उपदानका नाममा क्याम्पसको करोड बढी रकम सक्ने तयारी

उपदानका नाममा क्याम्पसको करोड बढी रकम सक्ने तयारी

जाजरकोट: जिल्ला सदरमुकाममा रहेको भेरी ज्ञानोदय बहुमुखी क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीले उपदानका नाममा क्यापसको ढुकुटीमा रहेको १ करोड ९ लाख रुपैयाँ लिने तयारी गरेका छन्। 

क्याम्पसमा कार्यरत ८ जना उपप्राध्यापक, एक जना शिक्षण सहायक र ६ जना कर्मचारीलाई उपदान दिने प्रक्रिया अघि बढाएपछि जनस्तरमा विरोध सुरु भएको छ।

यसअघि त्रिभुवन विश्वविद्यालयबाट अस्थायी सम्बन्धन प्राप्त गरेर संचालन भैरहेको यो क्याम्पस केही वर्षअघि मात्र मध्यपश्चिम विश्वविद्यालयमा गाभिएको थियो। 

त्रिभुवन विश्वविद्यालय (टियु)बाट मध्यपश्चिम विश्वविद्यालय(एमयु)मा रुपान्तरण भएसँगै क्याम्पसमा कार्यरत प्राध्यापक र कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धामार्फत् प्रक्रिया पुर्‍याएर स्थायी गरिएको थियो।

प्राध्यापक कर्मचारीहरु एमयु मा स्थायी भएपनि टियु अन्र्तगत कार्यरत रहँदाको समयको उपदानको माग गरेका छन्। 

काम गरेको अवधिको उपदान प्राध्यापक कर्मचारीको एक लाखदेखि १३ लाख रुपैयाँसम्मको रकम मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा माग गरिएको क्याम्पस प्रमुख बलराम भण्डारीले बताए। 

मध्यपश्चिम विश्वविद्यालय नियमावली २०६९ अनुसार एमयुमा रूपान्तरण भई स्थायी नियुक्ती पाएका १० वटा क्याम्पसका शिक्षक, कर्मचारीले रूपान्तरण भई नियुक्ति प्राप्त गर्नुपूर्वको उपदान, निबृत्तिभरण, औषधोपचार खर्च, विदालगायतका निजहरुले प्राप्त गर्ने सुविधाहरु रुपान्तरणपूर्वको साविककै क्याम्पसबाट फरफारक गर्नुपर्नेछ भन्ने उल्लेख छ। 

भेरी ज्ञानोदय क्याम्पस सञ्चालन विधान दोस्रो संशोधन २०७४ मा उपदान सम्बन्धी ब्यवस्थामा क्याम्पसमा कार्यरत प्राध्यापक तथा कर्मचारीहरुले स्थायी रुपमा काम गरि पद त्याग गरेमा त्रिवि नियमावली तथा प्रचलित नियम कानुन र क्याम्पसको आर्थिकस्थितिअनुसार उपदान दिइनेछ।

सोही बुँदालाई टेकेर आफूहरुले उक्त उपदानको सुविधा रकम लिने प्रक्रिया अघि बढाएको क्याम्पस प्रमुख भण्डारीको भनाइ छ। 

उपकुलपति, रजिष्टार, डिन र एक जना बरिष्ठ प्रध्यापक सम्मिलित कार्यकारी परिषदले क्याम्पसमा मौज्दात रहेको रकमबाट उपदान लिन स्वीकृति दिएमा रकम झिकेर उपदान लिन मिल्ने प्रावधान रहेको छ। 

'स्वीकृतिका लागि विश्वविद्यालयमा आवश्यक कागजात पठाएका छौं। स्वीकृत भएमा हामीले पाउने सुविधा लिन्छौं क्याम्पस प्रमुख भण्डारीले भने-'हामी जस्तै अवस्थाका बबई बहुमुखी क्याम्पस बर्दियाका साथीहरुले ४ करोड रकम लिईसकेका छन्। यो प्रक्रिया यस अघिका क्याम्पस प्रमुख चन्द्रबहादुर बुढाको पालामै अघि बढेको हो। हामी नियमले दिएको सुविधा लिन लागेका मात्र हौ।'

क्याम्पसले टियुसँग सम्बन्धन हुँदा नै कृषि विकास बैक नेपालगञ्जमा ५० लाखको मुद्दती खाता खोलेको थियो। त्यसको म्याद हालै सकिएको छ। 

मुद्दतीको खाता पुनः नविकरण नगरे रकम झिक्न सकिन्छ। यही मौका छोपी उक्त रकम निकाल्न खोजिएको छ। उक्त रकमको ब्याज १५ लाख भएको छ। 

त्यस्तै क्याम्पसको नेपाल बैक लिमिटेड जाजरकोटमा साढे ८ लाख मुद्दती र ३५ लाख चल्ती खातामा बचत मौज्दात छ। प्राध्यापकहरुका नाममा ११ लाख पेश्की छ। 

यो सबै रकम जोड्दा एयुमा मर्ज भैसकेपछि बाहेकको रकम जम्मा एक करोड १९ लाख ५० हजार रुपैयाँ हुन आउँछ। त्यो सबै रकम उपदानका नाममा सक्ने तयारीमा क्याम्पस प्रशासन रहेको तर यसरी क्याम्पसको सम्पति उपदानका नाममा रित्याउन नहुने नागरिक अगुवा राजेन्द्रविक्रम शाह बताउँछन्। 

कुनैपनि स्थायी कर्मचारीले पेन्सन सुविधा नपाउँदै नोकरी छोडेमा उपदान दिने ब्यवस्था छ। 'तर उनीहरु त टियुमा कार्यरत भएकै कारण प्रक्रिया पुर्‍याएर एमयुअन्तर्गत स्थायी हुने अवसर प्राप्त गरिसकेका छन् त्यसका उपदान लिन र दिन मिल्दैन शाहले भने 'क्याम्पसमा जाजरकोटी जनताको लगानी छ, रगत र पसिना बगेको छ कसैले पनि लुटन पाईदैन।' 

अर्का नागरिक अगुवा केशवजंग शाहले पनि क्याम्पसलाई टाट पल्टाउने गरि उपदान लिन नमिल्ने बताए। 'पुरस्कार स्वरुप स्थायी भैसकेपछि पनि उपदान भनेर लिन मिल्छ। लिने भए एमयु र टियुबाट लिए भैगो नि किन गरीब जनताका छोराछोरीले दुःख गरेर तिरेको बचाएको रकमबाट खातै रित्याएर लिने?' उनले प्रतिप्रश्न गदै भने।

विद्यार्थी र स्थानिय वासिन्दाले पनि उपदानको नाममा क्याम्पसको ढुकुटी रकम मास्न नहुने भन्दै विरोध गरेका छन्। प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उपदान सम्बन्धी आवश्यक प्रक्रिया र कागजात अध्ययन गरेर मात्र यसबारे आवश्यक धारणा सार्वजनिक गर्ने बताए।

२०४३ सालमा स्थापना भएको यो क्याम्पस सात वर्षअघि मात्र त्रिभुवन विश्वविद्यालयबाट मध्यपश्चिम विश्वविद्यालयमा रुपान्तरण भएको थियो। यस क्याम्पसमा ब्यवस्थापन र शिक्षा शास्त्रमा स्नातक तह र शैक्षिक योजना तथा  ब्यवस्थापनमा स्नातकोत्तर तह पठनपाठन हुने गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.