आज जनैपूर्णिमा, यस्ता छन् महत्त्व
आज श्रावण शुक्ल पूर्णिमा । आजको दिनलाई ऋषि तर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा भनिन्छ । यस दिन हिन्दूहरूले जनै पूर्णिमाको पर्व धूमधामसँग मनाउने गर्छन् । बौद्धमार्गीहरूका लागि पनि योमहत्त्वपूर्ण दिनको रूपमा रहेको छ । यस दिन गौतम बुद्धले आफ्नो कामशक्तिमाथि विजय प्राप्त गरेका थिए भनेर बौद्ध ग्रन्थ ‘ललित विस्तारमा’ उल्लेख गरिएको हुनाले यस दिन स्वयम्भूदेखि सबै शिवालय एवं देवालयहरूमा ठूलो मेला लाग्ने गर्छ ।
जनैपूर्णिमाका दिन व्रतबन्ध संस्कार गरेका हिन्दू तागाधारीहरूले दाह्री, कपाल, नङ काटेर बिहान स्नान गरी शुद्ध भएर, शुद्ध वस्त्र पहिरेर विधिपूर्वक ब्राह्मणहरूद्वारा मन्त्र एवं स्तुति र पाठ गर्दै पुरानो जनै निकाली नयाँ जनै धारण गर्दछन् । रक्षाबन्धन भने सबैले बाँध्ने गर्छन् । जनै धारण गर्दा र रक्षाबन्धन बाँध्दा शरीरको रोग व्याध निको हुने र रक्षा पनि हुने विश्वास गरिएको छ । रक्षाबन्धन वर्षको एक पटक यसै दिन बाँध्ने चलन रहेको छ । जनै भने वर्षभर धेरै पटक फेर्नुपर्छ ।
मातृपितृ श्राद्धमा, शवयात्राबाट फर्केपछि, जुठो शुद्ध भएपछि जनै फेर्ने चलन रहेको छ ।
जनैमा ओमकार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, यम र ‘विश्वी देवको’ बास हुन्छ भनिएको छ । जनैको ‘ग्रन्थीमा’ ब्रह्मा, विष्णु र रुद्रको आह्वान गरिन्छ । जसलाई जनैको शिखा भनिन्छ र यसलाई एघार ‘आवृत्ति’, रुद्राभिषेक मन्त्र र गायत्री मन्त्रले प्राण प्रतिष्ठा गरेर धारण गरिन्छ । यस प्राण प्रतिष्ठाको दिनलाई जनैपूर्णिमा भनिन्छ ।
यसै दिन ऋषिहरूका नाममा तर्पण दिने हुँदा यस दिनलाई ऋषि तर्पणी पनि भनिन्छ । यस दिनलाई श्रवण स्नानको दिनको रूपमा पनि मानिन्छ । खोला, नदीनाला, कुवा, धारामा गएर स्नान गरेर गाईको गोबर, जौ, तिलद्वारा नुहाइधुवाइ गरी पूर्ण संस्कारित बनेर ऋषिका नाममा तर्पण दिने हुँदा यस दिनलाई ऋषि तर्पणी भनिएको हो ।
श्रावण शुक्ल पूर्णिमाका दिन नौ थरीका गेडागुडीको परिकार क्वाँटी बनाएर खाने चलन पनि छ । क्वाँटी खानाले शरीरको गर्मी कम हुने र तागत मिल्ने विश्वास गरिन्छ । मास, मुँग, चना, केराउ, भटमास, बोडी, सिमी, गहत, राजमा एकै ठाउँमा भिजाई टुसा उमारेर तयार गरिएको क्वाँटी पकाएर खानु स्वादिष्ट र स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
यस दिनलाई रक्षाबन्धनको दिन पनि मानिन्छ । एक पौराणिक कथाअनुसार देवतालाई दबाउन दानवी शक्ति प्रबल बनी संग्राममा अघि सर्यो । लामो समयसम्म युद्ध गर्दा पनि देवताहरूको त हुन सकेन । अन्त्यमा देवगुरु वृहस्पतिले श्रावण शुक्ल पूर्णिमाको दिन बिहान सुरक्षाको लागि रक्षा ‘विधान’ तयार पारे । त्यसरी तयार गरिएको रक्षा सूत्र इन्द्रादि सम्पूर्ण देवताको हातमा बाँध्न लगाएर वृहस्पतिले मन्त्र पढे ।
त्यही मन्त्रको बलको प्रभावले दानव राज बली बाँधिए । रक्षाबन्धन चाडलाई ब्रह्माजीका मुखबाट निस्किएका ऋषिहरूद्वारा पञ्चŒवलाई दिग्बन्धन गरिने दिन भनी शास्त्रले बताएको छ भने ‘ब्राह्मण’ अवतारमा विष्णुद्वारा दैत्यराज बलीलाई वचनबद्ध गराई तीनै लोक दानका रूपमा खुस्काइएको घटनाको श्रुति पनि जोडिन्छ । त्यसैले यस दिन ब्राम्हणद्वारा मन्त्र पाठ गर्दै यजमानको नाडीमा रक्षाबन्धन बाँधिन्छ । अर्थात् रक्षाबन्धन बाँध्दै ब्राह्मणले यजमानलाई बली राजाको दानशक्तिको स्मरण गराउने प्रचलन रहेको छ ।
जनैपूर्णिमामा गोसाइँकुण्ड, पशुपतिलगायत नेपालका शिवालय, देवालय र अन्य स्थानमा ठूलो मेला लाग्ने प्रचलन रहेको छ । यस दिन खोला, नदीनाला, शिवालय, देवालयमा श्रावण स्नानको विधिद्वारा स्नान, दान, तर्पण सम्पूर्ण गर्नाले मुक्ति प्राप्त हुन्छ भन्ने जनविश्वास रहेको छ ।
जनै धारण गर्दा र रक्षाबन्धन बाँध्दा शरीरको रोग व्याध निको हुने र रक्षा पनि हुने विश्वास गरिन्छ ।