बेनी-जोमसोम-कोरला सडकमा चरम ढिलासुस्ती
मुस्ताङ : जोमसोम-उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला सडक स्तरोन्नतिमा ढिलासुस्ती देखिएको छ। सरकारले भारतीय नाकाबन्दीपछि व्यापार तथा पारवाहनमार्ग विस्तार गर्ने उद्देश्यले २०७३/०७४ सालमा बेनी–जोमसोम ७६ किमी र जोमसोम–कोरला ११० किमी सडक निर्माणको काम सुरु गरेको थियो।
कालिगण्डकी करिडोर अन्तर्गत निर्माण सुरु गरिएको बेनी-जोमसोम-कोरला सडकमा ठेकेदार कम्पनीको चरम लापरवाही र ढिलासुस्तीले सडक स्तरोन्नतिको काम प्रभावित बनेको छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्गत जोमसोम–कोरला सडकमा निर्माण भइरहेको ३ वटा पुल अहिले अलपत्र अवस्थामा परेको छ। ठेकेदारले काम नगर्ने, पाएको ठेक्काको मोबिलाइजेसन अन्यत्र लगानी गर्ने र बैंकको ब्याज खाने परिपाटीले गर्दा सडक तथा पुलको काममा ढिलासुस्ती हुने गरेको हो।
जोमसोम–कोरला सडक अन्तर्गत २०७५ साल भदौ ६ गते हिमढुङ एण्ड ठोक्कर इमोटल जेभी कन्ट्रक्सनले ३ वटा पुल निर्माणको ठेक्का लियो। कन्ट्रक्सनले मुस्ताङको मार्फा स्थित राजखोला र मुस्ताङको छुसाङ स्थित नरसिंह खोलामा पक्की पुल निर्माणका लागि एउटै ठेक्का २१ करोड र अर्को ठेक्का मुस्ताङको घमी खोलामा पक्की पुल निर्माण गर्ने अर्को सम्झौता गरेको थियो। ठेक्का सम्झौता हुँदा ५ प्रतिशत र निर्माण स्थलमा जनशक्ति तथा उपकरण परिचालन गर्दा ५ प्रतिशत गरी कुल ठेक्काको १० प्रतिशत ठेक्का मोबिलाइजेसन वापत सरकारले कन्ट्रक्सनलाई बजेट दिने गर्छ। यसरी दिएको बजेट ८० प्रतिशत काम सकिंदा ठेक्का मोबिलाइजेसन वापत लिएको बजेट चुक्ता गर्नुपर्ने प्रावधान छ।
तर मुस्ताङको मार्फा, छुसाङ र घमी खोलामा पुल निर्माणको जिम्मा लिएको हिमढुङ एण्ड ठोक्कर इमोटल जेभीले पुल निर्माणको काममा ढिलासुस्ती गरेपछि उक्त कन्ट्रक्सनको ठेक्का मोबिलाइजेसन वापत लिएको १ करोड ८४ लाख रुपैयाँ सरकारको नाममा फिर्ता लिएको बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए। उनले ठेक्का मोबिलाइजेनको रकम अन्तर्गत मार्फा र छुसाङको एउटै ठेक्काको १ करोड ११ लाख ५० हजार र घमी खोलाको ७२ लाख ५० हजार रकम कन्ट्रक्सनबाट फिर्ता लिइएको हो। कन्ट्रक्सनले अझै काममा ढिलासुस्ती भएमा थप कारवाही प्रक्रिया अघि बढाउने आयोजना प्रमुख प्रजापतीले बताए।
२०७७ सालको चैत्र महिनामा सम्पन्न गर्नुपर्ने मार्फा, छुसाङ र घमी खोला पुलको काम निर्माण कम्पनीले विभिन्न बहानाबाजी बनाएर थप १३ महिना म्याद थपेको थियो। तर थपिएको पछिल्लो म्यादसमेत चैत्र महिनामा सकिएको छ। आयोजनाका अनुसार मार्फा खोलाको ५० प्रतिशत, घमी खोलाको ४० प्रतिशत र छुसाङ खोलाको पुलको भौतिक प्रगति ७५ प्रतिशत छ। अहिले यी ३ वटै पुलको काम ठप्प छ। कालिगण्डकी करिडोर अन्तर्गत मुस्ताङको मार्फा स्थित राजखोलामा १२० मिटर, छुसाङको नरसिंह खोलामा ९० मिटर र घमीको घमी खोलामा ४० मिटरको पक्की पुलको ठेक्का सम्झौता भएको थियो। मार्फा र छुसाङ खोलामा निर्माणधीन पुलको काममा ढिलाइ हुँदा बर्खायामको मौसममा सवारी साधान आवत-जावत गर्न समस्या भएको छ।
यस्तै २०७३ साल असार ३० गतेदेखि सडक स्तरोन्नति सुरु गरिएको जोमसोम–कोरला सडकको ७ प्योकजमध्ये ६ वटा प्योकजको काम सकिंदा चराङ–छोसेर २५ किमी सडकको काम अहिले अलपत्र परेको छ। जोमसोम–कोरला सडकको ६ वटा प्याकेजको काम २ वर्षअघि नै कालिगण्डकी करिडोरलाई हस्तान्तरण हुँदा निर्माण कम्पनीको वेवास्ता, ढिलासुस्ती र लापरवाहीले चराङ छोसेर सडक अपलपत्र परेको हो। तामाङ-गौरी-पार्वती कोशी एण्ड न्यौपाने जेभीले चराङ–छोसेर सडक स्तरोन्नति गर्न २६ करोडमा सम्झौता गरेको थियो।
सम्झौता अवधि २ वर्ष रहेको चराङ–छोसेर सडकको भौतिक प्रगती ७५ प्रतिशत छ। सुरुआती कन्ट्रक्सनले चराङ–छोसेर सडक स्तरोन्नतिको जिम्मा लिएको भए पनि अहिले उक्त कन्ट्रक्सनले सप्तकोशी जलाधार हुँदै भुमी कन्ट्रक्सनलाई जिम्मा दिएको छ। तर,पछिल्लो जिम्मा पाएको कन्ट्रक्सनले सुरुआती चरणमा १० प्रतिशत काम गरे पनि त्यसपछि भने काममा ढिलासुस्ती र वेवास्ता गरेको हो।
चराङ–छोसेर सडकको काममा ढिलाइ भएपछि कालिगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले निर्माण कम्पनीसँग ठेक्का सम्झौता वापत लिएको १ करोड ९ लाख सरकारका नाममा फिर्ता गरेको आयोजना प्रमुख जगत प्रजापतीले जानकारी दिए। जोमसोम–कोरला सडक अन्तर्गत लामो समयदेखि चराङ–छोसेर सडकको काममा ढिलाइ भइरहेको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए। उनले सडक निर्माणको जिम्मा लिए पनि काममा आलटाल र ढिलासुस्ती गर्ने निर्माण कम्पनीलाई कारवाही गरी नयाँ ठेक्का सम्झौता गर्ने प्रक्रिया अघि बढाउनु पर्ने उनले बताए।
जोमसोम–कागबेनी कालापत्रे सडक अलपत्र
जोमसोम–कोरला सडक अन्तर्गत पछिल्लोपटक ठेक्का सम्झौता भएको जोमसोम–कागबेनी १३ किमी कालोपत्रे सडक अलपत्र परेको छ। जोमसोम–कागबेनी १३ किमी कालोपत्रे सडकका लागि रौताहा आत्रेय सारस जेभीले ४२ प्रतिशत घटेर २८ करोड बजेटमा ठेक्का सम्झौता गरेको थियो। २०७८ साल असोज ४ गते ठेक्का सम्झौता गरेको कालोपत्रे सडकको सम्झौता अवधि २०८० साल असोज ४ गतेसम्म छ। तर सम्झौता अवधि ८ महिना बितिसक्दासमेत कालोपत्रे सडकको काममा खासै अपेक्षा गरिएअनुसारको भौतिक प्रगती नभएको आयोजनाका इन्जिनीयर मन्दा पन्तले जानकारी दिइन्।
उनका अनुसार जोमसोम–कागबेनी कालोपत्रे सडकको ८ महिनामा जम्मा ५ प्रतिशत मात्र भौतिक प्रगति भएको बताइन्। कालोपत्रे सडकको काममा ढिलासुस्ती भएको र अनुकुल मौसम भएको बेलामा कामलाई तीव्रता नदिएकाले उक्त कन्ट्रक्सनले लिएको ठेक्का मोबिलाइजेसन वापत लिएको रकमसमेत फिर्ता गर्ने गरी बैंकसँग पत्राचार भइरहेको उनले उल्लेख गरिन्।
राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी सडकको काम समेतमा चरम ढिलासुस्ती देखिएको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम ७६ किमी कालोपत्रे सडक अन्तर्गत ४ खण्डको भौतिक प्रगति ७० प्रतिशत छ। आयोजनाकी इन्जिनीयर मन्दा पन्तले बेनी–जोमसोम ७६ किमी सडकको कालोपत्रे जम्मा ५ प्रतिशत मात्र भौतिक प्रगति भएको जनाइन्।