जलस्रोतमा धनी, सिँचाइमा गरिब
धान रोप्ने मुख्य महिना असार र साउन हुन्। तर अझै पनि मुलुकका धेरै खेत बाँझै छन्। रोपिएका धानका बोटले पानी पाएका छैनन्। यस्तो किन भयो भने धानबाली लगाइने खेतसम्म सिँचाइ सुविधा अपुग छ। मुलुकभर २६ लाख हेक्टर खेतीयोग्य जमिन छ। त्यसमध्ये एक तिहाइमा मात्रै सिँचाइ सुविधा छ। जब कि खेतीयोग्य जमिनमध्ये ८० प्रतिशतमा मुख्यबाली धानखेती हुन्छ। धान नै मुख्य खाद्यबाली हो। त्यही धानका लागि सिँचाइ सुविधा छैन। जब कि मुलुक कृषिप्रधान हो। देशको अर्थतन्त्रमा योगदान गर्ने सबैभन्दा ठूलो क्षेत्र भनेकै कृषि हो। त्यसैले नै जुन वर्ष धान धेरै फल्छ, अर्थतन्त्र उकासिन्छ, नत्र टाक्सिन्छ। अझ सिँचाइ सुविधा नभएकै कारण राम्ररी पानी पर्यो र धान सप्रन पायो भने अर्थतन्त्र पनि राम्रो हुन्छ नत्र धानखेतमा जस्तै अर्थतन्त्रमा पनि सुक्खा लाग्छ। त्यसैले नेपालको अर्थतन्त्र मनसुनमा भर पर्छ भनिन्छ। सत्य पनि त्यस्तै छ।
राणाकालमै प्रधानमन्त्री चन्द्रशमशेरले १९८५ मा नहर बनाएर योजनाबद्ध सिँचाइको सुरुआत गरेका थिए। उनले त्यसरी व्यवस्थित सिँचाइ सुरु गरेको झन्डै सय वर्ष पुग्दैछ। तर खेतीयोग्य जमिन सबैमा सिँचाइ पुग्न सकेको छैन। दशकौंअघि सुरु भएका थुप्रै सिँचाइ आयोजना अझै पूरा भएका छैनन्। जस्तो बाँकेमा सिक्टा। कैलालीमा रानीजमरा कुलेरिया। यी त राष्ट्रिय गौरवकै आयोजना पनि हुन्। तर काम कति सुस्त र भ्रष्ट छ भने सिक्टामा अर्बाैं रुपैयाँ बगिसक्यो तर पानी बग्न सकेको छैन। भेरी बबई डाइभर्सनको काम पनि भनेको बेला सकिने छेकछन्द छैन। काम त आखिर यही राज्यकै हो। तर एउटा मन्त्रालयबाट भइरहेको काममा अर्काे मन्त्रालयबाट हुनुपर्ने प्रक्रिया पूरा हुन समय लागेको लाग्यै छ। रुख कटानसम्बन्धी प्रस्ताव वनमा अडकएको छ। यस्तो त नेपालमा जताततै हुन्छ। भेरी बबईमा पनि भएकै छ।
जानकारहरू भन्छन्, पानी बग्ने सतहभन्दा खेतीयोग्य जमिन माथि हुँदा सिँचाइ पुर्याउन कठिन भइरहेको छ। यो त साह्रै हाँसो उठ्दो र दुनियाँका अगाडि लालमर्दाे तर्क हो। किनभने पानी त आखिर तलै बग्छ। जमिनमाथि नै हुन्छ। तलको पानी माथि जमिनका ल्याउन कुनै ठूलो आविष्कारको जरुरी छैन। नेपालले नयाँ वैज्ञानिक आविष्कार गर्नु पर्दैन। वैज्ञानिकहरूले उहिल्यै पानी तान्ने यन्त्र बनाइसकेका छन्। नभए अलि माथिल्लो भागमा बाँध बाँधेर पानीलाई नहरकुलोबाट खेततिर सोझ्याउन सकिन्छ। यो अति सामान्य काम हो। यस्तो काम किन भएको छैन भने हाम्रो सरकारको ध्यान कृषिमा छैन। कृषिमा आत्मनिर्भर हुने भन्ने नारा त सरकारमा जानेहरू लगाइरहन्छन्। तर कृषि उत्पादन बढाउन सिँचाइ चाहिन्छ, मल चाहिन्छ भनेर त्यतापट्टि गर्नुपर्ने काम गर्दैनन्।
सिँचाइ त रेल कुदाउने, सुरुङमार्ग बनाउनेजस्तो महत्त्वाकांक्षी योजना वा सपना पनि होइन। यो त केवल बाँध बाँध्ने र नहरबाट खेतबारीमा पानी पुर्याउने वा पम्पले तानेर तलको पानी माथि लैजाने विधिमात्रै हो। यस्तो विधिका लागि न दक्ष जनशक्तिकै अभाव हुन्छ, न कुनै प्रविधिकै। तर अभाव केवल सरकारी इच्छाशक्ति र योजना कार्यान्वयनमा छ। होइन भने ६ हजार खोलानाला भएको मुलुकका किसान सिँचाइ अभावमा पिरोलिनुपर्ने थिएन। किसानले पानीका लागि आकाशको भर पर्नुपर्ने थिएन। पानी परेन भनेर
बाजा बजाउने, भ्यागुताको बिहे गरिदिने जस्तो अन्धविश्वासी परम्पराको पछि लाग्नुपर्ने थिएन। अपार जलस्रोतको धनी मुलुक सिँचाइमा गरिब भएर कृषि उपज आयात गरी गरी बाँच्नु हदैसम्मको लज्जाजनक कुरा हो।