गोसाइँकुण्ड मेलामा यसपटक पार्किङको समस्या नहुने

रसुवा : गोसाइँकुण्ड मेलामा यसपटक पार्किङको समस्या नहुने नहुने भएको छ। यसअघिका मेलामा उचित पार्किङ नहुँदा सवारी व्यवस्थापनमा समस्या हुँदै आएको थियो। जिल्ला ट्राफिक कार्यालयलले यससम्बन्धी काम अघि बढाएको हो।
कार्यालयका अनुसार करिब ७ सय मोटरसाइकल, ७० बस तथा ३ सयसम्म जिप, कार, भ्यान पार्किङ गर्न सकिने छ।
बसका लागि जिल्ला अस्पताल नजिक फुटबल मैदान, मोटरसाइकल तथा हल्का सवारीसाधनका लागि बालमन्दिर प्राङ्गण पार्किङस्थल तोकिएको छ। अपुग भएमा पासाङल्हामु मार्गको आसपास र मिनिरल वाटरको प्राङ्गणसमेत प्रयोगमा ल्याइने जिल्ला ट्राफिक प्रहरीले जनाएको छ।
यात्रुवाहक सवारीसाधनले सबै यात्रुलाई धुञ्चेस्थित प्रहरी जाँचचौकीमा नै ओराल्नु पर्ने नियम बनाइएको छ। यात्रु ओरालेर तोकिएको पार्किङ स्थानमा जानुपर्ने र यात्रापश्चात फर्किँदा धुन्चेको शङ्खपार्कबाट मात्र सवारीसाधनमा यात्रु राख्न पाइने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ।
यही साउन २७ गते जनैपूर्णिमा लाग्ने गोसाइँकुण्ड मेलामा करिब १५ हजार भक्तजन आउने अनुमान छ। यही साउन २३ गते पुत्रदा एकादशीबाट मेला सुरू भई २७ गते सकिनेछ। धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे-गोसाइँकुण्ड, ठाडेपाटी-गोसाइँकुण्ड, यार्सा-गोसाइँकुण्ड र सागरकुण्ड-गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन्।
त्यहाँ पुग्नका लागि तीनवटा मुख्य बाटो छ। काठमाडौं-धुन्चे-गोसाइँकुण्ड बाटो यात्रुको सबैभन्दा बढी चल्ती हुने बाटो हो। काठमाडौंबाट धुन्चेसम्म सवारीमा यात्रा गर्न सकिन्छ। त्यसपछि धुन्चे-चन्दनबारी, चन्दनबारी-लौरीबिना र लौरीबिना हुँदै पैदलयात्रा गरेर गोसाइँकुण्ड पुगिन्छ।
त्यसैगरी तीर्थयात्रीले काठमाण्डौँ-सुन्दरीजल/हेलम्बु-ठाडेपाटी बाटो पनि प्रयोग गर्दै आएका छन्। धेरै कम यात्रुहरूले यार्सा गोसाइँकुण्डको बाटो प्रयोग गर्ने गरेका छन्। तर कुनैपनि पर्यटकले आफ्नो पदयात्राका लागि सागरकुण्ड-गोसाइँकुण्ड बाटो प्रयोग गरेको पाइदैन्।
कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चिताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरू कुण्डमा स्नान गर्न आउने गर्दछन्।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाइँवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ।
जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरूले मेला भर्ने गरेका छन्।
मेला अवधिमा रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, ललितपुर, काठमाडौं काभ्रे, नवलपरासी, चितवन, पोखरा, तराईका अन्य जिल्ला तथा भारतीय पुजारी, तीर्थालु, प्रकृतिप्रेमी, लामाहरू, झाँक्रीहरू गोसाइँकुण्ड जान्छन्। गोसाइँकुण्ड क्षेत्रमा त्रिशुलधारा, शिव मन्दिर, भगवानको टाउकोबिनाको ढुङ्गाको मुर्ति र गुफाहरू रहेका छन्।
त्यहाँ अमरसिंह गुफा, अमरसिंहको चिहान, सिंगुम्बा, फुलुम गुम्बा, यतिको चिहान, लौरीबिना, बौद्धस्तुप र गणेश गौडा रहेका छन्। कुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दुधकुण्डलगायतका थुप्रै कुण्ड रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
