कोसी अस्पतालको आकस्मिक विभागको क्षमता विस्तार, १२ बाट पुर्याइयो ४० बेड
विराटनगर : विराटनगरस्थित कोसी अस्पतालको आकस्मिक (इमर्जेन्सी) विभागको क्षमता विस्तार गरिएको छ। प्रदेश १ को सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था हो। बिरामीको उपचारलाई प्रभावकारी बनाउन बेड संख्या थप गर्दै क्षमता बढाएर आकस्मिक विभागको सेवा विस्तार गरिएको हो। यसअघि आकस्मिक विभागमा १२ वटा बेड मात्रै थिए। अहिले बढाएर ४० पुर्याइएको विभागका सह-इन्चार्ज केपी सिंहले जानकारी दिए।
'बेड संख्या कम हुँदा यसअघि आकस्मिक सेवाका लागि भर्ना हुने बिरामीको उपचारमा समस्या हुने गरेको थियो। बेड १२ वटा मात्रै थिए,' उनले भने, 'अहिले ४० पुर्याइएको छ। एकैपटक २८ वटा बेड थप गरिएपछि बिरामीले सहज उपचार पाउने वातावरण बनेको छ।'
बेड थप भएसँगै अस्तव्यस्त अवस्थामा रहेको सेवा प्रवाहमा पनि सुधार भएको सिंहको भनाइ छ। आकस्मिक विभागसँगै जोडिएको पूर्वतर्फको भवनको पर्खाल तोडेर मर्मत सम्भार गर्दै ठूलो हल बनाइएको छ। हल विस्तार गरिएपछि बेड थप गर्न ठाउँ पर्याप्त भएको उनले बताए। 'खाली ठाउँको सदुपयोग गर्न आकस्मिक कक्षको हल विस्तार गरियो,' सिंहले भने, 'अस्पतालको आकस्मिक सेवाका लागि 'अब्जरभेसन वार्ड'लाई समेत प्रयोगमा ल्याइएको छ।'
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले आकस्मिक सेवा विस्तार गर्दै अन्तर्राष्ट्रिय अभ्यास अनुसार बिरामीलाई सेवा दिन थालिएको बताए। उनका अनुसार उपचार गराउन आउने बिरामीका लागि आकस्मिक विभागलाई प्राथमिकताका आधारमा 'रेड जोन', 'एल्लो जोन' र 'ग्रीन जोन' गरेर तीन भागमा विभाजन गरिएको छ। त्यही अनुसार बेडहरु व्यवस्थापन गरिएको डा. खरेल बताउँछन्।
उनका अनुसार गम्भीर अवस्थाका बिरामीको उपचार 'रेड जोन'का बेडमा राखेर गरिन्छ। अवस्था सामान्य हुँदै गएपछि 'एल्लो' र वार्डमा सार्ने वा डिस्चार्ज हुने अवस्थाका बिरामीलाई 'ग्रीन जोन'का बेडमा सारेर उपचार गर्ने गरिएको उनले बताए।
अस्पतालका वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञसमेत रहेका डा. खरेलका अनुसार आकस्मिक विभागमा पहिले बिरामीलाई शिलिन्डरबाट अक्सिजन दिने गरिएको थियो। अहिले बेडहरुमा पाइपलाइनबाट अक्सिजनको व्यवस्था गरिएको जानकारी उनले दिए। आकस्मिक विभागमै भेन्टिलेटर संचालनको योजनासमेत रहेको उनको भनाइ छ।
'आकस्मिक कक्ष साँघुरो र बेडको समेत अभाव हुँदा बिरामीले सहज उपचार पाउन सकिरहेका थिएनन्। सरकारी अस्पतालको आकस्मिक सेवा भद्रगोल अवस्थामा थियो,' खरेल भन्छन्, 'ठाउँ अभाव हुँदा एउटा बेडमा तीन जनासम्म र झ्यालमा समेत राखेर बिरामीको उपचार गरिन्थ्यो। बेड थप गरिएपछि त्यो अवस्थाको अन्त्य भएर बिरामीले सजिलै उपचार पाउने अवस्था बनेको छ।'
उनका अनुसार दैनिक आकस्मिक सेवाका लागि दुई सय जनाभन्दा बढी बिरामी आउने गरेका छन्। आकस्मिक उपचार सेवा लिन उच्च ज्वरो, झाडापखाला, विषादी सेवन र सर्पदंशका बिरामी तथा दुर्घटना घाइते एवं विभिन्न घटनामा परेकाहरु बढी आउने गरेको अस्पतालको तथ्यांकमा उल्लेख छ। खरेलले आकस्मिक विभागमा अत्याधुनिक बेड राख्दै त्यही हिसाबका उपकरणसमेत जडान गरेर सेवा दिन थालिएको बताए।
बिरामीका लागि 'वेटिङ रुम'समेतको व्यवस्था गरिएको छ। सरकारी अस्पताललाई चुस्तदुरुस्त, सुदृढ, गुणस्तरीय, प्रभावकारी र बिरामीमैत्री बनाउने उदेश्यका साथ धमाधम सेवा विस्तार गर्ने काम भइरहेको जानकारी डा. खरेलले दिए। उनका अनुसार अस्पतालमा उपचारका लागि पारिवारिक आर्थिक अवस्था कमजोर भएका र अति विपन्न बिरामीहरु धेरै आउने गरेका छन्।