आगामी निर्वाचनसम्म गठबन्धनलाई कायम राख्ने जसपाको निर्णय
वीरगन्ज : जनता समाजवादी पार्टी (जसपा) ले आगामी संघ र प्रदेशको निर्वाचनमा पाँच दलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।
वीरगन्जमा सम्पन्न जसपाको केन्द्रीय कार्यकारीणी समिति र केन्द्रीय समितिको बैठकले आगामी निर्वाचनमा गठबन्धनलाई निरन्तरता दिने निनर्णय गरेको हो।
वीरगन्जमा शुक्रबार पत्रकार सम्मेलन गरेर बैठकका निर्णय सार्वजनिक गर्दै जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले आगामी चुनावसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णग गरिएको जानकारी गराए।
विगतमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दुई दुई पटक संसद विघटन गरेपछि प्रतिगमनलाई परास्त गर्न बनेको गठबन्धनले प्रतिगमननलाई परास्त गरेर लोकतन्त्रको रक्षा गर्दै मुलुकलाई राजनीतिक स्थिरता तर्फ अगाडि बढाएका कारण गठबन्धनको निरन्तरता पार्टीले आवश्यक ठानेको यादवले बताए।
'यद्यपि स्थानीय निर्वाचनमा हाम्रो पार्टीका केहि तिता अनुभव पनि छ। तर मुलुकका लागि गठबन्धन अहिले पनि आवश्यक ठानेका छौं,' उनले भने, त्यहि भएर आगामी निर्वाचनमा पनि हामी तालमेल गरेर जान्छौं।'
पार्टीका तत्कालीन संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टाराइ पदमुक्त गर्ने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए।
पार्टी नै फुटाउने खेलमा लागेका कारण भट्टराइलाई पदमुक्त गरिएको उनले बताए।
'पार्टीको विधान, नीति र अनुसान विरुद्ध गतिविधी गरेकाले बाबुरामलाई संघीय परिषद् अध्यक्षका साथै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट पदमुक्त गरिएको हो,' उनले भने, अब आगामी दिनमा पनि उनको गतिविधी यस्तै रहयो भने उनि विरुद्ध पार्टीले अझ कठोर निर्णय लिनेछ, यदि सच्चिएर आए भने चाहिँ पार्टीको ढोका खुल्ला छ।'
भट्टराइसँगै उनको पक्षमा लागेर पार्टी फुटाउने खेलमा लागेका ८ जना केन्द्रीय कार्यकारीणी सदस्यहरुलाई पनि पदबाटमुक्त गर्ने निर्णय बैठकले गरेको यादवले जानकारी दिए।
वीरगन्जको बैठकमा दुई तिहाइ केन्द्रीय सदस्य सहभागी भएपछि पार्टी फुटाउने भट्टराइको सपना चकनाचुर भएको पनि यादवले बताए।
बैठकले पार्टीको संघीय परिषद् अध्यक्षमा वरिष्ठ नेता अशोक राइलाई सर्वसम्मत चयन गरेको यादवले बताए।
यादवले वीरगन्जको बैठकले पार्टीको विधान संशोधन गरि केन्द्रीय कार्य समितिमा महिलाको सहभागीता ३३ प्रतिशत पुरयाउने, संगठनलाई अझ चुस्त दुरुस्त बनाउने र जसपालाई एउटा वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने अभियानलाई निरन्तरता दिने निर्णय पनि गरेको सुनाए।
अध्यक्ष यादवले संसदमा पेश भएको नागरिकता संशोधन विधेयक फास्ट ट्रयाकबाट छिट्टै पारित हुने पनि बताए।
'पहिलेको विधेयकमा संशोधन गरि नयाँ विधेयक संसदमा प्रस्तुत भइसकेको छ। उक्त विधेयक संसदको यहि अधिवेशनबाट पास हुन्छ। यसमा कसैले शंका नगरे हुन्छ', यादवले भने।
अहिले संसदमा पेश भएको नागरिकता विधेयकमा कुनै पनि प्रकार (बंशज, अंगीकृत वा जन्मसिद्ध) को नागरिकता पाएकाहरुको सन्तानले बंशजको नागरिकता पाउने प्रावधान समावेश गरिएको जानकारी पनि उनले गराए।
पत्रकार सम्मेलनमा जसपाका संघीय परिषद अध्यक्ष अशोक राइले वीरगन्जको बैठक पछि जसपा अब पार्टी विभाजन गर्न खोज्नेहरुलाई एउटा किनारामा छाडेर मूल प्रवाहमा अगाडि बढेको बताए।
वीरगन्जको बैठक ऐतिहासिक रहेको भन्दै उनले बैठकले गरेका निर्णयहरुले पार्टीलाई एउटा नयाँ उचाइमा पुर्याउने विश्वास लिएको बताए।
पत्रकार सम्मेलनमा वन तथा वातावरण मन्त्री प्रदीप यादव, केन्द्रीय कार्यकारणी सदस्यहरु रामसहाय यादव, सुशीला श्रेष्ठ, संघीय सांसद नरमाया ढकाल, वीरगन्ज महानगरका मेयर राजेशमान सिंह, जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव लगायतको पनि सहभागिता थियो।