बिहे गर्ने उमेर कति ?

बिहे गर्ने उमेर कति ?

मन्दिरा कार्की १९ वर्षकी भइन्। उनले केही दिन अगाडि मात्र १ किलो ६ सय ग्रामको छोरा जन्माइन्। सुनसरी घर भएकी इन्दिराको गर्भको अवधि ३३ हप्तामा नै अर्थात् ७ महिना १८ दिनमा नै व्यथा लागेर अस्पताल आइन्। उनको पाठेघरको मुख खुलिसकेका कारण व्यथा रोक्न सकिएन र कम तौल तथा अवधि नपुगेको (प्रिटर्म) बच्चा जन्मियो। उनको बच्चाको तौल कम र राम्रो विकास भई नसकेकाले केही दिन बच्चाको सघन उपचार कक्ष (एनआईसीयू) मा राख्नु परेको थियो।

उनको विवाह करिब दुई वर्षअगाडि नै भएको थियो। कानुनले नदिए पनि स्थानीय तर मलेसियामा काम गर्दै गरेका २१ वर्षीया दीपकसँग उनको मागी विवाह भएको थियो। एसईईमा अनुत्तीर्ण भएकी छोरीलाई सीप सिकाउनु वा स्वावलम्बी बनाउनुभन्दा पनि विवाह गर्न उचित सम्झे उनका परिवारले। ‘घरको अवस्था कमजोर थियो, काम गर्ने केटाको लागि माग्न आए, दिनै पर्‍यो।’ उनकी आमाले बताइन्। कतै मागी विवाह त कतै विद्यालयमा अध्ययनकै क्रममा गहिरो प्रेम र विवाह हुने क्रम रोकिएको छैन। यद्यपि यी २० वर्ष नपुगी भएका विवाहको ‘विवाह दर्ता’ भएका छैनन्।

किशोरी अवस्थामा गर्भवती हुने र गर्भको जटिलता भोग्नुपर्ने इन्दिरा पहिलो किशोरी होइन। ‘डेमोग्राफी एन्ड हेल्थ सर्भे २०११’ ले प्रकासन गरेको तथ्यां अनुसार औसत महिलाको विवाह १७ दशमलव ५ वर्ष रहेको थियो भने ७१ प्रतिशत महिलाको विवाह किशोरी अवस्थामा अर्थात् १९ वर्ष नपुग्दै हुने गरेको थियो। सोही तथ्यांकअनुसार एक चौथाइ महिलाले १८ वर्ष नपुग्दै पहिलो सन्तान जन्माउने गरेका थिए भने ५० प्रतिशत महिलाले २० वर्ष भित्र नै पहिलो सन्तान जन्माउने गरेका थिए। ‘डेमोग्राफी एन्ड हेल्थ सर्भे २०१६’ मा केही सुधार भएको देखिन्छ। २०१६ को सर्भेअनुसार नेपालमा औसत महिलाको विवाह १७ दशमलव ९ पुग्यो। तर आमा बन्ने उमेरमा सुधार आउँदै गरेको देखाएको छ। सन् २०११ को सर्भेमा करिब ५० प्रतिशत किशोरीहरू आमा बनिसक्थे भने २०१६ को सर्भेका अनुसार सो संख्या १७ प्रतिशतमा सीमित भएको देखिन्छ।

विवाह गर्ने उमेर तथा गर्भवती हुने उमेरमा थोरै सकारात्मक सुधार भएको छ। हुन त यो सन्तोषजनक छैन, तर विस्तारै होला भन्नेमा आशा पलाएको छ। यो आशा र प्रगतिको कारण हो ‘कानुन’ । २० वर्ष नपुगी विवाह गर्न नपाउने कानुनले पनि विवाहको उमेरमा सुधार आएको भन्दा फरक नपर्ला। यसका साथै स्वास्थ्य सचेतना, रोजगार, शिक्षाजस्ता आर्थिक र सामाजिक पक्षहरूले पनि मद्दत गरेका छन्। तर फेरि १८ वर्षमा नै विवाह गर्न पाउने अधिकारको बहस चल्दै छ रे। १६ वर्षमा नागरिकता पाउने, १८ वर्षमा भोट दिने अधिकार पाउने अनि विवाहका लागि किन २० चाहिने प्रश्न पनि आएको छ रे।

विवाहलाई प्रजनन स्वास्थ्यसँग मात्र जोडेर हेरिनु हँुदैन। विवाहको अर्थ नै नबुझ्न सक्नेलाई विवाह गर्न प्रेरित गर्ने कि नगर्ने ? बहस हुन जरुरी छ। प्रजनन स्वास्थ्य र प्रजनन् अधिकारको त कुरा छोडौ। एउटा किशोरी १८ वर्षका उमेरमा कुन तहका शिक्षा आर्जन गर्न सक्छिन् अनि आर्थिक रूपमा सबल, सामाजिक रूपमा परिपक्व अनि मानसिक रूपमा निर्णयहरू सही निर्णय लिन सक्ने योग्य बन्न सक्छन् कि सक्दैनन् ? महिला शिक्षा अनि महिला रोजगारको अवस्था राम्रो नभए महिला सशक्तीकरण अनि महिला अधिकारको संरक्षण कसरी सम्भव होला ? विवाहले थप जिम्मेवारी पक्कै दिन्छ। विवाह पछि छोरीको काधमा बुहारीको दायित्व र कर्तव्य थपिने हुन्छ। विवाहपछि पढ्न नसकिने, सीप सिक्न नमिल्ने त पक्कै होइन। तर जुन सहज विवाह अगाडि हुन्छ, विवाहपछि त्यसमा कमी अवश्य आउँछ। ढिला विवाहले उच्च शिक्षा अध्ययन अनि रोजगारका अवसरमा पक्कै वृद्धि गर्ने हुन्छ। यसका साथै नेतृत्वको विकास, सामाजिक र मानसिक परिपक्वता बनाउने हुन्छ। त्यसैले प्रजनन अधिकार मात्र होइन अन्य अधिकार बुझ्ने र उपभोग गर्न सक्ने हुन्छन्। कम उमेरमा वैवाहिक जिम्मेवारीले थिचिएका अनि आर्थिक रूपमा सबल भई नसकेका दम्पतीहरूले आफ्ना जीवन र आफ्ना सन्तानका भविष्य कस्तो बनाउने हुन्छ, कल्पना गर्न सकिन्छ।

कानुनीरूपमा विवाह गर्न पाए पनि वा नपाए पनि किशोरी अवस्थामा गर्भवती हुनु स्वास्थ्यका लागि उपयुक्त होइन। हुन त हाम्रो देशमा मात्र यो समस्या छैन। अमेरिकन कलेज अफ अब्सट्रिसिगन एन्ड गाइनोकोलाजिस्टले दिएको सन् २०१५ को प्रतिवेदनअनुसार अमेरिकामा मात्र बर्सेनि ७ लाख ५० हजार किशोरीहरू (टिनएजर) गर्भवती हुने गरेका छन्। यसमध्ये ८० प्रतिशत गर्भ अनिच्छित रहेको र ५० प्रतिशतभन्दा बढीले गर्भपतन गर्ने गरेको छ। विश्व स्वास्थ्य संघ (डब्लूएचओ) ले प्रकाशन गरेको सन् २०१४ को तथ्यांकअनुसार १ करोड ६० लाख किशोरीहरू (१५ देखि १९ वर्षका) बर्सेनि गर्भवती हुने गरेको छ र १० लाख किशोरीहरू १५ वर्षमा नै आमा बन्ने गरेको छ। यी गर्भवतीहरूमध्ये ९५ प्रतिशत कम तथा मध्यम आय भएका मुलुकहरूका हुने गरेको छ। सोही तथ्यांकअनुसार १५ देखि १९ वर्षका किशोरीहरूका मृत्युको दोस्रो प्रमुख कारण गर्भको जटिलता र प्रसव नैे रहने गरेको देखाएको छ।

किशोरावस्थामा गर्भवती भएमा स्वाभाविक रूपमा गर्भका जटिलताहरू बढी आउने हुन्छन्। भारतको वेस्टबंगालमा गरेको अध्ययनले यसलाई पुष्टि गरेको छ। गर्भवती महिलालाई उमेरका आधारमा तीन समूह बनाएर गरेको सो अध्ययनमा २० वर्षभन्दा कम उमेरका गर्भवती महिलालाई एउटा समूह, २० देखि ३० वर्षलाई दोस्रो र ३० वर्ष पार गरेको गर्भवतीहरूलाई तेस्रो समूहमा राखिएको थियो। सो अध्ययनअनुसार २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा एकातिर मातृमृत्यु दर बढी हुन्छ भने अर्कातिर बच्चाको तौल कम हुने तथा मृत्युदर धेरै गुणाले बढी हुने गरेको पाइयो। कम उमेरमा गर्भवती हुँदा रक्तअल्पता हुने, बच्चाको तौल कम हुने, गर्भको अवधि नपुग्दै (३७ हप्ताभन्दा अगाडि) बच्चा जन्मिने तथा गर्भवतीको रक्तचाप बढ्ने र त्यससम्बन्धी जटिलताहरू थपिने सम्भावना बढी रहेको हुन्छ। गर्भको जटिलताले आमाको स्वास्थ्यमा मात्र होइन गर्भको बच्चामा पनि प्रतिकूल असर गरेको हुन्छ। यस्ता बच्चाहरू कम तौलका हुने, राम्रो शारीरिक विकास नहुने तथा कन्जेनाइटल डिफेक्ट (जन्मपूर्व नै खराबी) हुने सम्भावना बढी हुन्छ।

विश्व स्वास्थ्य संघको तथ्यांकअनुसार २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउँदा, बच्चा जन्मिनेबित्तिकै वा जन्मेको पहिलो हप्तामा मर्ने सम्भावना ५० प्रतिशतले बढी हुन्छ। अफ्रिकन मुलुकहरूमा २० वर्षभन्दा कम उमेरमा आमा बन्नेहरूमा पाइल्स तथा मलद्वारको फिस्टुला बढी हुने गरेको पाइयो। २० वर्ष नपुग्दै आमा बन्ने अधिकांश किशोरीहरू कम आयस्रोत भएका तथा आर्थिक रूपमा विपन्न रहेको कारणले यिनीहरूमा अन्य समस्याहरू पनि बढी हुने गरेको पाइन्छ। यिनीहरूले नियमित रूपमा गर्भको परीक्षण पनि नगरेका कारण बढी समस्या हुने विज्ञहरूको अनुमान रहेको छ।

विवाहको सम्बन्ध सिधा गर्भसँग जोडिएको हुन्छ। चाडो विवाहको अर्थ चाँडै बच्चा पाउनु पनि हो। नेपालको मातृमृत्यु दर घट्दै गएको छ। यो मातृमृत्यु दर घट्नुका कारणहरूमा स्वास्थ्य सेवाको विस्तार, स्वास्थ्य संस्थामा मै प्रसव गराउनेहरूको वृद्धि मात्र नभई जन्मान्तर, घट्दै गएको प्रजनन दर पनि हो। प्रजनन दर घटाउन, जन्मान्तर बढी बनाउन तथा परिवार योजना गर्न परिपक्वताको ठूलो महŒव हुन्छ। यो परिपक्वता नागरिकता बनाएर वा भोट दिने अधिकार प्राप्त गरेर बढ्नै पक्कै होइन होला। यो परिपक्वता आउन उमेर चाहिन्छ, शिक्षा र सचेतना चाहिन्छ। नेपाल डेमोग्राफी एन्ड हेल्थ सर्झे २०१६ का अनुसार शिक्षा हासिल नगरेका महिलाहरू एसएलसी वा सोभन्दा बढी शिक्षा हासिल गरेका महिलाभन्दा ४.६ वर्ष अगाडि नै विवाह गर्दछन्।

हाम्रा छिमेकी मुलुकहरू बंगलादेश, भुटान र पाकिस्तानमा कानुनले महिलाको उमेर १८ वर्ष तोके पनि औसत महिलाको विवाहको क्रमशः २५, २२ दशमलव ८ र १८ दशमलव ३ रहेको छ। नेपालमा कानुनले विवाहको उमेर २० तोके पनि औसत महिलाको उमेर १७ दशमलव ९ मात्र रहेको छ। भारतमा पनि विवाहको उमेर १८ वर्ष थियो तर मोदी सरकारले सन् २०२१ मा सो उमेर बढाएर २१ कायम गरेको छ। चीनमा पनि विवाहको उमेर २० वर्ष रहेको छ। हाम्रो छिमेकी मुलुकहरूमा विवाहको कानुनले तोकेको उमेरभन्दा पनि ढिला विवाह भइरहेको वर्तमान अवस्थामा पनि हामी हाम्रो कानुनमा अडिन नसकेका कारणले कानुन नै संशोधन गर्न खोजिएको देखिन्छ। कानुन संशोधन गरेर सफल देखिन खोज्नुभन्दा पनि, शिक्षा र सचेतना बढाएर ‘योग्य, सक्षम र दक्ष’ नागरिक बनेर मात्र विवाह रोज्ने संस्कारको विकास गराउन सके देश सफल हुन्थ्यो कि ?

साह प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.