जसले गरे जोखिम मोलेर उद्धार

जसले गरे जोखिम मोलेर उद्धार

जोमसोम : पोखराबाट आइतबार जोमसोमतर्फ समिट एयरले पहिलो उडान भरेको थियो। फर्किएर दोस्रो उडान पनि भर्‍यो। त्यसको एक मिनेटपछि पोखराबाटै उडेको थियो तारा एयरको विमान। समिट बिहान १० : १४ बजे जोमसोम विमानस्थलमा अवतरण भयो। तारा १० :१५ बजे आइपुग्नुपर्ने थियो। म्याग्दीको घोरेपानी डाँडा छिचोल्दै मुस्ताङको आकाशसम्म आइपुगेको विमानको सम्पर्क एकाएक जोमसोम टावरसँग विच्छेद भयो। बिहान १० : ३० बजेसम्म पनि सम्पर्क हुन नसकेपछि विमानस्थलमा हल्लाखल्ला मच्चियो। जहाज कता गयो ? के भयो ? कस्तो अवस्थामा होला ? 

पोखराबाट हेलिकप्टर जोमसोम आइपुगेपछि सुरु भयो तारा एयरको जहाज खोजी। हेलिकप्टरले बिहान ११ :३० बजेदेखि थासाङ क्षेत्रको डाँडाकाँडामा पुगेर खोज्न थाल्यो। तीनपटकको प्रयास मौसम प्रतिकूलताका कारण सफल हुन सकेन। दिउँसो २ बजेतिर मुस्ताङ प्रशासनको समन्वयमा काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर कोवाङ आइपुग्यो। जोमसोमबाट प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, सशस्त्र प्रहरी नायव उपरिक्षक मोहनजंग कार्की र प्रहरी नायव उपरिक्षक रामकुमार दानीसहितको टोली कोवाङ पुग्यो। 

त्यस दिन थासाङको मानापाथी हिमाल र धौलागिरि हिमाल आसपास बाक्लो हुस्सु र कुहिरो मडारिएको थियो। हवाई मार्गबाट जहाज खोज्न सम्भव थिएन। साँझ ५ बजे दुई हेलिकप्टर नाउरिकोट आइपुगे। त्यसमा थिए नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका पथप्रदर्शकलगायत १० जना। टिम लिडर पासाङ टेन्डी शेर्पा थिए। उनीसहित पेम्बा तेन्जिङ लामा, रितेन टसी शेर्पा, कमी धोर्जे शेर्पा, पासाङ टेन्डिङ शेर्पा, ओङ्छु शेर्पा, नरेन्द्र शाही, इन्द्रसिंह शेरचन थिए। यस्तै, तारा एयरका सिनियर म्यानेजर राप्के शेर्पा र कर्मचारी पेम्बाछिरी शेर्पा थिए। 

सानोसरेनजिक जहाज खोज्न पुगेका विशाल घर्ती मगरले जहाज दुर्घटना भएको देखेको जनाइएको छ। जहाज टुक्रा–टुक्रा भएको देखेपछि मगरले पर्यटनकर्मी शेरचनलाई फोन गरे। शेरचनले पनि स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई दुर्घटनाबारे खबर पुर्‍याए। जोमसोमबाट तीनै सुरक्षा निकायका झन्डै ६० जनाको संयुक्त टोली सानोसरे पठाइयो। हेलिकप्टरबाट पनि सुरक्षाकर्मीलाई दुर्घटना क्षेत्रमा पुर्‍याइयो। संघले खटाएका पथप्रदर्शकसहितको टोली उद्धारमा जुट्यो। 

जो जोखिमपूर्ण भूगोलमा उद्धारको उपकरणसहित परिचालित थिए। उनीहरू नागरिक समुदायका तर्फबाट जोखिम मोलेर उद्धारमा अघि बढेका थिए। विदेशी पर्यटक लिएर हिमाल चढ्ने तालिमप्राप्त पर्वतारोही गाइडहरू मानवीय उद्धारका लागि उपकरणसहित त्यहाँ गएका थिए। साथै सेना, प्रहरीलगायत निकायका सुरक्षाकर्मी पनि खटिएका थिए। स्थानीय प्रशासनका अधिकारीसँग सोमबार बिहानदेखि जहाज खोज्ने सल्लाह भयोे। त्यसपछि सेनाको हेलिकप्टर जोमसोम बस्न गयो। ‘हामीलाई संघले यहाँ पठायो। हामी मानवीय सेवाभावले आयौं’,  पर्वतारोही पेम्बा तेन्जिङ लामाले भने। 

पर्वतारोहीको टोली पैदलै मानापाथी हिमाल क्षेत्रतर्फ उक्लियो। पथप्रदर्शकसहित पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनको टोली स्थलमार्ग हुँदै ६ घण्टामा बतासेडाँडा पुग्यो। त्यहाँ यार्सा खोज्न नौ जना पाल टाँगेर बसेका थिए। उद्धारमा खटिएकाहरू त्यो रात यार्सा टिप्नेसँगै पालमा बसे।

‘हामी दुर्घटनाको पहिलो दिन ६ घण्टा उकालो हिँडेर सानोसरेस्थित बतासेडाँडा पुग्यौं। सम्भावित भनिएको दुर्घटनाग्रस्त क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको थियो। हेलिकप्टरबाट दुर्घटना क्षेत्रको पहिचान गर्न मुस्किल थियो’, पर्यटन व्यवसायी शेरचनले भने, ‘तर, सुरक्षाकर्मी दोस्रो दिन दिउँसो मात्र दुर्घटना क्षेत्रमा आइपुगे। त्यस बेलासम्म दुर्घटनास्थलको पहिचान यार्सा टिप्ने व्यक्तिबाट भइसकेको थियो। त्यसैले सुरक्षाकर्मीलाई दुर्घटना क्षेत्र पहिचान गर्न भूमिका भएन।’

सानोसरेनजिक जहाज खोज्न पुगेका विशाल घर्ती मगरले जहाज दुर्घटना भएको देखेको जनाइएको छ। जहाज टुक्रा–टुक्रा भएको देखेपछि मगरले पर्यटनकर्मी शेरचनलाई फोन गरे। शेरचनले पनि स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई दुर्घटनाबारे खबर पुर्‍याए। जोमसोमबाट तीनै सुरक्षा निकायका झन्डै ६० जनाको संयुक्त टोली सानोसरे पठाइयो। हेलिकप्टरबाट पनि सुरक्षाकर्मीलाई दुर्घटना क्षेत्रमा पुर्‍याइयो। संघले खटाएका पथप्रदर्शकसहितको टोली उद्धारमा जुट्यो। 

मानापाथी हिमालको फेंदनजिकको सानोसरे अग्लो पहाडमा जहाज ठोक्किएको रहेछ। जहाज खसेको स्थानमा ८–१० शव भेटिए। शवहरू केही खोल्सा, केही भिरमा उछिट्टिएका देखिन्थे। निकै जोखिम र कष्ट खेपेर सुरक्षा निकायको सहयोगमा सोमबार दिउँसो २ बजेसम्म २० जनाको शव संकलन गरे। ‘सुरक्षाकर्मी नआउँदै हामीले १० वटा शव संकलन गरिसकेका थियौं’, शेरचनले भने, ‘दिउँसो १ बजे मात्र १८ जना सुरक्षाकर्मी हिँडेर दुर्घटनास्थलमा आएर हामीलाई सहयोग गर्नुभयो।’

दिउँसो २ बजेपछि मौसम बिग्रिएकाले शव खोज्ने काम स्थगन गरियो। त्यहाँ भिरालो सतहमा अड्किएको १ शव आँखाले देख्न सकिने भए पनि बाहिर निकाल्न कठिन भएकाले जम्मा २० शव मात्र संकलन भयो। सानोसरे लेकमा जम्मा भएका २० शवमध्ये १० शव हेलिकप्टरबाट कोवाङमा झारियो। त्यहाँ कानुनी मापदण्ड पूरा गरी सेनाको हेलिकप्टरले साँझ काठमाडौं पुर्‍यायो। लेंकमा बाँकी रहेको १० शव नेपाली सेना र प्रहरीको निगरानीमा आधार शिविरमा राखियो। 

पर्वतारोही पथप्रदर्शक मंगलबार पुन : खटिए। मंगलबार बिहान ८ बजेअगावै बेपत्ता १ शव पहाडको खोल्सामा भेटियो। अर्को भिरमा अड्किएको शव पनि बाहिर निकालियो। त्यस बेलासम्म अघिल्लो दिन संकलन गरिएका १० शव हेलिकप्टरबाट कोवाङ झारिसकेको थियो। थप २ शव पनि बिहान १० :३० बजे कोवाङमा ल्याइपुर्‍याइयो। त्यसपछि नेपाली सेनाको जहाजले बिहान ११ :०४ बजे कोवाङबाट १२ जनाको शव काठमाडौं लग्यो। सबै शव फेला परेपछि जहाजमा सूचना संकलन गर्न राखिएको ब्ल्याक बक्स फेला परेपछि नागरिक उड्डयन प्राधिकरणका कर्मचारीले काठमाडौं लिएर गए। 

आफ्नो टोलीले शव संकलन गरेको र त्यसको व्यवस्थापन सुरक्षा निकायले गरेको पर्वतारोही पेम्बाले बताए। शेरचनले संघको टिम र आफूले धेरै जोखिम मोलेर शव संकलन गरेको बताए। ‘हुन त सुरक्षा निकायले पनि शव व्यवस्थापनमा अथक मेहनत गरेका हुन्। यद्यपि हाम्रो रेस्क्यु टोली नभए शव निकाल्न निकै मुस्किल पथ्र्यो’, उनले भने, ‘सुरक्षा निकायसँग खासै प्रभावकारी रेस्क्यु उपकरण थिएन। जुन पर्वतारोहण टिमसँग थियो। सबैको सामूहिक प्रयासले शव रिकभरी गर्‍यौं। जस सुरक्षा निकाले मात्र पायो।’

दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना चढेका थिए । चालक दलमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेस क्रिस्मी थापा थिए।

प्रहरी नायव उपरीक्षक रामकुमार दानीले दुर्घटनास्थल पहिचान गर्न समय लागेको बताए। ‘मौसम प्रतिकूलताका कारण हेलिकप्टरमार्फत जान नसकेर लामो दूरी र उकालो भएकाले पैदल जाँदा ढिलो भयो’, दानीले भने। सेनासँग उद्धार सामग्री भएको र संघको टोलीसँग सहकार्य गरी काम गरेको उनले बताए। 

यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले संघका टिम लिडर पासाङ टेन्डी शेर्पासहितको टोलीले शव रिकभरी गरी मानवीय सेवाभाव जागृत गराएको बताए। उहाँहरूको कामको मूल्यांकन हुन सके विपद् उद्धारमा हौसला मिल्ने बर्तौलाको भनाइ छ। ‘शव संकलन गर्न सुरक्षा निकायसँग आवश्यक इकुमेन्ट छैन। संघको टोली नभए यति चाँडै शव संकलन हुने थिएन’, उनले भने, ‘उहाँहरूले आफ्नो ज्यान जोखिममा राखेर शव निकाल्ने काम गर्नुभएको छ।’ 

सामान हस्तान्तरण

तारा एयरको जहाज दुर्घटनास्थलमा भेटिएका सामान स्थानीय प्रशासनले कम्पनीलाई जिम्मा लगाएको छ। मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित सानोसरे पहाडमा जहाज दुर्घटनाग्रस्त भेटिएको थियो। दुर्घटनास्थल र त्यस वरपर भेटिएको नगदसहित जिन्सी सामग्री मंगलबार हस्तान्तरण गरिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।

यात्रुको साथमा रहेको झन्डै ३ लाख नगद र अन्य जिन्सी सामान फेला परेको थियो। दुर्घटना भएको स्थानबाट भारतीय रुपैयाँ ५ सय रुपैयाँ, २ सय, १ सय र ५० दरका कुल ९० हजार १ सय, नेपाली रुपैयाँ एकमुष्ठ १ लाख २४ हजार १ सय, युरो २० का १२ थान, युरो १० का ३ थान र युरो १ का १० थान भेटिएको प्रजिअ शर्माले बताए।

यात्रुले बोकेका क्यामेरा १, कम्प्युटर ल्यापटप ३, तिलहरी १, घडी १, दराजको चाबी थान २ र विदेशी पासपोर्ट थान ५ फेला परेको थियो। जहाजमा सवार सबै यात्रुको शव व्यवस्थापनपछि नगदसहितको जिन्सी सामग्री थासाङ गाउँपालिका जनप्रतिनिधि, स्थानीय प्रशासन, सुरक्षा निकाय र पत्रकारलगायतको रोहबरमा तारा एयरलाइन्सका काठमाडौंका सिनियर म्यानेजर राप्के छिरिङ शेर्पालाई हस्तान्तर गरिएको शर्माले बताए। तारा एयरलाइन्स कम्पनीलाई हस्तान्तरण गरिएको नगदसहितको जिन्सी सामग्री मृतकको नजिकको आफन्त पहिचान गरी सामानको जिम्मा लगाउने सम्झौता भएको प्रजिअ 
शर्माले बताए।

दुर्घटनाग्रस्त विमानमा चालक दलका तीन र १९ यात्रु गरी २२ जना चढेका थिए । चालक दलमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट उत्सव पोखरेल र एयरहोस्टेस क्रिस्मी थापा थिए। १९ यात्रुमा तुल्सादेवी तामाङ, सुकुमाया तामाङ (धनुषा), राममाया तामाङ (काठमाडौं), मकरबहादुर तामाङ (धनुषा), रोजिना श्रेष्ठ (गोरखा), रश्मी श्रेष्ठ (गोरखा), रविना श्रेष्ठ (गोरखा), गणेशनारायण श्रेष्ठ (गोरखा), राजनकुमार गोले (धनुषा), पुरुषोत्तम गोले (धनुषा), इन्द्रबहादुर गोले (धनुषा), प्रकाश सुनुवार (ओखलढुंगा), बसन्त लामा (काठमाडौं) थिए। यस्तै, मेइक ग्रिट ग्राफ (जर्मनी), वी विल्नर (जर्मनी), भाइभावी बान्डेकर (भारत), अशोककुमार त्रिपाठी (भारत), धनुष त्रिपाठी (भारत) र ऋतिका त्रिपाठी (भारत) थिए।  

जेठ दोस्रो साता मुस्ताङ घुम्न अनुकूल मौसम हुन्छ। असार सुरु हुनासाथ बेनी–जोमसोम सडक वर्षाले अवरुद्ध हुँदा मुस्ताङ आउजाउमा सास्ती हुन्छ। त्यसैले धेरैजसो पर्यटक वैशाख र जेठमा मुस्ताङ घुम्न आउँछन्। यो समय पर्यटकहरू पोखराबाट हवाई सेवामार्फत जोमसोम उत्रन्छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.