म्याग्दीका तीन वटा सामुदायिक वन समूह पुरस्कृत
म्याग्दी :डिभिजन वन कार्यालय म्याग्दीले मंगलबार तीन वटा सामुदायिक वन समूहलाई पुरस्कृत गरेको छ।
साथै एक/एक जना कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ। जिल्लाको रघुगंगा-५ को शिव महिला, मंगला-३ र ४ को टाडीबिसौना तथा मालिका-६ को घैरेनी वन उपभोक्ता समूहलाई पुरस्कृत गरिएको हो।
शिव, टाडीबिसौना र घैरेनीले प्रथम, दृतीय र तृतीय पुरस्कार वापत क्रमशः नगद दश हजार, सात हजार र पाँच हजार रुपैयाँ प्राप्त गरेका हुन्। जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना र निमित्त डिभिजन वन अधिकृत मनोज रानाभाटले नगद र प्रमाणपत्र वितरण गरे।
शिव महिलाकी सचिव धनमाया गोतामे, टाडीबिसौनाकी अध्यक्ष मनसुवी सापकोटा र धैरेनीकी अध्यक्ष हरिमाया बिकलाई नगद र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो।
यसैगरी उत्कृष्ट कर्मचारीको रुपमा वन रक्षक राजेन्द्र सापकोटा र पत्रकार तर्फ अन्नपूर्णकर्मी सन्तोष गौतमलाई प्रशंसापत्र तथा दोसल्लो ओढाएर सम्मान गरिएको थियो।
सहायक वन अधिकृत नरबहादुर क्षेत्रीले जिल्लाभर रहेका ३१४ वटा सामुदायिक वन समूह मध्य सब वन डिभिजन कार्यालयको सिफारिस र कार्यबिधी अनुसार आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट काम गर्ने तीन वटा समूह छनौट गरिएको बताए।
कार्यक्रममा निमित्त डिभिजन वन अधिकृत रानाभाटले चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारबाट बिनियोजन भएको एक करोड ७० लाख रुपैयाँ बजेट मध्य पुँजिगततर्फका अधिकांश कार्यक्रम कार्यान्वयन भएको जानकारी गराए। विभिन्न शीर्षकमा १६ लाख ४३ हजार ९०६ रुपैयाँ राजस्व संकलन भएको उनले बताए।