बाबुरामको आलोचनामा केन्द्रित उपेन्द्र पक्षको बैठक : 'ओलीदेखि शक्ति केन्द्रसम्म गुहारेर सांगीतिक कन्सर्ट गरे'
वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षको केन्द्रिय कार्य समिति बैठक बुधबारदेखि वीरगन्जमा शुरु भएको छ । बिहीबारसम्म चल्ने बैठकले पार्टीलाइ अब नयाँ ढंगबाट अगाडि बढाउने रणनीतिबारे निर्णय गर्ने शीर्ष नेताहरुले बताएका छन्।
उनीहरुले पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पार्टीभित्र अल्पमतमा परिसकेको भन्दै काठमाडौंमा भट्टराईले बोलाएको बैठक अवैधानिक भएकोले त्यसको कुनै औचित्य नभएको पनि बताएका छन्।
बैठकको उद्घाटन समारोहलाइ सम्बोधन गर्दै जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले पार्टीको संसदीय दल, कार्यकारिणी समिति र केन्द्रीय समिति सबैमा आफनो बहुमत भएको जिकिर गरे। उनले भने, ‘काठमाडौंमा डाक्टर साबले बोलाएको बैठकमा दुई जनामात्र सांसद, ६ जनामात्र कार्यकारणी सदस्य र १/३ मात्र केन्द्रीय सदस्य सहभागी भएको देखियो, अब डाक्टर साबले के गर्नु हुन्छ? कता जानु हुन्छ? मलाइ थाह छैन।’
उत्पीडित, शोषित र सीमान्तकृत समुदायको हक अधिकारका लागि लड्ने जसपाको सिद्धान्त र नीति रहेको भन्दै यादवले भने, ‘यहि कुरा नपचेर डाक्टर साब अलग हुन खोजेका हुन्, अरु सबै कारण उनको बहानाबाजी मात्रै हो।’
जसपाले विभिन्न समुदाय र वर्गविरुद्ध भइरहेको विभेद, शोषण र उत्पीडनको मुद्दा कहिल्यै नछोड्ने उनले प्रष्ट पारे।
बहुल राष्ट्रवाद र क्षेत्रीयताका विरोधी डाक्टर भट्टराईले मधेसी र जनजातिलाई क्षेत्रीयता र जातिवादको मात्रै कुरा गर्ने समुदाय भनेर आरोप लगाएको र आफूमाथि राष्ट्रवादी भएको डम्फु बजाउने गरेको यादवले बताए।
उत्पीडित, शोषित र सीमान्तकृत समुदायको विरोधमा हिँडिरहेका भट्टराई घोर नश्लवादी रहेको आरोप पनि उनले लगाए। यादवले भने, ‘डाक्टर साबको मानसिकता नै गडबड भएको छ, झुट बोल्ने उनको बानी माओवादीमा छँदादेखि कै हो।’
जसपालाई फुटाउन भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष ओली, नेकपा एसका अध्यक्ष माधव नेपाल र देश बाहिरको शक्ति केन्द्रलाई भेटेर गुहार्दा पनि कुनै उपाय नलागेपछि अहिले विधान विपरीत काठमाडौंमा छुट्टै गुटको बैठक गरेको यादवले टिप्पणी गरे।
यादवले भने, ‘मविरुद्ध डाक्टर साबले हस्ताक्षर अभियान त चलाए। तर उक्त हस्ताक्षर लिएर म कहाँ आउँदै आएनन्, यदि बहुमतको हस्ताक्षर लिएर आएको भए म अध्यक्ष छाडिहाल्थे नि।’
वीरगन्जमै मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार बुधबारदेखि केन्द्रीय समितिको बैठक बसेको उनले सुनाए। उनले भने, ‘यो बैठकमा दुई जनाबाहेक अरु सबै सांसद हुनुहुन्छ, चारै जना मन्त्री पनि हुनुहुन्छ, ३२ मध्ये २६ जना केन्द्रीय कार्यकारिणी सदस्य हुनुहुन्छ, ४९९ केन्द्रीय सदस्यमध्ये २८० भन्दा बढी सहभागी भइ सक्नु भएको छ, अरु केन्द्रीय सदस्यहरु पनि आउने क्रम जारी छ, त्यसैले यही बैठक आधिकारिक बैठक हो, काठमाडौंको बैठक अवैधानिक हो।’
वीरगन्जको बैठकपछि एउटा निष्कर्षमा पुगेर पार्टी र सिंगो मुलुकलाई नै एउटा दिशा दिने प्रयासमा आफूहरु रहेको यादवले बताए।
बैठकमा बोल्दै जसपाका वरिष्ठ नेता अशोक राईले जसपाको झण्डा र ब्यानर दुरुपयोग गरेर समानान्तर पार्टी चलाउने डाक्टर भट्टराइको गतिविधी निन्दनीय र गलत भएको बताए। राईले भने, ‘यदि पार्टीको सिद्धान्त र विचार विचार मन पर्दैन भने पार्टी छाडेर जान सकिन्छ, तर समानान्तर पार्टी चलाउन खोज्ने काम गलत छ निन्दनीय छ, काठमाडौंको बैठक बेइमानी हो।’
पार्टीको विधानमा केन्द्रीय समितिको बैठक बोलाउने अधिकार राष्ट्रिय अध्यक्षलाई मात्र भएको भन्दै उनले संघीय परिषद् अध्यक्षलाई बैठक बोलाउने अधिकार नै नभएको जिकिर गरे। काठमाडौंमा डाक्टर भट्टराइले बोलाएको बैठकलाइ सांगीतिक कन्सर्टको संज्ञा उननले दिए।
वरिष्ठ नेता राईले भने, ‘बैठक विधी र पद्धतिअनुसार बोलाइन्छ, दुई ठाउँमा बैठक हुनै सक्दैन, त्यसैले काठमाडौंको बैठक बैठक नै होइन, त्यो त सांगितिक कन्सर्ट मात्रै हो।’
अहिले पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचनमा बढीभन्दा बढी सफलता प्राप्त गर्ने बेलामा डाक्टर भट्टराईले भने पार्टीलाई कमजोर बनाउने गतिविधि गरेको आरोप उनले लगाए। उनले अबको संघ र प्रदेशको निर्वाचनमा जसपाले जनमत र सीट संख्या दुवै बढाउने जिकिर पनि गरे।
पार्टीका केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका संघीय मामीला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले पार्टीको बैठक बोलाउने अधिकार नै नभएका संघीय परिषद् अध्यक्ष डाक्टर भटटराइले काठमाडौंमा बोलाएको बैठक अवैधानिक भएको बताए। उनले भने, ‘भट्टराइलाई बैठक बोलाउने अधिकार कहाँबाट आयो? जो चोर उसैको ठूलो स्वर भनेजस्तै अहिले भट्टराइले गरेका छन्।’
जसपा, शोषित, उत्पीडित र दमनमा परेका समुदाय र वर्गको आन्दोलन र त्यागले बनेको पार्टी भएको भन्दै श्रेष्ठले भने, ‘जसपा भनेको बालुवाको घर होइन जहाँ एक दुई जना छाडेर जाँदैमा घर नै भताभुंग हुन्छ, यो पार्टीले धेरै उचाइ लिइसकेको छ, कसैले छोड्दैमा अब यो पार्टी समाप्त नै भइ हाल्छ भनेर नसोचे हुन्छ।’
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले संघीयतालाई समाप्त पार्ने योजनाअन्तर्गत जसपालाई फुटाउने षडयन्त्र भइरहेको बताए। जसपाका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मुख्यमन्त्री राउतले संघीयतालाई मन नपराउने तत्वहरूले जसपालाइ फुटाउने षडयन्त्र गरिरहेको बताए।
उनले भने, ‘बाहिर हेर्दा संघीयतालाई स्वीकार गरेको देखिए पनि व्यवहारमा भने संघीयतालाई मन नपराउने कांग्रेस र कम्युनिस्टले नै अहिले जसपालाई फुटाएर संघीयता समाप्त पार्न संस्थागत रुपमै लागेका छन्।’
पहिचान, समावेशी र संघीयताको जननी जसपा भएकाले जसपालाइ कमजोर पारे मात्र संघीयता कमजोर हुने योजना कांग्रेस र कम्युनिस्टहरु लागेको उनले बताए। त्यसैले संघीयता र अहिलेसम्म प्राप्त राजनीतिक उपलब्धि जोगाउनका लागि पनि जसपालाई फुट हुनबाट जोगाउनु पर्ने अन्यथा जसपा फुटे त्यो देशकै लागि दुर्भाग्य हुने उनले बताए।
वन तथा वातावरण मन्त्री प्रदीप यादवले हरेक निर्वाचनभन्दा पहिले पार्टीलाई फुटाउने षडयन्त्र हुँदै आएको र अहिले पनि त्यही चलखेल भइरहेको बताए। यादवले भने, ‘अहिले पनि चुनाव अगाडि जसपा फुटाउने षडयन्त्र केही शक्तिले षडयन्त्र गर्दै छन् तर त्यो षडयन्त्र कुनै पनि हालतमा सफल हुन सक्दैन।’
नाम जे भए पनि जसपा आन्दोलनको जगबाट बनेको पार्टी भएको र उपेन्द्र यादवजस्तो राजनेता अध्यक्ष रहेसम्म यो पार्टीलाई कसैले पनि फुटाउन वा तहशनहश पार्न नसक्ने उनले बताए।
अध्यक्ष यादवको अध्यक्षतामा बुधबारदेखि शुरु केन्द्रीय कार्यसमिति बैठकको उद्घाटन समारोहलाई कृषि तथा पशुपंक्षी मन्त्री मृगेन्द्र कुमार सिंह यादव, भौतिक पूर्वाधार विकासमन्त्री इस्तियाक राई, केन्द्रीय कार्यकारिणी सदस्यहरु सुशीला श्रेष्ठलगायतले पनि सम्बोधन गरेका थिए।