जुनीचाँदेमा बल्ल बैंक
जाजरकोट : जनप्रतिनिधिहरूको पहिलो कार्यकाल सकिएपछि जाजरकोटको जुनीचाँदे गाउँपालिकामा बैंकको सेवा आरम्भ भएको छ। गाउँपालिकाको प्रशासनिक केन्द्र परालेमा कृषि विकास बैंकको शाखा स्थापना भएको हो।
सुरक्षा र प्रशासनिक केन्द्रको विवादको कारण देखाउँदै शाखा स्थापना गर्न नमानेको कृषि विकास बैंकले अस्थायी प्रहरी पोस्ट स्थापनासँगै सेवा प्रारम्भ गरेको हो।
एक महिनाअघि मात्र परालेमा सुरक्षा पोस्ट स्थापना भएको थियो। तर, गाउँपालिकाले आफ्नो स्थायी प्रशासनिक केन्द्र भने अझै तोक्न सकेको छैैन। सरकारले तोकिदिएको परालेबाट सेवा सञ्चालन गरिरहेको छ। प्रशासनिक केन्द्र नतोकिँदा भवनलगायतका भौतिक संरचना बन्न सकेका छैनन्। बैंक स्थापनासँगै स्थानीयलाई रकम भुक्तानी लिन सहज भएको गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर केसीले बताए।
उनका अनुसार बैंक नहुँदा आयोजनाका भुक्तानी लिन, प्रधानमन्त्री रोजगार कार्यक्रमको रकम लिन र सामाजिक सुरक्षा भत्ता लिन दुई दिनको बाटो हिँडेर सदरमुकाम जानुपर्ने बाध्यता थियो। बैंकको शाखा स्थापनासँगै बैंकिङ सेवासुविधा सबै गाउँमै पाइनेछ। बैंकको शाखा स्थापनाका लागि कृषि विकास बैंक कर्णाली प्रदेश प्रमुख खुर्सेद अहमद जुनीचाँदेको पराले पुगेका थिए।