर मल्लिकले उल्लेख गरे।