जनजीवनमा होमियोप्याथी
हेर्दाहेर्दै आकाशलाई कालो बादलले ढाक्न लाग्यो। गड्याङ–गुडुङको आवाज र बिजुलीको चमकले वर्षा ऋतुको आगमनको खबर दिँदै असार महिना आएको छ। चिसोहावाको साथै पानीका छिटाहरू पर्न थालेका छन्। खेतीकिसानी गर्ने किसानमा खुसीको लहर छाएको छ। केटाकेटीमा बालपनको उत्साह सडक तथा आँगन सबैतिर देखिन थाल्यो। तर त्यही वर्षाको मौसम भने कसैलाई शरीरका जोर्नी र मांसपेशीहरू दुखेर (बाथरोग) पीडादायी बन्न सक्छ। विश्वको प्राण मानिने सूर्य जसको धार्मिकशास्त्र वेदमा उपासना गरिएको छ। त्यही सूर्यको तापले गर्मीको मौसम मा ‘लू’ अर्थात् (सन्स्ट्रोक)लाई निम्त्याइँ कतिलाई आफ्नो चपेटामा पारी प्राण जोगाउन गाह्रो पार्छ भने कतिलाई यसको प्रभाव पर्दैन।
पूर्णिमाको दिन समुद्रमा ज्वारभाटा आउँछ। त्यसबेला मानव मस्तिष्कमा पनि एक प्रकारको मादकतायुक्त मनोविनोद गर्ने इच्छा जागृत भएर आउँछ। अर्थात्, उसको शरीरमा रहेको ६ लिटर रगतमा पनि एक प्रकारको उथलपुथल हुन्छ, आनन्दानुभूतिको ज्वारभाटा। जसको फलस्वरूप कसैमा घरको छतमा चढी पूर्णिमाको चन्द्रमालाई घण्टौं निहार्ने त कसैमा कथा–कविता रच्ने, नाच्ने, गीत गाउने त कसैमा नौकाबिहार गर्ने जस्ता विभिन्न मानसिक क्रियाकलाप गरेको देखिन्छ। त्यही परिस्थितिले कसैलाई छारे रोग (मिर्गी), उन्माद (पागलपन)मा पनि पुर्याउँछ। जसलाई हाम्रो गाउँ घरमा औंसि–पूर्णिमा लागेको अथवा वनदेवी लागेको भनिन्छ।
हिमाली क्षेत्रमा भएको हिमपातका कारणले तराई–मधेशतिर चलेको चिसो हावाबाट कतिपय मानिसलाई रुघाखोकी, हाछ्युँ आउनुका साथै नाक, आँखा, घाँटी, छाती आदि शरीरका विभिन्न अंगलाई प्रभावित पार्छ। कसैलाई भने केही असर गर्दैन, किन ? आमाबाबुको बडो लाड–प्यारमा पालिएकी छोरी उमेर पुगेर विवाहगरी, नवविवाहित दुलही बनी एक अपरिचित परिवार अञ्जान ठाउँमा गएर आफूलाई रमाउन गर्नुपर्ने अभ्यास, आफूले घरका सदस्यप्रति गर्नुपर्ने व्यवहार र उनीहरूले गरेका आफूप्रतिको व्यवहार यी सोचले गर्दा उसको मनोदशा कस्तो होला ? यो सामाजिक प्रभाव हो। यसरी हामी जति गहिरिएर हेर्दै जान्छौं, त्यति नै विभिन्न प्राकृतिक– स्वरूपको प्रभाव हाम्रो जनजीवनमा परेको देखिन्छ।
मानव शरीर केवल हाड, छाला र मासुको थुप्रो मात्र होइन, मन, बुद्धि, चित्त र भावनासहितको एक सचेत प्राणी हो। यस प्रकृतिमा पाइने हरेक तŒव मानव शरीरमा पनि विद्यमान छ। अतः देशकालको परिधिबाट ऊ अलग्ग भएर कसरी रहन सक्छ ? त्यसैले होला, यी भिन्नभिन्न समयमा परिवर्तित हुने प्राकृतिक प्रभावको मानव मन र तन माथि निरन्तर क्रिया–प्रतिक्रिया भइरहन्छ। यही हाम्रो जीवन हो जो हरेक प्रकारको परिस्थितिसँग लडिरहन्छ। यी प्रभावबाट आफ्नो बचाव गर्न प्रकृतिले शरीरभित्र डाक्टरको स्थापना गरिराखेको छ। जसको कर्तव्य यो हो कि ऊ निरन्तर सुरक्षा व्यवस्थाप्रति सजग रहोस्। होमियोप्याथीको दर्शनमा यसलाई जीवनशक्ति (भाइटल फोर्स) भनिन्छ। होमियोप्याथी चिकित्साले व्यक्तिको प्रतिरक्षात्मक प्रणाली (इम्युनो सिस्टम)लाई सुदृढ पार्छ। यसलाई ती सबै आवश्यक सामग्री प्रदान गर्छ।
विभिन्न यस्ता प्रभाव सूर्य, चन्द्र, हावा, मौसम परिवर्तन, सामाजिक प्रभाव आदिबाट मानव जीवनको शारीरिक, मानसिक एवं व्यावहारिकका साथै अंग–प्रत्यंगमा के कस्तो प्रकारको असर पार्छ ? त्यस अवस्थालाई होमियोप्याथी चिकित्सामा मोडालिटी भनिन्छ। अर्थात्, कुन भौतिक परिस्थितिमा बिरामीको रोग घट्छ, बढ्छ वा रोगी आफूलाई सञ्चो–बिसञ्चो महसुस गर्छ। यस चिन्तन धारालाई रोगको निदानमा सर्वोच्च स्थान दिने जुन चिकित्सा विज्ञान हो त्यो हो, ‘होमियोप्याथी’। जसमा रोगको निदान गर्न रोगीको मानसिक, शारीरिक, सामाजिक, जैविक, मनोवैज्ञानिक सबै तहबाट समष्टिगत रूपमा अध्ययन गरिन्छ। अर्थात्, एउटा सिंगो जीवनको अध्ययन हो, होमियोप्याथी। यसरी गहिरिएर सूक्ष्म अध्ययन गरेर एक पटकमा एउटा औषधि (सिगंल रेमिडी)को प्रयोग गर्ने विधान होमियोप्याथी चिकित्सा विज्ञानबाहेक संसारको अन्य कुनै पनि चिकित्सा शास्त्रमा छैन।
होमियोप्याथीमा उपरोक्त उल्लेख गरिएका ती प्रभावहरूलाई पहिलो स्थान दिनुका साथै निम्नलिखित कुराहरूमा पनि विशेष ध्यान दिइन्छ। जस्तै, रोगीको प्रकृति कस्तो छ ? रोगीलाई मौसमबाट कतिको प्रभाव पार्छ। रोगीको घरपरिवार, समाजमा कस्तो स्थान छ ? रोगको घट्ने वा बढने समय, अवस्था, स्थिति कस्तो छ ? रोगीको रहन–सहन, खानपिन, आचरण र व्यवहार कस्तो छ ? यसबाहेक साधारणत आधुनिक चिकित्सा पद्धति (एलोप्याथी)मा रोग निदानका लागि अपनाइने प्याथोलोजिकल परीक्षण गराइन्छ। ती सबै प्रतिक्रयालाई होमियोप्याथीले पनि अपनाएको हुन्छ।
होमियोप्याथी मेटेरिया मेडिका (भेजष लक्षण संग्रह पुस्तिका)मा करिब सात हजार औषधिहरूको गुण धर्मको वर्णनले भरिएको छ। होमियोप्याथी मेडिकल रिपोर्ट (लक्षणहरूको डिक्सनेरी)मा इन्डेक्स (सूची) सूचीबद्ध रूपमा सिम्टम्सलाई अल्फावेटीकल अर्डरमा राखिएको छ। जसको माध्यमले उपर्युक्त वर्णन गरिएका मोडालिटीको साँचोले खोल्न सकिन्छ। जसका केही उदाहरण निम्नानुसार छन्, बादल लागेको चिसो हावा, वर्षा मौसमको प्रभावमा रसटक्स, रोडोड्रेनडोन, डल्कामारा, नेट्रम सल्फ।
पुस–माघको अति जाडो यामको प्रभावमा भने एकोनाइट, कस्टिकम, नक्स भोमिका बसन्त ऋतुबाट प्रभावित रोगहरूमा, आरेलिया रेसिमोसा, ब्रायोनिया, पल्साटिला, इपिकाक आदि। प्रचण्ड घाम र गर्मीको प्रभावमा एकोनाइट, ग्लोनाइन, नेट्रम कार्ब, नेट्रम म्युर लिनुपर्छ। औंसी–पूर्णिमाको समयमा हुने छारे रोग (मिर्गी) पागलपन (उन्माद), एकोहोरोपन तथा अन्य मनोविनोद, मानसिक प्रभावमा, एन्टिम क्रुड, साइलिसिया प्रयोग गर्नुपर्छ। सरुवा भएको कर्मचारीले नयाँ ठाउँमा आफूलाई व्यवस्थित हुन असमञ्जस भएमा बालनट प्रयोग गर्नुपर्छ। कसैको दबाबमा बस्ने प्रतिक्रिया नजनाउने र आफैंमा पिरोलिनका लागि, स्टेफसिग्रिया र कोलोसिन्थस।
रात दिनको गृह–कलहबाट त्रस्त अवस्थामा नेट्रम म्युर र प्रेम वियोगद्वारा उत्पन्न शारीरिक एवं मानसिक पीडामा इगनेसिया र नेट्रम म्युर लिनुपर्छ। गर्मीको मौसममा पनि न्यानो लुगा कोट, टोपी, ऊनीको गलबन्दी र तातो पानीको प्रयोग गर्नेहरूका लागि सोरिनम लिन सकिन्छ। सभ्रान्त घरकी धनी महिला डिपार्टमेन्टल स्टोरबाट हजारौंको सामान खरिद गरिसकेर पनि अनावश्यक एक साधारण हेयर पिन चोर्ने कार्य गर्छे भने कुरारी र एबिस प्रयोग गर्नुपर्छ। यस प्रकार मानव जीवनमा आइपर्ने विभिन्न प्रभावलाई ध्यानमा राखी उपचार गर्न सक्षम छ, होमियोप्याथी। अतः भन्न सकिन्छ– होमियोप्याथी वर्तमान र भविष्यमा आउने चिकित्सा विज्ञानको महत्त्वपूर्ण अंश हो।