बूढानीलकण्ठ १० दिन अन्धकार हुने

बूढानीलकण्ठ १० दिन अन्धकार हुने

काठमाडौं : बूढानीलकण्ठ नगरपालिका तीन दिनदेखि अन्धकारमा छ। चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएपछि त्यहाँको विद्युत् आपूर्ति बन्द भएको हो। 

सबस्टेसनमा रहेका १०÷१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटामा बुधबार बिहानदेखि समस्या आएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। अझै  १० दिन विद्युत् आपूर्ति बन्द हुने प्राधिकरण प्रसारण लाइन प्रमुख दीर्घायु श्रेष्ठले जानकारी दिए।

ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डिखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द छ। उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत् आपूर्ति हुँदै आएको थियो। चपलीमा १५ देखि २० मेगावाट लोड रहेको छ।

प्रमुख दीर्घायु श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत् आपूर्ति गरिरहेको बताए। ‘बालाजु, महाराजगन्ज, चाबहिललगायत नजिकका सबस्टेसनबाट फिडरलाई चालू गरिएको छ,’ उनले भने, ‘तर, उच्च माग (पिक)को बेला फिडरले फूल लोड लिन नसक्ने भएको हुँदा रोटेसनमा विद्युत् आपूर्ति भइरहेको छ।’ समस्या देखिएको ट्रान्सफर्मरलाई बिहीबार दिनभर चार्ज गर्न कोसिस गर्दा नसकिएको उनले जानकारी दिए। 

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय अन्तर्गत काठमाडौं उपत्यका सुदृढीकरण आयोजनासँग खरिपाटीमा रहेको नयाँ ट्रान्सफर्मरलाई जडान गर्ने तयारी भएको छ। चपली र फुटुङमा सबस्टेसन बनाउनका लागि भनेर झिकाइएको ट्रान्सफर्मरलाई सोधभर्ना गर्ने गरी चपलीमा जडान गर्न लागिएको  पनि श्रेष्ठले जानकारी दिए। 

नयाँ ट्रान्सफर्मरलाई खरिपाटीबाट शनिबार चपली पुर्‍याइनेछ। त्यसपछि, ट्रान्सफर्मरमा तेल हाल्ने, जडान गर्ने, टेस्टिङ गर्ने लगायतका आधारभूत तयारीको काम गर्न एक हप्तादेखि १० दिनसम्म लाग्ने 
बताइएको छ। 

प्राविधिक कारणले जलेको ३४ मेगाबाइट (एमबी) को ट्रान्सफर्मलाई हटाएर जगेडामा रहेको ४५ एमबीको ट्रान्सफर्मर जडान गर्न लागिएको छ। नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत् आपूर्ति सुचारु गर्न टोली परिचालित भएको श्रेष्ठले उल्लेख गरे। 

प्राधिकरणले नयाँ ट्रान्सफर्मर किन्नका लागि धेरै समय लाग्ने कारणले जगेडाबाट नै काम चलाउन लागिएको हो। ‘प्राधिकरणले नयाँ ट्रान्सफर्मर किन्ने हो भने टेन्डर आह्वान गरेर सबै प्रक्रिया पुर्‍याउँदा एक वर्ष नै लाग्छ। त्यही भएर वैकल्पिक बाटो अपनाइएको हो,’ श्रेष्ठले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.