कालिकोटको राचुलीमा विशेषज्ञ सेवासहितको १५ शय्या अस्पताल

कालिकोटको राचुलीमा विशेषज्ञ सेवासहितको १५ शय्या अस्पताल

कालिकोट: जिल्लाको तिलागुफा नगरपालिका-४ राचुलीमा विशेषज्ञ सेवासहितको १५ शय्या अस्पताल सञ्चालनमा आएको छ।

तिलागुफा नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा तिलागुफा नगर अस्पताललाई विशेषज्ञ सेवा सहितको १५ शय्या अस्पतालका रूपमा विकास गरिएको हो। 
  

२०७८ सालमा नगर अस्पताल बनाउने भनेर स्वास्थ्य चौकी राचुलीलाई अस्पतालको रूपमा नामाकरण मात्र गरिएको थियो। नगरपालिका उपप्रमूख महेन्द्रबहादुर शाहीले भने, 'यहाँ न प्रविधि, न डाक्टर, न अन्य जनशक्ति नै थियो। तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नगरपालिका बीच सहकार्य सम्झौता गरेर केही आवश्यक प्रविधि सहित एक जना एमबिबिएस डाक्टर नियमित रूपमा नगर अस्पतालमा प्रतिष्ठानले खटाएर सहयोग गर्‍यो। अन्य कर्मचारी व्यवस्थापन हामीले गरेका छौँ। अब यहाँका नागरिकले ढुक्कसँग गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने भए।' 

यसले नगरपालिकाको स्वास्थ्य सेवा विस्तार र गुणस्तर कायम हुन सहयोग पुग्नेछ। यो अनगर अस्पतालमा स्त्री रोग, बाल रोग, नसा तथा हाडजोर्नी, नाक, कान, घाँटी, दन्त रोग, प्रसुती सेवासहितका विशेषज्ञ सेवाहरू पाइनेछ। 
 
'गाउँका नागरिकहरूलाई सामान्य स्वास्थ्य सेवा लिन पनि कम्तिमा तीन दिन लगाएर जिल्ला अस्पताल जानुपर्थ्यो, स्थानीय युवा नरेश शाहीले भने, अब गाउँमै ढुक्कका साथ उपचार सेवा पाउने भए।' 

नगरपालिकाले गाउँमै विशेषज्ञ सेवासहितको अस्पताल सञ्चालन गरिदिएपछि यहाँका नागरिकहरूलाई ठूलो राहत भएको छ। 

नगरबाट ११ वटै वडाहरूमा सामुदायिक स्वास्थ्य इकाई पनि सञ्चालन गरिएको छ। ती इकाईहरूलाई पनि व्यवस्थित रूपमा र सुविधा सम्पन्न बनाउँदा थप सहज हुने शाहीले बताए। 
  
शनिरबार एक कार्यक्रमका बीच अस्पतालमा विशेषज्ञ सेवाहरूको सुरुवात र नागरिकहरूलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरियो। जहाँ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर मंगल रावल, रजिष्टार नृपेन्द्र महत, डाक्टर टंक आचार्य, डाक्टर पुजन रोकाया, डा. अप्सरा हमाल लगायतका झण्डै एक दर्जन विशेषज्ञ डाक्टरहरू राचुलीमा पुगेर सेवा दिए। 

तिलागुफा नगरपालिकाले सुरुवात गरेको नगर अस्पतालमा विशेषज्ञ सेवा सुरुवात गर्न आएका प्रतिष्ठानका उपकुलपति डाक्टर रावलले नै निःशुल्क स्वास्थ्य शिविरमा सहभागी भएर बिरामी जाँच्न थाले। त्यहाँ बिरामीको घुइँचो नै लाग्यो। 
 
गाउँमा डाक्टर देख्न नपाएका तिलागुफाका नागरिकहरूका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डाक्टर रावल सहितका झण्डै एक दर्जन विशेषज्ञ डाक्टरहरू देख्दा यहाँका नागरिक हर्षित थिए। त्यसैमा पनि डाक्टर रावल स्टलमा बसेर बिरामी जाँच्न थाल्दा सबैको नजर त्यतै पर्‍यो। 

बिरामीहरूको रोजाइ पनि त्यतै भयो। स्टलमा बिरामी जाँच्दै डाक्टर रावलले भने, 'शनिबारको दिन तिलागुफाको नगर अस्पतालमा विशेषज्ञ सेवाको सुरुवातका साथै शिविरका लागि जनशक्ति लिएर यहाँ आएको हो। बिरामीहरूको धेरै घुइँचो लाग्यो। डाक्टरहरूलाई बिरामी जाँच्न धौधौ हुनेभयो। उनले भने, म पनि स्वास्थ्यकर्मी नै हो। साथीहरूलाई सहज होला भनेर मैले पनि स्टलमा बसेर बिरामी जाँचे।'
 
शनिबार स्वास्थ्यसँग उपमेयर कार्यक्रममार्फत सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ८७ जना बिरामीहरूले सेवा लिए। जसमा बालरोगका १३, स्त्रीरोगका ५२, नसा तथा हाड जोर्नीका ५७, नाक, कान, घाँटीका ४८, आँखाका ४७, दंतरोगका १६, जनरल १ सय ५४ जना बिरामीहरूले सेवा पाए। 

शिविरमा आएका तिलागुफा नगरपालिका-४ का ७७ बर्षिया जेष्ठ नागरिक दत्तबहादुर शाहीले आफ्नो जीवनकालमा पहिलो पटक गाउँमै आफुले डाक्टरसँग उपचार सेवा लिएको बताए। उनले भने, मेरो नसा सम्बन्धि समस्या थियो। डाक्टर मंगल रावलसँग जँचाएर औषधि पनि निःशुल्क पाएँ। गाउँमा स्वस्थ्यकर्मी पनि नियमित हुँदैन थिए। आज त डाक्टर देख्न पायौँ।' 
  
तिलागुफा नगरपालिका प्रमूख शंकरप्रसाद उपाध्यायले आफूहरू निर्वाचित भएको दुई महिनाभित्र उल्लेख्य काम भएको बताए। उनले भने, 'विगतमा नगर अस्पताल नाममात्रको थियो। अब १५ शय्याको अस्पताल भयो। २४ सै घण्टा विशेषज्ञ डाक्टरबाट नागरिकहरूले सेवा पाउने भए।'


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.