बर्खे बिदा भइसक्यो, विद्यार्थीको हातमा पुस्तक छैन
बैतडी : बैतडीको सुर्नया गाउँपालिका-४ मा रहेको राष्ट्रिय माध्यमिक विधालय फाटीगडामा कक्षा ७ मा ३० जना विद्यार्थी अध्ययनरत छन्। ती मध्ये ११ जनाको हातमा मात्रै पुस्तक पुगेको छ। १९ जना विद्यार्थी रित्तो झोला लिएर विद्यालय आउछन्। ‘कक्षा ७ को पाठ्यक्रम पनि बदलिएको छ, सबैको हातमा पुस्तक छैन।’ राष्ट्रिय मावि फाटीगडाका शिक्षक प्रकाश भाटले भने।
यसैगरी सुर्नया-४ कै पञ्चदेव आधारभूत विद्यालयमा पनि पाठ्यपुस्तक पुगेका छैनन्। कक्षा १ र २ बाहेकका सबै कक्षामा पुरा पाठ्यपुस्तक नपुगेको प्रद्यानाध्यापक केशव मडैले बताए।
जिल्लाका केही विद्यालयहरुले बर्खे बिदा पनि गरीसकेका छन्। तर पाठ्यपुस्तक सबै विद्यार्थीको हातमा पुगेका छैनन्। मेलौली नगरपालिकाका विद्यालयहरुमा वर्षे बिदा भइसकेको छ भने सबै विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको शिक्षकहरुले बताएका छन्। कक्षा १ देखि १० सम्म नै आशिंक विद्यार्थीहरुको हातमा पुस्तक नपुगेको मेलौली-३ मा रहेको सुदर्शन माविका शिक्षक धनसिंह ठगुन्नाले बताए। ‘कक्षा ४, ७ र ९ को पाठ्यक्रम बदलिएको छ तर सबै पुस्तक पुगेका छैनन्’ उनले भने।
शिक्षा विकास तथा समन्वय इकाई बैतडीका अनुसार जिल्लामा करिब २० देखि २५ प्रतिशत विद्यार्थीहरुको हातमा पुस्तक पुगेका छैनन्। माथिबाटै पुस्तकहरु कम आएको हुनाले सबै बिद्यार्थीको हातमा पुस्तक पुग्न नसकेको शिक्षा विकास तथा समुन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताए। धनगढी वितरण केन्द्रबाट पनि सिमित तरिकाले नै वितरण भइरहेकाले सबै पाठ्यपुस्तक पुग्न नसकेको उनको भनाइ छ।
जेठ पहिलो साता देखि नै पठनपाठन सुरु भएको थियो। वर्षेबिदा हुनै लाग्दा पनि पुस्तकहरु नपुग्दा बालबालिकाहरुको पढाई प्रभावित बनेको मणिलेक मावि मेलौलीका प्रद्यानाध्यापक रमेशदत्त बागले बताए।
जिल्लामा कक्षा १ देखि १० सम्म ८३ हजारविद्यार्थीहरु अध्ययनरत छन्।