एक कार्यकाल सकिएपछि जुनीचाँदेमा बल्ल पुग्यो बैंक
जाजरकोट : जनप्रतिनिधिहरुको पहिलो कार्यकाल सकिएपछि जिल्लाको जुनिचाँदे गाउँपालिकामा बैंकको सेवा आरम्भ भएको छ। गाउँपालिकाको प्रशासनिक केन्द्र परालेमा कृषि विकास बैंकको शाखा स्थापना भएको हो।
सुरक्षा र प्रशासनिक केन्द्रको विवादको कारण देखाउँदै शाखा स्थापना गर्न नमानेको कृषि विकास बैकले अस्थायी प्रहरी पोष्ट स्थापनासँगै सेवा प्रारम्भ गरेको हो। एक महिना अघिमात्र परालेमा सुरक्षा पोष्ट स्थापना भएको थियो। तर गाउँपालिकाले आफ्नो स्थायी प्रशासनिक केन्द्र भने अझै तोक्न सकेको छैन। सरकारले तोकिदिएको परालेबाट सेवा संचालन गरिरहेको छ। प्रशासनिक केन्द्र नतोकिँदा भवनलगायतका भौतिक संरचना बन्न सकेका छैनन्। बैक स्थापनासँगै स्थानीयलाई रकम भुक्तानी लिन सहज भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर केसीले बताए।
उनकाअनुसार बैंक नहुँदा आयोजनाका भुक्तानी लिन, प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लिन र सामाजिक सुरक्षा भत्ता लिन दुई दिनको बाटो हिडेर सदरमुकाम जानुपर्ने बाध्यता थियो। बैंकको शाखा स्थापनासँगै बैंकिङ सेवा सुविधा सबै गाउँमै पाइनेछ। बैंकको शाखा स्थापनाका लागि कृषि विकास बैंक कर्णाली प्रदेश प्रमुख खुर्सेद अहमद जुनीचाँदेको पराले पुगेका थिए।
गाउँपालिका अध्यक्ष बेदबहादुर शाही र बैंकका प्रदेश प्रमुख अहमदले बुधबार संयुक्त रुपमा शाखाको उद्घाटन गरी सेवा आरम्भ गरेका थिए। बैंकको शाखा स्थापनासँगै जुनीचाँदेमा आर्थिक कारोबारमा सहजता आउने बैंकको शाखा प्रमुख नरभुपाल थारुले बताए।