कांग्रेसले मेयर जितेको मिथिलामा एमालेको बहुमत
ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेले बहुमत प्राप्त गरेको छ। नेपाली कांग्रेसले मेयर जितेको मिथिला नगरपालिकामा शुक्रवाबार सम्पन्न नगर कार्यपालिका सदस्यको निर्वाचनमा एमाले–एकीकृत समाजवादी गठबन्धन विजयी भएका छन्।
८ सदस्य पदको लागि भएको निर्वाचनमा एमाले र नेकपा एकीकृत समाजवादीका ४/४ जना सदस्यहरु निर्वाचित भएका हुन्। नगर कार्यपालिकाको ५ महिला सदस्य पदमा गठबन्धनबाट नेकपा एमालेकी अन्जु श्रेष्ठ, नगिना खातुन, मिना पजियार र नेकपा एकीकृत समाजवादीकी कौशिल्या देवी महरा र ईन्द्रकला कुमारी महतो निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय ढल्केवरले जनाएको छ। महिला सदस्यमा निर्वाचित पाँचैजना उम्मेदवारले ३९ मत पाएका छन्।
यस्तै दलित वा अल्पसंख्यक सदस्यमा नेकपा एकीकृत समाजवादी पार्टीका विशेश्वर साह हलुवाई, सर्लिमा सुनवार र नेकपा एमालेका महेन्द्र राउत निर्वाचित भएका छन्। निर्वाचित विशेश्वरले सर्वाधिक ४०, सर्मिलाले ३८ र महेन्द्रले ३९ मत प्राप्त गरेका छन्।
५ महिला सदस्यतर्फ एमालेले तीन, समाजवादीले दुई र ३ दलित वा अल्पसंख्यकतर्फ एमालेले एक, समाजवादीले दुई सिट लिएर गठबन्धन गरेको थियो। ८ कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसले पनि नेकपा एकीकृत समाजवादीलाई चार सिट दिएर गठबन्धनका लागि प्रस्ताव गरेका थिए। तर समाजवादीले एमालेलाई नै सघाएपछि कार्यपालिका सदस्यमा कांग्रेसले बहुमत हात पार्न सकेनन्।
मिथिला नगरपालिकामा मेयर, उपमेयर, ११ वडाध्यक्ष र निर्वाचत ८ सदस्य गरी कुल २१ जना कार्यपालिका सदस्य रहनेछ। जसमा नेकपा एमालेका १०, नेपाली कांग्रेसका ५ र नेकपा एकीकृत समाजवादीका ६ सदस्य भएको निर्वाचन अधिकृत दिपक धितालले जानकारी दिए।
बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट एक उपमेयर र ५ वडाध्यक्षसहित २५, नेपाली कांंग्रेसबाट एक मेयर र ४ वडाध्यक्षसहित १९, नेकपा एकीकृत समाजवादीबाट २ वडाध्यक्षसहित ११ र नेकपा माओवादी केन्द्रबाट २ सदस्य गरी ५७ जना निर्वाचित भएका थिए।
शुक्रवार भएको कार्यपालिका सदस्यको निर्वाचनमा ५७ जनाले नै मतदान गरेका थिए। ८ सदस्यको लागि १२ जनाले उम्मेदवारी दिएका थिए। नेकपा एकीकृत समाजवादीसँग गठबन्धनका लागि नेपाली कांग्रेसले ५ महिला सदस्यतर्फ ३ र ३ दलित वा अल्पसंख्यक सदस्यतर्फ १ गरी ४ जनाको उम्मेदवारी कायम राखेको थियो। तर, एकीकृत समाजवादीले एमालेसँग गठबन्धन गरेपछि कार्यपालिकामा कांग्रेस प्रतिनिधित्वको आधारमा तेस्रो स्थानमा धकेलिएका छन्।
निर्वाचन प्रक्रिया सम्पन्न भएसँगै नगरपालिकाको नगरसभा र कार्यपालिकामा नेकपा एमालेले बहुमत पाएको छ।