जिसस बाराको प्रमुख र उपप्रमुखमा एमाले विजयी
वीरगन्ज : जिल्ला समन्वय समिति(जिसस) बाराको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
जिसस बाराको प्रमुखमा एमालेका नरेन्द्रकुमार साह निर्वाचित भएका हुन्। सोमबार भएको निर्वाचनमा २० मत प्राप्त गर्दै प्रमुखमा साह निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत खिलनाथ रेग्मीले जानकारी दिए। उनका निकटतम प्रतिद्धन्द्धि सत्तागठबन्धनका तर्फबाट साझा उम्मेदवार नेपाली कांग्रेसका रामदेयाल महतोले ९ मत प्राप्त गरे।
यस्तै जिसस बाराको उपप्रमुखमा पनि एमालेकै चण्डिका उप्रेती विजयी भएकी छन्। १७ मत प्राप्त गरी उनी उपप्रमुखमा निर्वाचित भएकी हुन्। उनकी प्रतिस्पर्धी सत्तागठबन्धनका तर्फबाट जनता समाजवादी (जसपा)का उम्मेदवार पवन कुमार ब्याहुतले भने १५ मत मात्रै प्राप्त गरे।
जिसस बाराको सदस्यहरूमा पुरुषतर्फ जसपाका ३ जना, महिलातर्फ लोकतान्त्रिक समाजवादी (लोसपा)का १ जना, एमालेका २ जना र दलित वा अल्पसंख्यक सदस्यमा लोसपाका १ जना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
जिसस बाराको निर्वाचनमा ९ वटा पदका लागि प्रमुख, उपप्रमुख र सदस्यहरु गरी २२ जनाले उम्मेदवारी दिएका थिए। जिससको निर्वाचनमा ३२ मत खसेकोमा ३ मत भने बदर भएको थियो।