पुरातात्विक मन्दिर जीर्ण

जनकपुरधाम : मधेस प्रदेश सरकारले आफ्नो कार्यकालको ४ वर्षमा ऐतिहासिक, धार्मिक स्थल तथा पोखरी संरक्षणका लागि भन्दै ठूलो धनराशी खर्च गर्यो। प्रदेशका स्थानीय सरकारको प्राथमिकतामा पनि मठ मन्दिर सौन्दर्यीकरण, पोखरी उत्थान तथा सडक निर्माणनै परे। मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले मठ मन्दिर, मस्जिद, गुम्बा र पोखरी तथा घाट निर्माणमा साढे ३ अर्बभन्दा बढी धनराशि खर्चेको छ। तर, धनुषाको तुलसियाहीमा रहेको अढाई सय वर्ष पुरानो स्वामी लक्ष्मीनारायण मठ संरक्षणतर्फ कसैको ध्यान पुग्न सकेको छैन।
प्रदेश राजधानी जनकपुरधामदेखि २२ किलोमिटर दक्षिणमा रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिकास्थित तुलसियाहीमा अवस्थित लक्ष्मीनारायण मठ संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ। मन्दिरका भवनहरू पुरानो भएर एकातर्फ भत्किन थालेका छन् भने अर्कोतर्फ १८९५ सालमै जडान गरिएको ठूलो घण्टा जेनतेन झुन्डिएको छ। संस्कृतमा विभिन्न उखानहरू कुदिएको सो घण्टा संरक्षणको अभावमा कुनै पनि बेला भाँचिन सक्ने अवस्थामा पुगेको छ। करिब अढाई सय वर्षभन्दा पहिला नै राखिएको कालो ढुंगाको ऐतिहासिक शिलालेख पनि मन्दिरको प्रांगणमा बिना कुनै सुरक्षा थन्काइएको छ। सो पुरातात्विक शिलालेख घाम पानीले गर्दा विस्तारै बिग्रिने सम्भावना पर्याप्त छ।
मन्दिरका मूल भगवानको मूर्ति बाहेक अन्य साना मूर्तिहरूलाई पनि जोगाएर राख्न सकिने बन्दोबस्त छैन। पुरातात्विक महत्वका मूर्तिहरू बेवारिसे अवस्थामा छन्। मन्दिर प्रवेश गर्ने फलामको मूल ढोका जीर्ण भइसकेको हुनाले त्यसमा ताल्चा लगाउनसमेत नमिलेर मन्दिरका पुजारीले डोरीले बाँधेर जेनतेन मन्दिरको सुरक्षाको बन्दोबस्त गरेका छन्। पुरानो पर्खालहरू ठाउँ–ठाउँमा भत्किएको हुँदा मूल ढोका डोरीले बाँधिए पनि भित्र पस्न खोज्नेहरू भत्केको पर्खालबाटै कुदेर मन्दिर आउने गरेका छन्।
तत्कालीन राजा गिर्वाणयुद्ध शाहको आदेशमा लक्ष्मीनारायण मठको जीर्णाोद्वार गरिएको थियो। भोटे पाण्डेको नेतृत्वमा १८६२ सालमा जीर्णोद्वार गरिएको शिलालेखमा उल्लेख छ। १८९५ सालमा मठको अगाडि ठूलो घण्टी जडान गरिएको प्रमाण पनि छ। ‘यो मन्दिरको सम्बृद्ध इतिहास भए पनि यसको संरक्षणतर्फ कसैको ध्यान छैन। गुठी संस्थानले पनि यसलाई जोगाउन प्रयास गरेको छैन,’ स्वामी लक्ष्मीनारायण मठ तुलसियाहीका पुजारी विश्वनाथ ठाकुर भन्छन्, ‘चुना र सुर्खिले सो बेला निर्माण गरिएको भवनलाई पुरातात्विक रूपमा संरक्षण गरेर पर्यटकीय थलो बनाउनु साटो बेला बखत मन्दिरका सम्पदाहरूलाई नै हानि नोक्सानी पुर्याउने काम भइरहेको छ।’ दुई वर्ष पूर्व बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले मन्दिरको जीर्णोद्धारको नाममा यसको पुरातात्विकलाई नै क्षति पुर्याउने काम गरेको स्थानीय बताउँछन्।
त्रेतायुगमा माता सीताले तुलसी नै तुलसीको बोट भएको बगैंचाबाट तुलसी टिपेको हुनाले यस गाउँको नाम तुलसियाही हुन गएको विषय जनश्रुति ग्रन्थमा उल्लेखित छ। श्री ५ गीर्वाणयुद्ध वीरविक्रम शाहदेवको पालमा यसै स्थानका भोटे पाण्डेको युद्धकौशल र पराक्रमबाट प्रभावित भई मौजा कायम गरी उनलाई प्रदान गरिएको थियो र पाण्डेले स्वामी नारायणको मन्दिरमा पूजा अर्चना गरेको शिलालेखमा उल्लेखित छ।
‘जेनतेन चलिरहेको छ’
- विश्वनाथ ठाकुर, पुजारी
२०४७ साल भदौ २० गते स्थानीय विश्वनाथ ठाकुर लक्ष्मीनारायण मठका पुजारी नियुक्त भएका हुन्। उनी यस मन्दिरको १३ औं पुजारी छन्। मन्दिर निकै सम्पत्तिवान भए पनि अतिक्रमण र देखरेखको अभावका कारण निकै आर्थिक संकटका बीच मन्दिरको व्यवस्थापन चलाउनु परिरहेको पुजारी ठाकुर बताउँछन्। ‘पहिला यो मन्दिरको सेवा टहल गर्न र पुजारी गरी जम्मा ७ जना कर्मचारी गुठी संस्थानले राख्ने गथ्र्यो। तर, २०६३ सालदेखि त्यसमा पनि कटौती भएर अहिले ५ जना मात्रै रहेका छन्।
मन्दिरको भोगरास र पूजापाठका लागि सिमित मात्रामा खर्च पठाइन्छ। बिजुली बत्ती र खानेपानीको समेत उचित प्रबन्ध छैन। पछिल्लो वर्ष गाउँका जनप्रतिनिधिहरूलाई हारगुहार गरेर जेनतेन एउटा चापाकल मन्दिरको प्रांगणमा गाड्न लगाए।’ मन्दिर स्थापना भएको बखत यसको सञ्चालनका लागि ४६ बिघा जग्गा तत्कालीन शासकले उपलब्ध गराएका थिए।
प्रतिक्रिया दिनुहोस !
