जहाज दुर्घटनाको छानविन टोली सानुसरे पुगेर फर्कियो
जोमसोम : तारा एअरको नाईन एनईटी जहाज दुर्घटना सम्बन्धी जाँचुबुझ गर्न बनेको ५ सदस्ययीय छानविन टोली शनिबार बिहान दुर्घटना स्थल थासाङ गाउँपालिका २ को मानापाथी हिमालको फेदस्थित सानुसरे पहाड पुगेर र्फिकएको छ। उनीहरु तारा एअर जहाज दुर्घटना स्थलको अवलोकन, अनुसन्धान र दुर्घटना सम्बन्धी तथ्यहरु संकलन गरी फर्किएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज आइतबार बिहान सम्पर्कविहीन भएको थियो। जहाज दुर्घटना भएको पहिलो दिन मौसम प्रतिकुलताका कारण दुर्घटना स्थलको पहिचान गर्न सकिएको थिएन। दुर्घटनाको दोश्रो दिन बिहान लेकमा यार्सा टिप्न गएका टोलीले जहाज दुर्घटना स्थल पत्ता लगाएपछि उद्दार कार्य सुरु गरिएको थियो।
जहाज दुर्घटनाको सत्यतथ्य छानविन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले सोमबार वरिष्ठ एरोनटिकल इन्जिनियर रतिसचन्द्रलाल सुमनको संयोजकत्वमा ५ सदस्ययीय जहाज दुर्घटना छानविन समिति गठन गरेको थियो। छानविन समितिमा क्याप्टेन दिपुराज ज्वाहारचन, वरिष्ठ मेन्टिनेन्स इन्जिनियर उपेन्द्रलाल श्रेष्ठ, वरिष्ठ मौसमविद् मणिरत्न शाक्य र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन्।
मन्त्रालयले गठन गरेको दुर्घटना सम्बन्धी ५ सदस्ययीय छानविन टोली काठमाडौंबाट एअर डोइनोष्टिकको माउन्टेन हेलीमा मार्फत जहाज दुर्घटना स्थल सानुसरे पुगेका थिए। उनीहरुले जोमसोम विमान स्थलका कर्मचारीहरुसँग जहाज दुर्घटना सम्बन्धी कारणका विषयमा सोधपुछ गरी पुन काठमाडौं फर्किएका यति एअरलाइन्सका पोखराका मेनेजर राम लामिछानेले जानकारी दिए।
यस्तै तारा एअर जहाज दुर्घटना स्थलबाट जहाजका आवश्यक उपकरण तथा जहाजको महत्वपूर्ण सामानहरु हेलीमार्फत काठमाडौं लगेको स्थानीय इन्द्रसिंह शेरचनले जानकारी दिए। जहाज बीमा कम्पनीको केही प्रतिनिधि आएर जहाजका महत्वपूर्ण मार्टपुर्जा हेलीमार्फत काठमाडौं लगेको शेरचनको भनाइ छ।