प्रदेश १ का मुख्यमन्त्री राईलाई कोरोना संक्रमण
विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि राईसहित उनका परिवारका सदस्य र सचिवालयका १६ जनाको सोमबार पीसीआर परीक्षण गरिएको थियो ।
परीक्षण गरिएकामध्ये राईसहित तीनजनाको रिपोर्ट पोजिटिभ आएको हो ।
राईकी पत्नी शोभा पाठक र राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना भएको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कोरोना संक्रमित मुख्यमन्त्री राईसहित तीनैजनाको स्वास्थ्य अवस्था सामान्य छ ।
कोरोना संक्रमणका कारण राईले भेटघाटलगायत सबै कार्यक्रम हाललाई स्थगित गरेका छन् ।