कर्णालीमा स्वास्थ्य पूर्वाधारकै अभाव
सुर्खेत : कर्णालीमा कोरोना संक्रमणको दर बढ्दो छ।प्र्र्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कोरोना संक्रणको चौथो लहर सुरु भएको आँकलन गरेको छ।तर, संक्रमणको दर बढ्दै जाँदा कर्णालीमा स्वास्थ्य पूर्वाधार र दक्ष जनशक्तिको अभाव देखिएको छ।कोरोनाविरुद्ध लड्न आवश्यक भौतिक संरचना, स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मीको अभाव छ ।
यसअघि व्यवस्थापन भएका कतिपय स्वास्थ्य संरचनाहरू हाल बन्द अवस्थामा छन्।दक्ष जनशक्तिको अभावकै कारण जिल्लामा रहेका पीसीआर प्रयोगशाला पनि बन्द भएका छन्।संक्रमितको उपचारका लागि अति आवश्यक मानिने भेन्टिलेटर र आईसीयू जनशक्ति अभावकै कारण सञ्चालन गर्न सक्ने अवस्था छैन।कोरोना फैलिएमा कर्णालीमा स्वास्थ्य पूर्वाधार र जनशक्तिको अभावकै कारण समस्या हुने स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
संक्रमितको संख्या बढ्न थालेकाले कर्णालीमा कोरोनाको चौथो लहरको संकेत गरेको स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रवीन खड्काले बताए।‘संक्रमण दरले त जोखिमकै संकेत गर्दछ’, उनले भने, ‘परीक्षणको रिपोर्टले पनि त्यही पुष्टि गर्छ ।’ संक्रमणको जोखिम बढ्दै जाँदा कर्णालीमा अझै पूर्वाधार र जनशक्ति अभावकै पिरलो छ।प्रदेशमा हाल जम्मा ५ जना मात्र एनएसथेसियोलोजिस्ट (बेहोस बनाउने चिकित्सक) छन्।यी चिकित्सकहरू कोरोना संक्रमितको उपचारका लागि अति आवश्यक मानिन्छन् ।
त्यस्तै, आईसीयू, भेन्टिलेटर र एचडीयू सञ्चालनका लागि पनि जनशक्तिको अभाव छ।चिकित्सकको अभावमा अन्य स्वास्थ्यकर्मीलाई तालिम दिएर काम चलाउनुपर्ने बाध्यता आएको निर्देशनालयले जनाएको छ।पर्याप्त जनशक्ति अभावकै कारण यसअघि कोरोना प्रतिकार्यका लागि तयार पारिएका संरचनाहरू हाल बन्द छन्।रुकुमपश्चिमको चौरजहारीमा रहेको पीसीआर प्रयोगशाला र दैलेखको पीसीआर प्रयोगशाला जनशक्ति अभावकै कारण बन्द छन्।दैलेख, चौरजहारी, जुम्ला र सुर्खेतमा गरी जम्मा चारवटा पीसीआर प्रयोगशाला छन्।हाल सुर्खेतको प्रयोगशाला मात्रै सञ्चालनमा छ।यस्तै, डोल्पामा अक्सिजन प्लान्ट निर्माणमा ढिलाइ भएको छ ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७७÷७८ मै कर्णालीका सबै जिल्लामा अक्सिजन प्लान्ट सञ्चालन गर्ने योजना बनाएको थियो।तर, डोल्पामा हालसम्म अक्सिजन प्लान्ट स्थापना हुन नसकेको हो।हाल प्रदेशभर ६८ वटा आईसीयू, २ सय बेड क्षमताका ११ वटा एचडीयू र ३२ बेड भेन्टिलेटर तयारी छन्।तर, तिनको सञ्चालन गर्ने दक्ष जनशक्तिको अभाव छ।संक्रमणको जोखिम बढे पनि कोरोनाविरुद्धको खोप लगाउनेको दर भने घट्दै गएको छ।निर्देशक खड्का भन्छन्, ‘अहिले स्वास्थ्य संस्थाहरूमा पर्याप्त खोप छ।तर, खोप लगाउन आउनेको संख्या
घट्दो क्रममा छ ।’ खोप लगाउनेको संख्या घटेकै कारण हाल कर्णालीमा हाल ३८ हजार डोज कोरोनाविरुद्धको खोप थन्किएको छ।परीक्षण गर्ने र खोप लगाउनेको संख्या घटेकाले पनि संक्रमणको जोखिम बढेको निर्देशनालयको भनाइ छ।