७० नम्बरमै ट्रायल पास

७० नम्बरमै ट्रायल पास

ढल्केवर(धनुषा) : महोत्तरीको बर्दिबासस्थित यातायात व्यवस्था सेवा कार्यालयको ट्रायल सेन्टरमा प्रयोगात्मक परीक्षा भइरहेको बेला सर्लाही हरिवनका सुलभ सिंह डराएका थिए। मोटरसाइकलको ट्रायल परीक्षामा घुमाउरो आठमा एकपल्ट खुट्टा भुईमा टेकिसकेपनि उनलाई कसैले रोकेनन्। ट्राफिकको सिट्टी पनि बजेन। 

उनी अघि बढ्दै गर्दा घुम्तीमा उनको मोटरसाइकलमा साइड लाइट पनि बलेन। उनले उकालो ‌ओरालो राम्रै तरिकाले कटाए। उबडखाबड बाटो पनि मज्जाले कटाए। तर सुलभको मनमा डर भने त्यतिकै थियो। कारण उनले घुमाउरो आठमा खुट्टा भुईंमा टेकिसकेका थिए।

तर, परीक्षापछि मोटरसाइकलबाट निराश हुँदै ओर्लिएका सुलभलाई यातायातका कर्मचारीहरूले 'ल बधाई छ, तपाईं पास हुनुभयो' भनेपछि उनको खुशीको सीमै  रहेन। उनले ८० अंक ल्याएर पास भएको परीक्षामा खटिएका कर्मचारीले बताए। 'धन्न ७० प्रतिशतवाला सिस्टम लागू भएछ र पास भएँ। नत्र यसपटक कुनै चान्स थिएन,' खशीले गद्गद् हुँदै सुलभले अन्नपूर्णसँग भने।

महोत्तरीको बर्दिबासस्थित यातायात व्यवस्था सेवा कार्यालयले भदौं १ गतेदेखि सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लागू गरेको छ। साउन ३० गते मधेस प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले बर्दिबास यातायात कार्यालयलाई भदौं ७ गतेसम्म उक्त निर्देशिका लागू गर्न परिपत्र गरेको थियो। 

मधेस प्रदेशको पहिलो परीक्षणका रूपमा सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ कार्यान्वयनमा ल्याएको यातायात व्यवस्था सेवा कार्यालय बर्दिबास महोत्तरीका प्रमुख पोषण थापाले बताए। अब ट्रायल परीक्षामा ७० नम्बर ल्याए पास हुने उनले बताए। 

'पहिला सामान्य सामान्य त्रुटी हुँदा पनि फेल गरिन्थ्यो। अब केही अवसर मिलेको छ। त्यस्तो सानातिना कुराबाट सेवाग्राही मुक्ति पाएका छन्। अहिले सबै सेवाग्राही सन्तुष्ट छन्,' प्रमुख थापाले भने।

सर्लाहीको हरिवन नगरपालिकाकी स्वेक्षा निरौलाले ७० प्रतिशत ल्याएर उत्तीर्ण हुने प्रावधानले परिक्षार्थीमा कन्फिडेन्ट लेभल बढेको बताइन्। 'यो व्यवस्थाले सेवाग्राहीमा हौसला बढेको छ। यसले गर्दा अब बढी संख्यामा ट्रायल पास हुन्छ कि जस्तो लागेको छ,' उनले भनिन्।

निर्देशिका कार्यान्वयनमा आएपछि ट्रायल परीक्षा विगतभन्दा लचिलो भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिबास महोत्तरीका प्रहरी निरीक्षक उदय सिंह सिद्धपतिले बताए। यो व्यवस्थाले सेवाग्राहीलाई केही सहज हुने उनको बुझाई छ।

भौतिक पूर्वाधार विकास मन्त्रालय मधेस प्रदेशका सचिव दिपक कुमार दासले भदौ महिना भित्रै प्रदेशका सबै यातायात कार्यालयमा कार्यविधि लागू गरिने बताए। मधेस प्रदेशमा ६ वटा यातायात कार्यालय छ।

जसमध्ये लाहान, जनकपुर, बर्दिबास र वीरगञ्ज गरी ४ वटा कार्यालयबाट लाइसेन्स जारी भइरहेको छ। बर्दिबासलाई ७ गतेसम्ममा उक्त कार्यविधि लागू गर्न परिपत्र गरेका थियौं,' सचिव दासले भने 'तर भदौ १ गतेबाट नै सुरु गर्दिनु भो। कार्यालय प्रमुखलाई विशेष धन्यवाद।'

कार्यविधिमा यस्तो छ नियम

निर्देशिका अनुसार मोटरसाइकल तथा स्कुटर चालकले प्रयोगात्मक परीक्षाका लागि ७ चरण पास गर्नुपर्नेछ। जसमा घुमाउरो आठ परीक्षण, साँघुरो फलेक, घुम्ती परीक्षण, ट्राफिक लाइट परीक्षण, स्पिड ब्रेकर परीक्षण, उकालो परीक्षण र व्यवहारगत पक्षको समग्र परीक्षण गर्नुपर्नेछ।
 
प्रयोगात्मक परीक्षणको हरेक चरणको अंकभार फरक-फरक निर्धारण गरिएको छ। घुमाउरो आठको अंकभार २० अंक छ। जसमा घुमाउरो आठको एकपटकसम्म रेखा छोएमा र एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा १० अंक घट्नेछ तर परीक्षार्थी फेल नहुने निर्देशिकामा उल्लेख छ।
 
घुमाउरो आठमा एक पटकभन्दा बढी अंकित रेखा छोएमा, टायर रेखाभन्दा बाहिर गएमा, एक पटकभन्दा बढी खुट्टाले भुइँ टेकेमा, ठीक दिशाबाट वा ठीक तरिकाबाट आठ आकार नबनाएमा, सवारीको स्टार्ट बन्द भएमा अनुत्तीर्ण (फेल) भएको घोषणा गरिनेछ।
 
साँघुरो फलेकको अंकभार १० रहेको छ। यसमा १० अंक नै अनिवार्य ल्याउनुपर्नेछ। यहाँ खुट्टाले भुइँमा टेकेमा, फलेकको लम्बाइ पार गर्नु अगावै सवारी फलेकबाट बाहिर निस्केमा स्वतः फेल हुनेछ। त्यस्तै यु-टर्नको अंकभार १० रहेको छ। टर्निङमा इन्डिकेटर लाइट नबालेमा १० अंक नै घट्नेछ। यु-टर्नमा अंकित रेखा छोएमा पनि फेल हुनेछ।
 
ट्राफिक संकेत (लाइट)को अंकभार १५ रहेको छ। ट्राफिक लाइटको पालना नगरे १५ नम्बर नै काटिनेछ। कार्यविधि अनुसार बम्प्स अर्थात स्पिड ब्रेकरको अंकभार १५ रहेको छ। स्पिड ब्रेकरमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एकपटक सवारी स्टार्ट बन्द भएमा ५ नम्बर घट्नेछ। स्पिड ब्रेकरमा एक पटकभन्दा बढी भुइँमा टेकेमा वा सवारी स्टार्ट बन्द भएमा फेल हुनेछ।
 
त्यस्तै, र्‍याम्प अर्थात उकालोको अंकभार २० रहेको छ। उकालोमा कुनै गल्ती भए फेल हुनेछ। उकालोमा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा फेल हुनेछ।
 
रोकिएको अवस्थाबाट सवारी अगाडि बढाउँदा सवारीको पछाडिको टायर ६ इन्चभन्दा बढी पछि सरेमा, उकालो पार गरी ओरालोबाट झर्ने क्रममा तोकिएको रेखा नाघी सवारी रोकेमा वा सवारी नरोकी अगाडि बढेमा र सवारीको स्टार्ट बन्द भएमा फेल हुनेछ।
 
परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा ३ अंक घट्नेछ। हेलमेटका लक नलगाई सवारी चलाएमा ४ अंक र अस्वाभाविक गतिमा वा असंयमित रुपमा सवारी चलाएमा ३ अंक घट्नेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.