बैतडीमा पासोमा अल्झिएको चितुवाको आक्रमणबाट एक जना घाइते
बैतडी : बैतडीमा बँदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाको आक्रमणमा एक जना घाइते भएका छन् । मेलौली नगरपालिका २ कोटका ६८ वर्षीय गणेश चन्द घाइते भएका हुन् ।
उनको हात र घाँटीमा चोट लागेको घाइतेका आफन्त एवम् मेलौली नगरपालिकाका स्वास्थ्य साखा प्रमुख नारायण चन्दले जानकारी दिए । ‘चितुवाले खोरबाट बाख्रालाई लेखेटेर लगेको थियो, छुटाउन जाँदा बँदेलका लागि थापेको पासोमा अल्झिएको चितुवाले चन्दमाथि आक्रमण गरेको हो,’ उनले भने । स्थानीय स्वास्थ्य चौकीमा उनको उपचार भइरहेको उनले बताए । केहिबेर पासोमा फसेको चितुवा फुत्केर गएको पनि उनले जानकारी दिए ।
जिल्लाको तल्लो स्वाराड क्षेत्रका ३ स्थानीय तह मेलौली नगरपालिका तथा शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका चितुवा प्रभावित क्षेत्रहरु हुन् । २०६८ सालदेखि हालसम्म २ दर्जन बढी मानिसहरुको चितुवाको आक्रमणबाट ज्यान गइसकेका छन्।