पानी परेन, रोपाइँ भएन

पानी परेन, रोपाइँ भएन

जनकपुरधाम/दाङ : मानो रोपेर मुरी उब्जाउने समयका रूपमा चिनिन्छ असार महिना। असार सकियो तर अधिकांश जिल्लामा खेत बाँझै छ। समयमा पानी नपर्दा किसानले रोपाइँ गर्न पाएका छैनन्। बीउ सुक्न थालेको छ। 

धान खेतीका लागि उर्बर भूमि मधेस प्रदेशका किसान समयमा रोपाइँ गर्न नपाएकोमा दुखेसो पोख्छन्। रौतहटका किसान बच्चा साह भन्छन्, ‘कहीँ हिलोमा बीउ टाँस्ने काम मात्रै भयो। पानी नहुँदा खेत सुक्न थालेको छ।’ 
चर्को घामले मधेसका अधिकांश खेतमा धाजा फाट्न थालेको छ। खेतमा भएको पानी पनि सुकेर रोपाइँ प्रभावित भएको छ। असारको पहिलो साता पानी परे पनि पछिल्लो १० दिनदेखि झरी नपर्दा र अत्यधिक गर्मीले लगाइएको बेर्नाहरू पनि सुक्न थालेका छन्। किसान समयमा धान रोप्न नपाउँदा भोकमरीले साउने पो हो कि भन्ने चिन्तामा छन्। 

मधेस प्रदेशका ८ जिल्लामा ५ लाख ५५ हजार २ सय १८ हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ४ लाख ५ हजार ४ सय ५० हेक्टरमा धान रोपाइँ हुन्छ। तर, यस वर्ष असारसम्ममा १ लाख ५८ हजार २० हेक्टरमा मात्रै रोपाइँ सकिएको मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय जनकपुरको तथ्यांकले देखाउँछ। 

तथ्यांकअनुसार हालसम्म यो प्रदेशमा ३९ प्रतिशत मात्रै रोपाइँ भएको छ। असारको पहिलो साता परेको पानी तथा सिँचाइ सुविधा पुगेका स्थानमा किसानले रोपाइँ गरे पनि आकासे पानीको भर पर्ने किसानले खेत बाँझै राखेका छन्। गतवर्ष पर्याप्त वर्षा हुँदा असारभित्रै ७० प्रतिशत रोपाइँ भएको थियो। तर, यस वर्ष पानी नपर्दा रोपाइँमा निकै कठिनाइ भएको रौतहटका किसान बच्चा साहको भनाइ छ। 
‘हामी त दिनरात अकाश हेरेर बस्छौं। बादल लाग्छ तर, पानी पर्दैन निकै गाह्रो भएको छ। यस्तै अवस्था रह्यो भने यस वर्ष धान उत्पादनमा निकै कमी आउँछ,’ साहले भने।

रौतहटमा ३८ हजार हेक्टर क्षेत्रफल धान रोप्ने जग्गा भए पनि हालसम्म ३२ प्र्रतिशत मात्रै रोपाइँ भएको छ। प्रदेश भरीमै सबैभन्दा कम रोपाइँ भएको महोत्तरी जिल्लामा अधिकांश खेतहरू रित्तै छन्। बेर्ना लगाइएका खेतहरूमा पनि पानी नहुँदा बेर्नाहरू सुख्न थालेका छन्। ‘जो हुने खानेछन् तिनकै खेतमा पानी छ। उनीहरूले पैसा तिरेर भए पनि बोरिङबाट पानी खेतमा पटाउँछन्। तर, हामी गरिब किसानहरूलाई वर्षाले पनि दुःख दिएको छ,’ महोत्तरी मधवाका किसान जनुद्दिन साफी भन्छन्। महोत्तरीमा ३० प्रतिशत मात्रै रोपाइँ भएको छ।

मलखाद, सिँचाइ सुविधा नहुँदा र अकाशे पानीको भर पर्दा प्रत्येक वर्ष धान रोपाइँ प्रभावित हुँदै आएको भए पनि यसको उचित व्यवस्थापनतर्फ नत प्रदेश सरकारले ध्यान दिन सकेको छ नत स्थानीय तहका सरकारले नै। ‘आकाशे पानीको भरमा खेती गर्ने यस प्रदेशका अधिकांश किसानहरू अहिले वर्षा नहुँदा मारमा परेका छन्,’ कृषि तथा सहकारी मन्त्रालय मधेस प्रदेशका कृषिवाली संरक्षण अधिकृत मनीषकुमार पाल भन्छन्। 
तराई मधेसलाई धान उत्पादनको मुख्य क्षेत्र मानिए पनि पछिल्लो समय मधेस प्रदेशमा धान उत्पादन घट्दो क्रममा छ। हालसम्म सप्तरी जिल्लामा ३४ हजार हेक्टर, सिरहामा २२ हजार ६ सय ८० हेक्टर, धनुषामा २० हजार ६ सय ५० हेक्टर, महोत्तरीमा १३ हजार ९ सय ५०, सर्लाहीमा १६ हजार ३ सय ४५, रौतहटमा १२ हजार १ सय ९२, बारामा १८ हजार ४ सय ८ र पर्सामा १९ हजार ७ सय ९५ हेक्टर जग्गामा रोपाइँ भएको छ। 

धानको ब्याड सुक्यो, रोप्न पानी छैन

दाङमा समयमा वर्षा नहुँदा ब्याडमा नै धानको बीउ सुक्न थालेको छ। किसानले धान रोप्ने तयारी गरे पनि पानी नहुँदा खेत पनि बाँझै रहेको तुलसीपुर उपमहानगरपालिका–१३ का किसान सुरेश चौधरी बताउँछन्। ‘म जागिरे पनि हो प्रदेश सरकारमा काम गर्छु खेती पनि गर्ने भएकाले एक साता बिदा मिलाएर बसेको पानी नपर्दा बिदा बित्यो। धान रोप्न नै पाइन्,’ चौधरीले भने। 

अर्का किसान रमेश कार्कीको पीडा पनि उस्तै छ। कार्कीले असार १५ गतेदेखि खेत रोप्ने तयारी गरे। तर, असार सकिँदासम्म पनि उनको खेतमा रोपाइँ हुन सकेको छैन। ‘सिँचाइको सहज व्यवस्था छैन। सबै खेती आकासे पानीको भरमा हो,’ उनले भने।

खड्काको मुख्य पेसा कृषि हो। उनले करिब १५ कट्ठा खेतमा धान खेती गर्छन्। तर, खेत पनि पानीको अभावमा असार अन्तिमसम्म बाँझै छ। गतवर्ष असार २२ गतेभित्र धान रोपिसकेका खड्काले अहिले आधा पनि धान रोपेका छैनन्। केही दिन अघि परेको वर्षात्ले रोपेको धान पनि सुक्न थालेको छ। ‘गतवर्ष अहिलेसम्म सबै धान रोपिसकिएको थियो। यसवर्ष त आधा पनि धान रोप्न पाएको छैन,’ उनले भने। सिँचाइको सुविधा नपुगेका कारण आकाशे पानीबाट धान खेती गर्दै आएका किसानले यसपालि असारको अन्तिममा आइपुग्दा आधा पनि धान रोप्न पाएका छैनन्। किसानलाई एकातिर मलको अभाव छ भने अर्कोतिर पानीको। पानीको अभावमा आफूहरूले यसपालि अझैसम्म धान रोप्न नपाएको तुलसीपुर–१३ का लिला केसीले बताइन्। भनिन्, ‘खेत आफ्नो छैन, अधिँयामा खेती लगाउँछौं। तर, त्यै पनि अहिलेसम्म रोप्न पाएको छैन।’ 

कृषिका लागि भूमि उर्बर भए पनि पानीको अभावमा सोचेजस्तो उत्पादन हुन् नसकेको अर्का स्थानीय डिलबहादुर रोकाले बताए। ‘आकाशबाट समयमै पानी परेपछि उत्पादन राम्रै हुन्छ,’ उनले भने, ‘पानी आकाशबाट आएन भने त उत्पादन नै हुँदैन।’ सरकारले सिँचाइ सुविधा दिन सकेपछि कृषिमा लाग्ने युवाहरू विदेश जानुनपर्ने उनले बताए। दाङमा हालसम्म ५० प्रतिशत रोपाइँ भएको छ। गत वर्ष यो समयसम्ममा ९० प्रतिशतभन्दा बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.