बेनी-दरवाङ सडकको पहिलो खण्डको कालोपत्रेे सकियो
बेनी : म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडकको पहिलो खण्ड कालोपत्रेे भएको छ।
बेनीदेखि मंगला गाउँपालिका-२ सिम जोड्ने १२ किलोमिटर सडकको कालोपत्रे भएपछि डेढ घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ।
यसअघि एक घण्टादेखि डेढ घण्टा लाग्ने सडकको यात्राअवधी कालोपत्रे भएपछि १५ देखि २० मिनेट छोटिएको मंगला गाउँपालिका-२ सिमलचौरका अशोक पौडेलले बताए।
'म्याग्दीको पश्चिमी भेगका नागरिकलाई आवजजावतमा सहज भएको छ,' उनले भने 'ढूवानी र आवतजावतमा सहजतासँगै यस क्षेत्रको ब्यापार व्यवसायमा पनि फरक हुन थालेको छ।'
बेनी नगरपालिका-४ तातोपानीका कृषक भविलाल सापकोटाले बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने समस्याबाट मुक्ति पाएर सहज, सुरक्षित र छिटो यात्रा गर्न पाएको बताए।
'हिलो, धुलो, खाल्डाखुल्डी र साँघुरो सडकमा हिड्नै गाह्रो थियो,' १२ वर्षदेखि बेनीमा मोटरसाइकलमा दूध ढुवानी गर्दै आएका उनले भने 'सडकका कारण कुनै दिन बजारमा दूध पुर्याउन सकिदैनथ्यो।'
मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने म्याग्दीको रणनीतिक महत्वको बेनी-दरबाङ सडकको बेनीदेखि सिम खण्ड पूर्वाधार विकास कार्यालयले कालोपत्रे गरेको हो।
कार्यालयका निमित्त प्रमुख गुरुदत्त अधिकारीले बेनी-सिम खण्डको सडक कालोपत्रे सकिएको जानकारी दिए। 'पहिरोको समस्या र जग्गा विवाद भएको बाहेकका ठाउँमा कालोपत्रे सकिएको छ,' उनले भने '११ मिटर फराकिलो सडकमा ७ मिटर चौडाइका दरले कालोपत्रे गरिएको हो।'
डिबिएसटी प्रविधीको कालोपत्रे गरिएको हो। गत चैत पहिलो हप्तादेखि थालिएको कालोपत्रे गर्ने काम असार अन्तिम साता सकिएको कार्यालयका इञ्जिनियर सञ्जय सुवेदीले बताए।
सडक विस्तार गरेर फराकिलो, नाली र पर्खाल निर्माण सकिएपछि प्राइम कोट, बिटुमिन र चिप्स राखेर दुई चरणमा कालोपत्रे गर्नुअघि रोडा, गिट्टी, बालुवा, ढुङ्गा र माटोलाई सडकमा पेलेर लेभल मिलाइएको थियो।
२०७४ असोज ४ गते ४५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको यो सडकमा पर्याप्त वजेट विनियोजन नहुने, निर्माण कम्पनीले उपकरण र मजदुर परिचालन गर्न नसक्दा ढिलाई भएको हो।
तत्कालीन सडक डिभिजन कार्यालय बागलुङले ठेक्का लगाएको यो आयोजना २०७५ पुषमा प्रदेश सरकारलाई हस्तान्तरण भएको थियो। कालोपत्रे भएको खण्डको ढुवानी र यात्रु भाडा समायोजन गर्न स्थानीयबासीले माग गरेका छन्।
म्याग्दीको 'लाईफ लाइन' मानिने बेनी-दरवाङ सडकको २०६३ मा मार्ग खुलेको थियो। आयोजनाको दोस्रो चरणमा लाम्पाटादेखि दरवाङ सम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा २०७६ जेठ ३१ गते बिरुवा-क्याराभान जेभीले ठेक्का लिएको थियो।
पछिल्लो एक वर्षयता निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको यो सडकमा हिलो, धुलोको समस्याका साथै दुर्घटनाको जोखिम बढेको मंगला गाउँपालिका-२ बाबियाचौरका श्रीराम पौडेलले बताए। यो खण्डको हालसम्म करिब ५० प्रतिशत मात्र भौतिक प्रगति छ।
मंगला गाउँपालिकाको सिमदेखि लाम्पाटा सम्मको साढे दुई किलोमिटर सडक स्तरोन्नतिका लागि सम्झौता गरेका निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेका छन्। चार किलोमिटर सडक कालोपत्रे गर्न २०७८ पुष १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले १० करोड ७० लाख २१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
ठेक्का सम्झौताको म्याद १८ महिनाको हो। सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गर्न लागिएको हो।