रामायण सर्किटको रेल जनकपुरमा

जनकपुरधाम : करिब ५ सय यात्री बोकेर बिहीबार भारतको रामायण सर्किट रेल जनकपुर आइपुगेको छ। ‘भारत गौरव पर्यटक रेल’ मा सवार धार्मिक यात्रीलाई जनकपुरवासीले ‘जय सियाराम’ को नाराले भव्य स्वागत गरे। भारतका विभिन्न प्रान्तबाट यस धार्मिक यात्रामा सहभागी भएर आएका यात्रु पनि भगवान् रामको ससुराली आइपुग्दा निकै उत्साहित थिए। करिब एक घण्टासम्म रेलवे स्टेसन ‘जय सियाराम’को नाराले गुञ्जायमान भयो।
‘जीवनमा कहिल्यै सोचेको थिइनँ कि एक दिन रामजीको ससुराली घुम्ने अवसर पाउँछु,’ भारतको हरियाणाबाट धार्मिक यात्रामा निस्केका ५५ वर्षीय श्रीवन्त गर्गले भने, ‘यो माटोलाई प्रणाम छ जसले सीतालाई जन्म दियो। हाम्रो जीवन धन्य भएको छ यहाँ आइपुग्दा।’ उनी श्रीमती बिना गर्ग र आमालाई लिएर रामायण यात्रामा सहभागी भएका हुन्।
दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले रामायण यात्राको क्रममा यो रेल जनकपुर आइपुगेको हो। पर्यटनमन्त्री र भारतीय रेलमन्त्रीले मंगलबार दिल्ली रेलवे स्टेसनमा संयुक्त रूपमा हरियो झन्डा देखाई यस रेल उद्घाटन गरेका थिए। १४ वटा डिब्बामा ४ सय ९९ यात्री सवार छन्। प्रतियात्री ६२ हजार भारतीय रुपैयाँ भाडा तय गरिएको ८ हजार किलोमिटर लामो यात्राको क्रममा १८ वटा तीर्थस्थलहरू घुमाइने जनाइएको छ।
जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, पर्यटनमन्त्री शत्रुधन महतो, जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवसहित जनकपुरवासीले भारतीय पर्यटकलाई स्वागत गरेका थिए। रेलवे स्टेसनमा प्रदेश सरकारले ठूलो ब्यानर लगाएर भारतीय पर्यटकलाई मामाघरमा स्वागत छ भन्ने सन्देश दिएको थियो। यो धार्मिक यात्राले मधेस प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मधेसका मुख्यमन्त्री लालबाबु राउतले व्यक्त गरे।
‘माता सीता जनकपुरकी मात्र नभई विश्वकै गौरव हुनुहुन्छ। सीताको नगरीलाई विश्वसामु प्रचार गर्न यो धार्मिक यात्राको निकै महत्व हुनेछ’, रामायण सर्किट रेलका यात्रीको स्वागत गर्न जनकपुर रेल्वे स्टेसन पुगेका मुख्यमन्त्री राउतले भने, ‘यस यात्रालाई निरन्तरता प्रदान गर्न प्रदेश सरकाले भारत सरकारलाई औपचारिक रूपमै आग्रह गर्नेछ। र, यो यात्रा यस क्षेत्रको समृद्धिको आधार बन्ने मैले विश्वास लिएको छु।’ धार्मिक पर्यटकलाई जनकपुरका धार्मिक स्थलहरू, प्रसिद्ध मन्दिर, तालतलैया र मिथिला संस्कृतिका झझल्को देखाइने जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताए।
यस पर्यटक रेलको उद्घाटनसँगै ‘आईआरसीटीसी भारत गौरव पर्यटक रेल’ अन्तर्राष्ट्रिय सीमा पार गरी समग्र रूपमा पर्यटनको प्रवद्र्धन गर्ने पहिलो रेल सेवा बनेको छ। रामायण सर्किटमा सञ्चालन हुने यस रेलले अयोध्या, नन्दिग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पंचवटी (नासिक), हम्पी, रामेश्वरम र भद्राचलमजस्ता प्रख्यात धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरमा अवस्थित धार्मिक क्षेत्रहरूलाई पहिलो पटक जोडिएको छ। रेलका प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोसाक, पर्व, वनस्पति तथा जीवतन्तु, योग, लोककला जस्ता भारतीय कला, संस्कृति, परम्परा सम्पदालगायतका बहुरूपी झझल्को देखिएको छ।
रामायणमा उल्लेख गरिएका अन्य ठाउँलाई धार्मिक पर्यटनसँग जोड्न भारत सरकारले यस रेलको यात्रा आरम्भ गरेको छ। ४ वर्षपूर्व भारतीय प्रधानमन्त्री नेरन्द्र मोदी जनकपुर आउँदा दुई देशबीच रामायण सर्किट सम्झौता भएको थियो।
प्रतिक्रिया दिनुहोस !
