पट्यारलाग्दो बिदा किन ?

पट्यारलाग्दो बिदा किन ?

विश्वका अधिकांश देशमा साताको पाँच दिन काम र दुई दिन बिदा हुन्छ। नेपालमा पनि जेठदेखि साताको दुई दिन बिदा दिन थालिएको छ। सरकारको निर्णय सरकारी कार्यालयहरूमा तुरुन्तै लागू भयो। निजी क्षेत्रका संस्थागत प्रतिष्ठानहरू कतिपयले दुई दिन बिदाको निर्णय पालना गरेका छन्, कतिपयले पालना गरेका छैनन्। सरकारी विद्यालयहरूले त लागू गरिहाले। निजीमा कतै दुई दिन बिदा छ कतै छैन। व्यवस्थापनका दृष्टिमा साताभरको कामको थकाइका लागि आराम गर्न बिदा दिनु उपयुक्त हुन्छ। बिदाले कर्मचारी तथा कामदारको सिर्जनशीलता वृद्धि गर्छ भन्ने पनि व्यवस्थापन सिद्धान्तको मान्यता हो। नेपाल सरकारले सातामा दुई दिन बिदाको निर्णय लिनुको पछाडि ती कारण मुख्य होइनन्।

इन्धनको खपत र सार्वजनिक सरकारी कार्यालयहरूको खर्च न्यूनीकरण गर्नु मूल उद्देश्य हो। तर, यो निर्णय लिनुअघि सरकारले अध्ययन र अनुसन्धान गरेको कतै सार्वजनिक भएको छैन। दुई दिन बिदा दिँदा इन्धनको खपत कति न्यून हुन्छ र सार्वजनिक सरकारी कार्यालयको खर्च कति घट्छ भन्ने यकिन छैन। यसै पनि वर्षमा ५२ वटा शनिबार हुन्छन् र आइतबार पनि बिदा दिँदा १ सय ४ दिन सिधासिधी बिदा हुने देखिन्छ। त्यसमाथि सरकारी कर्मचारीहरूलाई बिरामी १२, पर्व ६ र भैपरी आउने बिदा ६ दिन हुन्छ। यो वर्षमात्रै कम्तीमा ३१ वटा चाडपर्व र दिवसहरू लगायतका सार्वजनिक बिदा छन्। त्यस हिसाबले २ सय ४ सरकारी कर्मचारीलाई वार्षिक बिदा हुन्छ। वर्षमा उनीहरूले काम गर्ने दिन भने १ सय ६१ दिन हुन्छ।

नागरिकको एउटै गुनासो छ कि सरकारी कार्यालयहरूमा भनेको बेला काम हुँदैन। ढिलासुस्ती नै सरकारी कार्यालयहरूको पर्याय हो। यस्ता हविगत भएको मुलुकमा वर्षका ३ सय ६५ दिनमध्ये १ सय ६१ दिनमात्रै अर्थात् आधाभन्दा कम दिन काम हुने हो भने नागरिकको हालत के होला ? यसै पनि भोलिभोलि भन्ने प्रवृत्ति सरकारी कार्यालयहरूमा छ। झन् दुई दिन बिदा हुँदा एउटै काममा लागि नागरिकले हप्तौं धाउनुपर्ने बाध्यता सिर्जना भइसकेको छ। २०५८ अघि दुई वर्ष साताको दुई दिन बिदाको अभ्यास भएको थियो। त्यो अभ्यास असफल ठहर्‍याएरै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दुईदिने बिदा अन्त्य गरेका थिए। तर, उनै देउवा नै फेरि प्रधानमन्त्री भएका बेला दुई दिन बिदाको अभ्यास फेरि थालिएको छ। बिना अध्ययन र विगतको अनुभवभन्दा फरक ढंगले लिइएको दुई दिन बिदाको निर्णय हचुवाका भरमा लिइएको बुझ्न कठिन छैन।

सरकारी कार्यालयहरूमा काम नहुने त छँदैछ, विद्यालयहरूमा पढाइ हुने समय पनि दुई दिने बिदाले घटाइदिएको छ। अर्काेतिर स्वास्थ्य संस्थामा बिरामीले जाँच र उपचार गर्न नपाउने स्थिति सिर्जना हुँदैछ। आखिर साताको दुई दिन बिदाले शिक्षक, कर्मचारीहरूलाई मस्ती भए पनि नागरिकलाई त सास्ती नै भएको छ। आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम हरेक कामदारलाई चाहिने मान्यता छ।

अन्तर्राष्ट्रिय श्रम संगठनले सातामा ४० घण्टा काम अर्थात् प्रत्येक दिन आठ घन्टाका दरले पाँच दिन काम गर्ने परिपाटीलाई मान्यता दिएको छ। हो, काममा लगातार खटिने वर्गका निम्ति र देशका निम्ति त्यस्तो परिपाटी बिल्कुल व्यावहारिक र विज्ञानसम्मत पनि छ। नेपाल भने विकसित राष्ट्र बन्नुपर्ने चुनौती भएको मुलुक हो। जहाँ दिनरात नभनी पो काम गर्नुपर्ने आवश्यकता छ। मुलुक बन्न कुनै न कुनै पुस्ताले धेरैभन्दा धेरै काम र त्याग, तपस्या नगरी हुँदैन। नेपालका हकमा अहिलेको समय त्यही त्याग, तपस्या र धेरै काम गर्नुपर्ने बेला हो। एकातिर सरकारले कर्मचारीहरूको कामको समय घटाएको छ। आउँदो आर्थिक वर्षदेखि लागू हुने गरी तलब वृद्धि गरेको छ। यी दुइटा निर्णय आफैंमा विरोधासपूर्ण छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.