महन्तको लगानीमा प्रश्न

महन्तको लगानीमा प्रश्न

जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका—५ गंगुलीस्थित मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र छ। जसका संस्थापक हुन्, जानकी मन्दिरका महन्त रामतपेश्वर दास। उक्त केन्द्र ३ बिग्घा १५ कट्ठा जग्गामा करिब ६० हजार स्क्वायर फिटको भवनमा सञ्चालित छ। 

२०६३ सालमा नेपालकै पहिलो निजी लगानीमा खोलिएको उक्त केन्द्र अहिले नाम मात्रको छ। यहाँ न त पठनपाठन हुन्छ न त अन्य सेवा नै दिइन्छ। नेपाल संस्कृत विश्वविद्यालयबाट मान्यता प्राप्त गरी सञ्चालनमा ल्याइएको यो कलेजको सम्बन्धन अहिले खारेज गरिसकिएको छ। र, यसका सम्पूर्ण जग्गा र भवन व्यक्तिका नाममा नामसारी गरिएको छ। 

दासले २०६२ सालमा केन्द्रलाई कानुनी रूपमा कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गराएका थिए। नाफामुलक व्यवसायका रूपमा दर्ता गराइएको यस कम्पनीलाई मूर्तरूप दिन दासको निकै करिबी निर्मला ठाकुरले आफ्नो निजी जग्गा उपलब्ध गराएकी थिइन्।  ठाकुरले करिब ४ बिघा जग्गा कम्पनीको नाममा साढे ६ लाख रुपैयाँमा राजीनामा गरेको कागजी प्रमाण छ। जग्गा प्राप्ति भएपछि दासले कलेज स्थापनाका लागि प्रक्रिया सुरु गरे। 

कम्पनीको सुरुआतमा चुक्ता पुँजी १ करोड २५ लाख देखाइएको थियो। जसमध्ये दासको नाममा रहेको लगानी ८५ लाख थियो जो कि कुल पुँजीको ६८ प्रतिशत हुन आउँछ भने निर्मला ठाकुरको नाममा ४० लाख लगानी देखाइयो जो कुल पुँजीको ३२ प्रतिशत हुन जान्छ। मन्दिरको पूजाआजा गर्नुबाहेक अन्य पेसामा संलग्न नरहेका दासको मूल आम्दानीको स्रोत मन्दिर नै हो। 

धनुषाको परवाहाको निकै गरिब परिवारमा जन्मिएका दासको पैतृक सम्पत्ति पनि छैन। कम्पनी दर्ता गर्दा देखाउनुपर्ने ३ पुस्ते दस्तावेजमा पनि दासले मन्दिरका पूर्वमहन्त स्वर्गीय रामशरण दासलाई गुरु पिता र बाजेको नाममा रामशरण दासका गुरु स्वर्गीय नबल किशोर दासलाई राखेका छन्। यसरी आफू मन्दिरको प्रतिनिधि पात्रका रूपमा सो कम्पनी दर्ता गराइएको छ।  कलेजको सबै भौतिक निर्माण जानकी मन्दिरले नै गराएको हुनाले दासको नाममा रहेको ६८ प्रतिशत लगानी मन्दिरकोे सम्पत्ति रहेको कानुनी रूपमा देखिन्छ। मन्दिरकै लगानीमा सञ्चालित अनुसन्धान केन्द्र दासको नाममा रहेको शेयर २०७४ सालमा निर्मला ठाकुर र अनुराधा पाण्डेयको नाममा बेचियो। 

दासले ८५ लाखको आफ्नो शेयरमध्ये ६० लाख निर्मलाको नाममा र २५ लाख अनुराधाको नाममा बिक्री गरेको प्रमाण छ। शेयर खरिद गरेकी अनुराधा निर्मलाको नातामा भान्जी पर्छिन्। ११ वर्षमा जग्गा र भवनको मूल्यांकन ५० गुणासम्म बढे पनि दासले शेयर पुरानै मूल्यांकनमा बिक्री गर्नु आफैंमा शंकास्पद छ। तर, शेयर जे जसरी बिक्री गरिएको भए पनि सो रकम जानकी मन्दिरको आम्दानीमा दाखिला हुनुपर्नेमा त्यसो भएको पाइँदैन। 

मन्दिरको सम्पत्तिबाटै सञ्चालित कलेजको शेयर बिक्री हुँदा त्यसको रकम पनि मन्दिरलाई नै आउनुपर्नेमा सो नआएर दासले व्यक्तिगत रूपमा रकम हिनामिना गरेको देखिन्छ। शेयर बिक्री भएको एक वर्षपछि २०७५ मा उक्त कम्पनीको अधीनमा रहेको घर जग्गा पनि बिक्री गरिएको छ। निर्मलाले अनुराधाका श्रीमान् (ज्याइँ) दीपेन्द्र पाण्डेको नाममा सबै जग्गा र भवन नामसारी गरेको स्रोतको दाबी छ। 

सरकारी मूल्यांकनअनुसार हाल ३ लाख ४० हजार कट्ठा पर्ने सो जग्गा बिग्घाको ७० लाख पर्छ। जसको कुल मूल्य अढाई करोड हुन्छ। त्यसैगरी भवनको मूल्यांकन करिब १० करोड गरी जम्मा सरकारी मूल्यांकनमा जग्गा र कलेजको भवन मात्रै १५ करोडको छ। तर, चलनचल्तीको मोलअनुसार कलेजको जग्गा र भवनको मूल्य ४० देखि ५० करोड रुपैयाँसम्म रहेको छ। 

महन्तले मन्दिरको करोडौं सम्पत्ति यसरी व्यक्तिको नाममा नामसारी गर्दासमेत कसैले कुनै चासो देखाएका छैनन्। भित्री रूपमा उनकै मिलोमतोमा सबै सम्पत्ति कुम्ल्याउने प्रयास भइरहेको स्रोतको दाबी छ। कम्पनीको सम्पत्ति दीपेन्द्रको नाममा भइसकेपछि कम्पनीको शेयर शिवनारायण झा र सुनीलकुमार शर्मालाई १ करोड २५ लाखमा बिक्री गरिएको थियो। तर, कम्पनी खरिद गरेर पनि झा र शर्माले आर्युवेद कलेज सञ्चालन गराउन सकेका छैनन्। हाल आएर कलेको सम्बन्धननै खारेज गरिएको छ। 

कलेजमा आफ्नै लगानी भएको दासको दाबी 

महन्तले कलेजमा लगानी गरेको रकम आफ्नो निजी रहेको दाबी गरेका छन्। अन्नपूर्णकर्मीसँगको कुराकानीमा उनले भने, ‘आयुर्वेद कलेजमा मैले बैंकबाट ऋण लिएर र गाउँमा रहेको पैत्तृक सम्पत्ति ल्याएर लगानी गरेको हुँ।’ तर, उनले बैंकबाट लिएको ऋणको प्रमाण भने देखाएका छैनन्। 

महन्तको हैसियतमा रामतपेश्वरले कुनै पनि सम्पत्ति आर्जन गर्नु वा खर्च गरियो भने त्यसको दायित्व जानकी मन्दिरको हुन आउने अधिवक्ता राजकुमार महासेठ बताउँछन्। ‘यो सामान्य कानुनी सिद्धान्त हो। यदि उनले आफ्नो परिचय रामतपेश्वर झा भनेर दिएका हुन्थे र सो आधारमा कुनै सम्पत्ति आर्जन वा लगानी गरेका हुन्थे भने त्यो उनको निजी हुन जान्थ्यो। तर, महन्त दास वैष्णवको पदमा बसिसकेपछि उनले महन्तको हैसियतमा कुनै सम्पत्तिमा लगानी गरेका छन् भने त्यो उनको उत्तराधिकारी वा सम्बन्धित मठ मन्दिरको लगानी वा सम्पत्ति हुन जान्छ।’

गुठी संस्थान ऐन २०३३ अनुसार, महन्त, पुजारीलगायतका जनशक्ति व्यवस्थापन निर्देशिका, २०७७ को ७ मा महन्तको नियुक्तिसम्बन्धी व्यवस्था गरिएको छ। जसअन्तर्गत मठ व्यवस्थापनका लागि मठको दानपत्र, लिखत, लालमोहर र कुनै खास परम्परा भए सोबमोजिमसमेत हुने गरी समितिको स्वीकृति लिई प्रशासकले ऐनको दफा १६ बमोजिम महन्त नियुक्ति गर्न सक्नेछ। 

वैष्णव समुदायको नीतिअनुसार दासको नियुक्ति 

२०५३ साउन २७ गते गुठी संस्थान केन्द्रीय कार्यालयद्वारा जानकी मन्दिरको महन्त नियुक्ति सम्बन्धमा जनकपुर गुठी तहसित तथा खर्च कार्यालयलाई पत्राचार गरिएको थियो। मन्दिरका पूर्वमहन्त रामशरण दास २०५३ असार १० गते मृत्यु भएपछि रिक्त महन्त पदमा दास नियुक्त गरिएको थियो। 

‘महन्तको निजी आम्दानी मन्दिरकै हुन्छ’

रामानन्दीय वैष्णव समुदायलाई अपनाएर महन्तको गद्दीमा बस्ने जो कोही पनि आफ्नो नीजि जीवन त्याग गरेर, घर–गृहस्थी र धन सम्पत्ति त्याग गर्नुपर्ने परम्परा रहेको जनकपुरस्थित श्रृंगारकुटीका महन्त सूर्यनारायण दास बताउँछन्। ‘हामी सानैदेखि मठमन्दिरमै सेवा गर्दै आएका र पछि महन्त गुरुले आफ्नो चेला स्वीकार गरेर विश्वास गरेर पञ्चधर्मको पालनासहित महन्तको पगरी दिने परम्परा छ। म पनि यसै परम्पराअनुरूप महन्त बनेको छु र जानकी मन्दिरका महन्त ज्यू पनि यसै परम्परा अनुरुप महन्त हुनुहुन्छ,’ सूर्यनारायणले भने। यस परम्पराअनुसार महन्त नियुक्त भएकाहरूको आफ्नो कुनै निजी सम्पत्ति हुँदैन। उनीहरूको सम्पत्तिमा सम्बन्धित मठमन्दिरको हक हुन्छ।’

महन्त दासको मनपरी

२०५३ सालमा रामतपेश्वर दास जानकी मन्दिरको महन्तमा ५ वर्षका लागि नियुक्त भएका थिए। गुठी ऐनअनुसार मन्दिरको पुजारी सन्त महन्तको आचारसंहिता लागू गरी प्रत्येक ५÷५ वर्षमा पदावधि नवीकरण हुने र २÷२ वर्षमा संस्थानहरूको लेखा परीक्षण रिपोर्ट लिने नियम छ। तर, वार्षिक करोडौंं आम्दानी हुने जानकी मन्दिरको लेखा परीक्षण रिपोर्ट कहिल्यै सार्वजनिक गरिँदैन। झण्डै २० वर्षदेखि मन्दिरमा हालीमुहाली जमाएर बसेका महन्त दासले करोडौंको सम्पत्ति बिक्री गरेका छन् भने आफ्नो नाफाकै लागि मन्दिरका सम्पत्ति व्यक्तिहरूको नाममा गर्ने कामसमेत गरेका छन्। गुठी संस्थानले २०७० माघ १७ मा रामतपेश्वरलाई महन्त पदबाट हटाएर जगदीश दास वैष्णव ‘त्यागी’ लाई ‘एक वर्ष परीक्षण कालसहित’ पाँच वर्षको लागि महन्त पदमा नियुक्त गरेको थियो। तर, प्रक्रिया नपुर्‍याई नियुक्ति गरिएको भन्दै रामतपेश्वर र उनका समर्थकहरूले १९ माघमा गुठी संस्थान जनकपुरका तत्कालीन प्रमुख दीपक पाण्डेलाई कार्यकक्षमै कालोमसो दलेर नगरमा घुमाएका थिए। 

सर्वोच्च अदालतले ३ कात्तिक २०७० मा रामतपेश्वरको नियुक्तिमा समयावधि उल्लेख नरहेको हुँदा अन्तरिम आदेश जारी गर्नु नपर्ने भन्दै फैसला सुनाएकाले आफ्नो पद नसकिएको महन्तको तर्क छ। 

गुठीको जग्गा गुठी राना मेनेजरी अड्डाबाट गुठी संस्थानमा परिणत भएपछि ०२१ सालमा गुठी संस्थानको स्थापना हुँदा जानकी मन्दिरको जग्गा १ हजार १८४ बिघा थियो। जसमध्ये २ सय बिघा भारतको मोहनपुरमा थियो। तत्कालीन पुजारी रामतपेश्वर दास महन्त बनेपछि विस्तारै जग्गाहरू हराउँदै गयो। 

अहिलेको जानकी मन्दिरको जग्गाको रेकर्ड अनुसार ५ सय बिघाभन्दा पनि कम छ। मन्दिरको जग्गाहरू नियोजित रूपमा मास्ने र सम्पत्ति हिनामिना गर्दै आएका महन्त दासले मन्दिर व्यवस्थापनमा समेत खासै ध्यान दिएका छैनन्। मन्दिरकै माथि आलिशान भवनमा बस्दै आएका महन्त दासले आफ्नो सुविधाका लागि अत्याधुनिक सरसामानहरू मन्दिरभित्र राखे पनि सर्वसाधारणका लागि खानेपानीको समेत उचित बन्दोबस्त मिलाएका छैनन्। 

पछिल्लो समय मधेस सरकाररूारा मुख्यमन्त्री स्वच्छता अभियान कार्यक्रमअन्तर्गत मन्दिरमा ७ करोड २० लाखको लागतमा टाइल्स मार्बल जडान कार्य गरिएको थियो। जडान कार्य भईराख्दा खासै चासो नदेखाएका महन्त दासले चर्चा पाउनकै लागि हाल स्वच्छता अभियानअन्तर्गत भएका कामहरूले मन्दिरको सौन्दर्यीकरण बिगारेको आरोप लगाउँदै आएका छन्। मन्दिरभित्रका मूर्तिमा लगाइएका सुनका गरगहनासमेत हराइसकेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.