सेतीको भँगालोमा ढुंगाड गाउँ, ८२ घर बाढीको जोखिममा
बैतडी : दुई तर्फबाट सेती नदी बग्छ। बीचको टापुमा छ ढुंगाड बस्ती। बैतडीको सिगास गाउँपालिका—५ मा पर्ने ढुंगाडमा झुरुप्प घरहरू छन्। खेतीयोग्य जमिन सात सय रोपनीभन्दा बढी छ। उर्बरभूमि भएकैले यहाँ बस्ती बस्यो। हिउँदको महिना त यो स्थानले स्वर्गको उपमा नै पाउँछ। तर, वर्षात्मा भने स्थानीय निदाउनसमेत पाउँदैनन्। कुन बेला सेती उर्लेर आउने हो पत्तै हुँदैन। खेती त परको कुरा, ज्यानसमेत बचाउन हम्मेहम्मे पर्छ स्थानीयलाई। ‘हिउँदमा त आनन्द हुन्छ। खेतीयोग्य जमिन छ। पुस्तौंदेखि बस्दै आएकाले हामी पनि बस्यौं। तर, बर्खामा धेरै समस्या छ,’ स्थानीय कर्णबहादुर खडायत भन्छन्।
गत कात्तिक पहिलो साता वर्षापछि आएको बाढीले सेती नदी बस्तीमै पसेको थियो। सेती नदीले गाउँ नै घेरेपछि बीच भँगालोमा करिब सयभन्दा बढी नागरिक फसे। १ गते राति भँगालोमा फसेका उनीहरूको पानीको बहाव कम भएपछि ३ गते बिहान मात्रै उद्धार भएको थियो। ‘जब बर्खा लाग्छ, अहिले पनि त्यही अवस्था होला कि भन्ने चिन्ताले सताउँछ,’ खडायत भन्छन्। पहिले नदी पसेको स्थानबाट अहिले पनि पानी बढे सहजै गाउँ पस्न सक्ने उनको भनाइ छ। ‘वर्षा सुरु भइसक्यो। डरैडरमा बस्नु परेको छ। कुन बेला बस्तीमा सेती पस्ने हो ठेगान छैन,’ अर्की स्थानीय मन्दरा धामी भन्छिन्। सेतीले खेतीयोग्य जमिन र बस्तीलाई नै बगर बनाइदिएको छ। अहिले बगरमा बस्ती बसे जस्तो देखिने उनी बताउँछिन्। खेती गर्ने स्थान बगर बनेसँगै खाद्यान्न अभावसमेत हुने गरेको मन्दराको भनाइ छ।
यो बस्तीमा सेती उर्लेर परेको नयाँ घटना होइन। विगत सात पटकसम्म बाढी परेको थियो। तर, गत कात्तिकमा आएको बाढीले यहाँ धेरै क्षति पुर्यायो। ढुंगाड तहसनहस बनायो। कात्तिकको वर्षाले बस्तीतर्फ पसेको सेती यस वर्षको वर्षात्मा झन् सहजै प्रवेश गर्ने देखिएको वडाध्यक्ष राजेन्द्र चन्दले बताए। ‘गाउँतर्फ धेरै कटान भएको छ। थोरै वर्षा भएको अवस्थामा पनि सहजै सेती बस्तीमा प्रवेश गर्छ’, वडाध्यक्ष चन्दले भने, ‘नजिक अन्य गाउँ तथा घरहरूसमेत नरहेकाले स्थानीय त्रासमा छन्।’ वडा नं ५ मा अवस्थित ढुंगाडसँगै सोही वडाको लोडे, लामबगड, वडा नं ६ को लेकम र नाकरा र वडा नं ७ को बोरी बाढी प्रभावित क्षेत्र हुन्। लामबगडमा पनि स्थानीयका लालपुर्जा भएका खेतमाथि सेती नदी बगिरहेको छ। डोटीको सिमाना रहेको उक्त क्षेत्रमा खेतहरू पारि डोटीतर्फ छुटेका छन्।
पश्चिम सेतीका कारण सरकारी लगानी शून्य
पश्चिम सेती परियोजनाका कारण ढुंगाडका जनताले विकास पाएनन्। पश्चिम सेती बनेपछि मुख्य जलाशय भएको क्षेत्र ढुंगाड हो। त्यहाँको बस्ती स्थानान्तरण हुने भएकाले पनि सरकारले त्यहाँ लगानी नगरेको हो। ‘अहिलेसम्म सेती नदीमा आवश्यक परेको ठाउँमा पुलसमेत छैनन्’, स्थानीय रणबहादुर चन्दले भने, ‘पश्चिम सेती परियोजना बन्ने भनेकै कारण विकासका कामहरू भएनन्। ठाउँठाउँमा पुलहरू निर्माणको माग भए पनि बन्न सकेका छैनन्।’
अहिलेसम्म न पश्चिम सेती बन्ने सुरसार छ, न विकासका काम नै भए। पश्चिम सेती हुने ठाउँमा लगानी गरिने होइन भनेर विकास हुन नपाएको उनले गुनासो गरे। २०३९ सालदेखि फिल्डमा काम गरेको भए पनि पश्चिम सेती जलविद्युत् आयोजनाको चर्चा भने २०३६ सालदेखि नै भएको हो। त्यतिबेलाको पञ्चायती सरकारको पालामा फ्रान्सको सोग्रेह नामक कम्पनीले पश्चिम सेतीको अध्ययन गरेको हो।
उसले बैतडीको ढुंगाडदेखि आठ किलोमिटर माथि बाँधरहित आयोजना निर्माण गरी ३७ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना देखाएको थियो। तर, सरकारले यसको म्याद थप गरेर अरू सम्भाव्यता अध्ययनको अनुमति दियो। सोग्रेहले त्यसपछि ढुंगाड क्षेत्रमा बाँध बनाएर ३६० मेगावाट विद्युत् उत्पादन गर्न सकिने प्रतिवेदन सरकारलाई बुझाएको थियो। तर, उसले आयोजनाको निर्माणको अनुमति भने पाएन।
सोग्रेहले निर्माणको अनुमति नपाएपछि सेलाएको पश्चिम सेतीको अध्ययनको जिम्मा अस्ट्रेलियाको स्मेक (स्नोई माउन्टेन इन्जिनियरिङ कर्पोरेसन)ले पायो। उसले २०४६ सालको भदौदेखि पश्चिम सेतीमा काम सुरु गरेको पश्चिम सेती सरोकार समितिका अध्यक्ष रतन साउद बताउँछन्।
स्मेकले २०४९ सालमा बुझाएको अध्ययन प्रतिवेदनमा १९५ मिटर अल्लो बाँध बनाएर ७५० मेगावाट क्षमताको आयोजना निर्माण गर्न सकिने देखाएको थियो। यसका लागि उसले ६.७ किलोमिटर लामो हेडरेस सुरुङ बनाउनुपर्ने र उक्त बाँधले २५ किलोमिटर ताल बन्ने अनुमान गरिएको थियो। २५ किलोमिटरको तालका कारण बैतडीको ढुंगाड, डँडेलधुराको नवदुर्गा गाउँपालिकाको केही वडा, डोटीको आदर्श र तलारा गाउँपालिका, बझाङको केदारस्यु गाउँपालिकाका बस्तीका १२ हजार परिवार विस्थापित हुने भएका हुन्।
दुई तर्फबाट सेती नदीले घेरेको बैतडीको सिगास गाउँपालिका—५ मा पर्ने ढुंगाड बस्ती र नदीले कटान गरेको खेत। तस्बिर : कृष्ण विष्ट
सेती नदी बझाङ जिल्लामा पर्ने साईपाल हिमालबाट उत्पत्ति भएर बैतडी, डँडेलधुरा र डोटी हुँदै अछाम जिल्लामा पुगेपछि कर्णालीमा मिसिन्छ। तर सेती नदीले सबैभन्दा बढी डुबान र कटान बैतडीको ढुंगाडमा गर्दै आएको छ। ढुंगाड, पश्चिम सेती बनेपछि विस्थापित हुनुपर्ने गाउँ हो। त्यसैले त्यहाँ सरकारले २०३६ सालदेखि नै पूर्वाधार निर्माणका कामहरूमा लगानी गरेको छैन।
स्मेकले निर्माण–स्वामित्व ग्रहण–सञ्चालन–हस्तान्तरण (बुट) मोडलमा पाँच वर्षभित्र आयोजना निर्माण गर्ने, उत्पादन हुने विद्युत् भारतलाई बेच्ने र उत्पादन सुरु भएको ३० वर्षपछि नेपाललाई हस्तान्तरण गर्ने गरी विद्युत् विकास केन्द्रसँग सन् १९९४ मा समझदारी गर्यो। तर, स्मेकले सन् २०१२ सम्म (करिब १८ वर्ष) सम्म पनि आयोजना कार्यान्वयन गर्न नसकेपछि ढुंगाडका जनतालाई स्थानान्तरण नगरिएको हो।
सरकारले स्मेकसँगको सम्झौता रद्द गरेपछि पूर्वऊर्जामन्त्री गोकर्ण विष्टको पालामा २०६९ सालमा आयोजना निर्माण अनुमति चीनको थ्री गर्जेजको सहायक कम्पनी सिडब्ल्युई इन्भेस्टमेन्ट कर्पोरेसनलाई दिइएको थियो। करिब १ खर्ब ८० अर्ब रुपैयाँ लागतमा सन् २०१४ बाट आयोजना निर्माण सुरु गरी २०२१ सम्म पूरा गर्ने प्रारम्भिक सहमति भए पनि उसले पनि आयोजनाबाट हात झिक्यो। २०७५ सालको भदौमा चाइना थ्री गर्जेजले हात झिकेपछि पश्चिम सेतीका लागि बजेट विनियोजन पनि हुन छोडेको हो।
सरकारले केही दिनअघि मात्रै पश्चिम सेती भारतलाई बनाउन दिने सहमति गरेको छ। भारतको नेसनल हाइड्रो पावर कर्पोरेसन (एनएचपीसी)ले पश्चिम सेती बनाउने सहमति भएको छ। तर ढुंगाडका जनतामा पटकपटक ठगिएकाले पश्चिम सेती बन्ला र आफूहरूको पुनस्र्थापना होला भन्ने आशा मरिसकेको छ।
‘पश्चिम सेती बन्ला, त्यहाँका बासिन्दाहरू अन्त कतै स्थानान्तरण होलान्, सेतीको भँगालोबाट मुक्ति पाइएला भन्ने आशा मरिसकेको छ’, ढुंगाडका स्थानीय विष्णु चन्दले भने, ‘हरेक सरकारले हामीलाई भोट बैंक बनायो, हरेक चुनावमा आश्वासन पाइन्छन् तर उनीहरू फर्केर आउने भनेको अर्को चुनावमा मात्र हो। त्यसैले खै कसरी भर पर्नु र ?’
सरकारबाट उपेक्षा
सरकारले सिगास गाउँपालिकालाई संकटग्रस्त घोषणा गरेको छ। संघीय सरकारले संकटग्रस्त घोषणा गरेको विषय घोषणामै सीमित रहेको गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए। ‘पालिकाको बजेटले गर्न सक्ने जति गरेकै हौं, तर त्यहाँका स्थानीयहरूको स्थानान्तरणका लागि पालिकाको बजेटले पुग्दैन’, अध्यक्ष धामीले भने, ‘संघीय सरकारसमक्ष लगत संकलन गरेर बुझाइसकेका छौं, त्यसपछि संघीय सरकारले कुनै पहल गरको छैन।’
पश्चिम सेती परियोजना बन्ने भनिएका कारण पुनस्र्थापना तथा तत्कालै तटबन्धन बनाउने योजना नआएको पनि गाउँपालिका अध्यक्ष धामीले बताए। सेती नदीका कारण वडा नं ५, ६ र ७ बढी प्रभावित क्षेत्र हुन्। सिगास गाउँपालिकाले क्षतिको विवरण पनि संकलन गरेर प्रदेश सरकार तथा संघीय सरकारलाई बुझाएको छ। गाउँपालिका अध्यक्ष धामीका अनुसार ३ सय ३२ परिवारको क्षतिग्रस्त भएको विवरण सरकारलाई पठाई सकिएको छ।
- सेती नदीबीचको टापुमा बस्ती हुँदा बर्सेनि बाढीले क्षति।
- ७ सय रोपनी जग्गा बाढीले पुर्दा बन्यो बगर। ८२ परिवार प्रभावित।
- १७ पुस्तादेखि बाढीको पीडा भोग्दै।
- बाढीकै कारण ४० परिवार तराई बसाइँ सरे।
- पश्चिम सेती परियोजनाको प्रभावित क्षेत्र भएकाले सरकारले समस्या समाधान नगरेको गुनासो।
ढुंगाडमा मात्रै चार सय रोपनी र एक सय घरपरिवार पूर्ण रूपमा प्रभावित बनेका हुन्। तर, ढुंगाडका लागि कुनै उपयुक्त पहल भने भएको छैन। पश्चिम सेती बन्ने वा नबन्ने कुराका टुंगो नलागे पनि त्यहाँ न बस्ती स्थानान्तरण भयो, न तटबन्ध नै बन्यो। उपयुक्त स्थानमा बस्ती स्थानान्तरण गर्नुपर्ने वा सेती नदीमा पक्की तटबन्धन लगाउनुपर्ने स्थानीयले माग गर्दै आएका छन्।
सिगास—५ ढुंगाडमा बाढी पछि गाउँपालिका अध्यक्ष हरिसिंह धामी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, प्रधानमन्त्री शेरबहादुर देउवाले समेत अनुगमन गरेका थिए। अनुगमनका क्रममा बस्ती व्यवस्थापन, तटबन्धन निर्माणका लागि आश्वासन दिएकाहरूले अहिले कुनै चासो नदिएका त्यहाँका स्थानीयको गुनासो छ। प्रधानमन्त्री देउवा स्वयंले ढुंगाडको बस्ती स्थानान्तरणको आश्वासन दिएको कांग्रेस नेता रामबहादुर धामीले जानकारी दिए। त्यतिबेला प्रधानमन्त्री देउवाले छिट्टै ढुंगाडलाई जस्ताको त्यस्तै बनाउने बताए पनि अहिलेसम्म यसका लागि कुनै योजना नदिएको उनको गुनासो छ।
‘ढुंगाडलाई पूर्ण रूपमा सुरक्षित राख्न तटबन्धनका लागि बजेट विनियोजन गर्छौं र फेरि खेती गर्न लायक ढुंगाड बनाउछौं’, तत्कालीन समयमा प्रधानमन्त्री देउवाले भनेका कुरा स्मरण गर्दै धामीले भने, ‘तर कुनै बजेट विनियोजन भएन।’ प्रदेश सरकारका मुख्यमन्त्री तथा गृहमन्त्रीले समेत छिट्टै बस्तीलाई सुरक्षित राख्ने गरी तटबन्धन लगाउने भनेका थिए। तर पनि यसको कुनै सुनुवाइ नभएको अर्का स्थानीय एवं शिक्षक धानबहादुर धामीले बताए। बस्ती स्थानान्तरणका लागि स्थानीयले पनि पटकपटक आग्रह गर्दा सुनुवाइ नभएको पाइएको छ। पश्चिम सेती परियोजनाको नाममा र पीडितको नाममा पटकपटक लगत संकलन गरिएको भए पनि कुनै सुनुवाइ नभएको त्यहाँका स्थानीय बताउँछन्।
सुदूरपश्चिम प्रदेशको विपद् व्यवस्थापन परिषद्ले पारित गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना २०७९ अनुसार यस वर्ष बैतडीमा १० हजारभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। नेपाल मनसुन फोरमले यस वर्ष बैतडीमा ३५ देखि ५५ प्रतिशत वर्षा हुने सम्भावना रहेको जनाएको छ।
१७ पुुस्तादेखि बाढीको पीडा
ढुंगाडका स्थानीयका अनुसार यो बस्तीको अहिले १७औं पुस्ता हो। राम्रो उर्वर भूमि मानिँदै आएको ढुंगाडमा ७ सय रोपनी अहिले बगरमा परिणत भएको छ। ८२ परिवार प्रभावित छन्। अहिलेसम्म ढुंगाड सात पटकसम्म बाढीले प्रभावित बनेको छ। २०२७, २०४०, २०५७, २०६०, २०६४, २०७० र २०७८ मा गरी सात पटकसम्म ढुंगाडमा बाढीले असर पुर्याएको हो। ‘विगतमा सात पटकसम्म बाढी आएर खेतहरू यसरी नै बगरमा परिणत भइसकेका छन्’, सामाजिक अगुवा एवं स्थानीय कर्णबहादुर चन्दले भने, ‘मानवीय क्षति नभए पनि वर्षौंसम्म खेतहरू खेती गर्न पाएका थिएनौं। गत वर्ष सबैभन्दा बढी क्षति पुग्यो।’
सेती नदीमा आएको बाढीले क्षति पुर्याएको ढुंगाड बस्तीको घर।
बेलाबेलामा आउने बाढीकै कारण त्यहाँका स्थानीय बसाइँसराइ गर्नसमेत बाध्य छन्। ढुंगाडबाट बाढीकै कारण ४० परिवार तराई झरिसकेका चन्द बताउँछन्। ‘आर्थिक रूपमा सम्पन्न भएका परिवार पलायन हुन्छन्। गरिब कहाँ जाने ? यो क्षेत्रबाहेक कतै जमिन छैन’, उनले भने। १७ पुस्तादेखि बस्दै आएको ढुंगाडले बेलाबेला समस्या खेप्दै आएको अर्का स्थानीय इन्द्रबहादुर चन्दले जानकारी दिए। ‘बेलाबेला आउने बाढीबाट खेत बगर बन्थ्यो, अन्य कुनै ठाउँमा जमिन नभए पनि फेरि व्यवस्थापन गरेर खेती गर्न लायक बनाउथ्यौं’, उनले भने।
डोटीको आदर्श गाउँपालिकासँग जोडिएको पालिका रहेकाले पनि त्यहाँका स्थानीयले समस्या खेप्दै आएका छन्। ओहोरदोहोर गर्न पक्की पुल नहुँदा काठेपुलको भरमा उनीहरूले ओहोरदोहोर गर्ने गरेका छन्। असार २ गते मात्रै काठेपुलबाट खसेर १७ वर्षीया डल्लु अधिकारीको मृत्यु भएको थियो। ‘पुल नहँुदा बेलाबेलामा समस्या हुँदै आएको छ। कैयौंले ज्यान गुमाइसके, यहाँको समस्या कहिल्यै समाधान हुने भएन’, स्थानीय द्रोपती धामीले भनिन्।