प्रदीप हिँडेको पथ

प्रदीप हिँडेको पथ

समकालीन राजनीतिमा कोही त्यस्तो थियो, जसलाई पदको आशक्ति कहिल्यै भएन। मन्त्री बन्नु पर्ला भनेर तर्सिरह्यो। रुचि साहित्य र अध्यात्ममा तर कर्म राजनीति पनि। राजनीतिमा वैचारिक तरंग सिर्जना गर्नु र मार्गनिर्देश गर्नुको कर्मबाहेक सनातनी राजनीतिमा मोह नभएका पात्र थिए प्रदीप गिरि। जो कहिल्यै मन्त्री भएनन्, पार्टीको नेतृत्व त के पदाधिकारीभित्र पर्ने इच्छा देखाएनन्। त्यस्ता विरलाकोटी राजनीतिक व्यक्ति गिरिको भौतिक शरीरले शनिबार बिदा लिँदा नेपालीमात्रै नभई दक्षिण एसियाली राजनीतिक वृत्तमा ठूलो रिक्तता पैदा भएको छ। राजनीतिमा पनि समाजवादी विचारधारामा गिरिको पक्षधरतामात्रै थिएन, त्यसमाथि उनी विशद चिन्तन गर्थे। नेपाली समाजका दुर्भेद्य रहस्यका गाँठा फुकाउँदै मार्ग निर्देश गर्थे। 

माक्र्सवादका धुरन्धर विद्वान् पार्टीगत हिसाबमा कम्युनिस्ट होइन कांग्रेस थिए, तर पार्टीभन्दा माथि उठेर सबैका प्रिय र सम्मानित व्यक्तित्व थिए। उनलाई नेपाली कांग्रेसका नेता वा हालको प्रतिनिधिसभाका सांसदको परिचयमा सीमित गर्नु उनको विराट व्यक्तित्वलाई खुम्च्याउनु हो। कुनै पद वा जिम्मेवारीले भन्दा निष्ठा, इमान, सिद्धान्त, दार्शनिकता र व्यवहारले अग्लिएका व्यक्तित्व हुन् गिरि। २००४ सालमा सिराहाको बस्तीपुरमा जन्मिएका प्रदीप खासमा मित्रलाल र पुण्यप्रभाका सन्तानमात्रै नभई मुलुकको सच्चा सपूत भएर जीवन बाँचे। जति बाँचे जनताका मनमनमा आदर्श भएर बाँचे। त्यसैले उनको भौतिक अनुपस्थितिले उनको पार्टी र राजनीतिवृत्तमात्रै नभई अराजनीतिक पुस्ता पनि स्तब्ध भएको छ।

राजनीति र त्यसमा पनि समाजवादी दृष्टि, अर्थ राजनीति, इतिहास, दर्शन, धर्मसंस्कृति, अध्यात्म वा साहित्यमाथि गिरि जति पनि प्रवचन दिन सक्थे। उनको विशद ज्ञानको चुम्बकीय वाककलाले जोकोहीलाई कायल पाथ्र्याे। बोलीमा एक किसिमको जादुयी क्षमताका धनी थिए उनी। अध्ययन, अध्ययन अनि अध्ययन सबैभन्दा धेरै उनको रुचि थियो। खासमा उनी माक्र्सवादका प्रखर ज्ञाता पनि थिए। तर, उनी कांग्रेसमा रहे। घरबाट विज्ञान पढ्न काठमाडौं पठाइएका उनले पुस्तकालयहरूमै वर्ष दिन बिताइदिएका थिए। त्यसो त बस्तीपुरबाट एसएलसी दिनुअघि नै त्यहाँको पुस्तकालयका हिन्दी पुस्तक पढेर अध्ययनमा रस बसालिसकेका थिए। आफ्ना ज्ञानगुनलाई पनि उनले दर्जन पुस्तकमा उतारेर नेपाली समाजलाई गुन लगाउन पनि भ्याएका थिए। प्रदीप गिरिले बाँचेको र हिँडेको राजनीतिको बाटोलाई आजको 

राजनीतिले पनि कतै पछ्याएको भेटिन्न।

चार पटक सांसद भइसकेको व्यक्तिलाई पनि मन्त्री बन्न वा सार्वजनिक लाभको पदको कुनै चाहना नहुनु वास्तवमै वितरागी प्रवृत्ति हो। हुन पनि उनको जीवनशैली पनि अध्यात्मबाट प्रभावित भएरै होला, पूरापूर सादगी थियो। बस्ने वा खानेको पीरचिन्ताभन्दा अध्ययनको भोक ज्यादा रह्यो। खद्दरको कुर्था र सुरुवाललाई पहिरन बनाए। एक राजनीतिकर्मीका हैसियतले, एक विद्वत् नागरिकका हैसियतले वा प्राज्ञिक व्यक्तित्वका हैसियतले प्रदीप गिरिले सधैं मधेस, कर्णाली, दलित, महिला र जनजातिका मुद्दालाई मुखरित गरिरहे। आफ्नो पार्टी सरकारमा छ कि विपक्षीमा भन्ने ख्याल उनी सांसद छँदा कहिल्यै राखेनन्। पार्टी वा सरकारको नाफाघाटाको बही खाताको जिम्मा नलिइकनै संसद्मा वा सार्वजनिक मञ्चहरूमा अन्तरआत्माको आवाजमात्रै बोले।

यी र यस्तै कारणले पनि उनी पार्टीभन्दा माथिका राजनीतिकर्मी र सधैं समाजवादी राजनीतिक आस्थाका कट्टर पक्षपाती रहे। पद र प्रतिष्ठामात्रै नभई धनदौलतको लालचबाट एक किसिमको मोक्षप्राप्ति उनको खास विशेषता रह्यो। सिराहा बस्तीपुरको पुख्र्यौली जमिनसमेत आश्रमलाई दान गरेर त्यसलाई व्यवहारै पुष्टि गरे। आजको राजनीतिमा बौद्धिक र सिर्जनशील अनि व्यवहारमै निष्ठावान् राजनीतिकर्मी वा सार्वजनिक बौद्धिक वर्ग (पब्लिक इन्टेलेक्चुअल) को जुन खडेरी छ, प्रदीप गिरि दुर्लभ एउटा दियो थिए। त्यो निभ्यो। तर, उनले हिँडेको बाटो अरूका लागि अनुकरणीय छ। अनुसरणीय छ। राजनीतिलाई सङ्लो बनाउने, जनतामा केन्द्रित गराउने हो भने प्रदीप गिरि हिँडेको बाटो नै सच्चा बाटो हो। प्रदीपलाई उनको त्यही पथले अमर बनाउने छ। हाम्रो राजनीति र हाम्रो समाज त्यही बाटो हिँड्यो भने नै गिरिप्रतिको सच्चा सम्मान र श्रद्धाञ्जली हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.